व्यवस्थापन गर्न प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन, भीडले बढायो झन् जोखिम
लमजुङ — कोरोना भाइरसविरुद्धको खोप लगाउने क्रममा भीड व्यवस्थापन गर्न लमजुङमा प्रहरी परिचालन गर्नुपरेको छ । बेंसीसहर–८ स्थित जिल्ला अस्पताल लमजुङको प्रांगणमा मंगलबार भेरोसेल खोप लगाउन ठेलमठेल भएपछि जिल्ला प्रहरी प्रमुख कृष्णबहादुर कार्की आफैं टोलीसहित खटिएका थिए । सशस्त्र प्रहरी इन्स्पेक्टर रामबहादुर खत्रीको कमान्डमा अर्को एक टोली र नगर प्रहरीले पनि त्यसमा सघाएका थिए ।
बेंसीसहरका राजु अर्यालले भने खोप केन्द्र व्यवस्थित नहुँदा खोप लगाउन आउनेबीच नै झगडा परेको र प्रहरीले हस्तक्षेप गरी भीड नियन्त्रणमा लिनुपरेको बताए । ‘मान्छेलाई कोरोनाको डरभन्दा पनि खोप पाउनुपर्छ, त्यो पनि अहिले नै पाउनुपर्छ भन्ने मान्यता देखियो,’ उनले भने ।
अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बिहान १० बजेदेखि खोप दिने समय तोकेकोमा बिहान साढे ७ बजेदेखि नै लाभग्राही लाइनमा उभिएपछि समस्या भएको बताए । ‘बिहानै आउने अनि हामीले खोप पाएनौं भन्दै कराउने,’ उनले भने, ‘खोप लगाएर संक्रमण रोकिएलाभन्दा भीडभाडले झन् जोखिम बढाउने चिन्ता थपियो ।’
उनका अनुसार मध्याह्नमा करिब ४ सयको संख्यामा केन्द्रमा लाभग्राहीको उपस्थिति थियो । बेंसीसहर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोजसिंह बोहराले व्यवस्थापनमा केही कमजोरी हुँदा भीडभाड बढेको स्विकारे । ‘हामीले म्यानेज गरेका थियौं । भीडभाड हुन्छ भनेर टोकन प्रणाली पनि लागू गरेका थियौं । तर सोचेभन्दा बढी भीड भएपछि टोकन प्रणाली पनि कता पुग्यो–पुग्यो,’ उनले भने ।
स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले असार ३०–३१ पहिलो मात्रा लगाएका ५५ वर्षमाथि, सवारी चालक–सहचालक, शिक्षकलाई दोस्रो मात्रा खोप दिइएको हो । खोप लगाउन २ दिनको समय तोकिए पनि एकै दिन र सबैजसो एकै समयमा आउँदा व्यवस्थापन अस्तव्यस्त बनेको उनको भनाइ छ । ‘सबैलाई सुरुमै चाहिएको छ । त्यो पनि खोप केन्द्रमा पुग्नेबित्तिकै चाहिएको छ । त्यसकारण पनि भीड भएको हो,’ उनले भने । जिल्लाभर भेरोसेल पहिलो मात्रा लगाउनेको संख्या १४ हजार रहेको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले कोरोनाको खोप लगाउनेबीच झगडा हुन थालेपछि भीड नियन्त्रण गर्न प्रहरी परिचालन गर्नुपरेको बताए । ‘भौतिक दूरी कायम गर्न आग्रह गरेका छौं । भीडभाड नगर्न र आफ्नो पालोमा खोप लगाउन भनेका छौं,’ उनले भने, ‘हाम्रो कुरालाई अटेरी गर्दा नागरिकमा कोरोना अझ फैलिन सक्ने देखिन्छ ।’ भीड नियन्त्रणमा लिएर सबैलाई लाइनमा लगाएपछि करिब डेढ घण्टामै उपस्थित सबैले खोप लगाएका उनले बताए । ‘म आफैं गएर भीडलाई सम्झाएँ । सकेसम्म कोरोनाबाट बच्न र बचाउन त लाग्नुपर्यो नि,’ उनले भने ।
