गोरखा — गण्डकी गाउँपालिकामा नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी(जसपा)बीच तालमेल भएको छ ।
आसन्न स्थानीय तह निर्वाचनमा अध्यक्षमा जसपाले माओवादी केन्द्रका उम्मेदवार दिपक तिमल्सिनालाई सघाउने र उपाध्यक्षमा माओवादी केन्द्रले जसपाका उम्मेदवार भीम श्रेष्ठलाई सघाउने गरी तालमेल भएको हो । लिखित सहमति गरेरै तालमेल गरिएको जसपाको तर्फबाट उपाध्यक्षका उम्मेदवार भीम श्रेष्ठले बताए ।
तालमेल भएपछि जसपाकोतर्फबाट अध्यक्षमा उम्मेदावरी दिएकी सनमायाँ आले र माओवादी केन्द्रको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी पार्वती गुरुङले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । ‘अध्यक्ष र उपाध्यक्षमा घोषित रुपमै तालमेल गर्यौँ, वडास्तरमा पनि तालमेलको तयारीका लागि छलफल चलिरहेको छ,’ श्रेष्ठले भने ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन भइसकेकाले आन्तरिक रुपमा वडा तहमा तालमेलको लागि छलफल चलिरहेको उनले बताए । अब चुनावी प्रचार अभियान पनि संयुक्त रुपमा शनिबारबाट सुरु भएको नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य अंकुर तिमल्सिनाले बताए ।
