दिनमै ३० देखि सय जनाको हाराहारीमा संक्रमित थपिँदै
तनहुँ — कोरोना भाइरसका संक्रमण घटेसँगै जिल्लामा असार पहिलो सातादेखि निषेधाज्ञा खुकुलो बनाइयो । तर समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा दैनिक ३० देखि सय जनाको हराहारीमा संक्रमित थपिन थालेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा अहिले सार्वजनिक यातायात सञ्चालनमा ल्याइएको छ भने समयसीमा तोकेर लगभग सबै क्षेत्र खुला गरिएको छ । निषेधाज्ञा खुकुलो बनेसँगै सर्वसाधारणको दैनिकी सहज बन्दै गएको त छ तर स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा लापरबाही गरिँदा संक्रमित थपिँदै गएको स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए । ‘जनस्तरबाट बढी नै लापरबाही भएको देखिन्छ,’ अधिकारीले भने, ‘मास्क लगाउन, स्वास्थ्य सुरक्षाका अन्य मापदण्ड तथा सरकारद्वारा जारी निर्देशन पालना भएको छैन । पछिल्लो समय कोरोनालाई सामान्य तरिकाले पनि लिइँदा संक्रमितको संख्या बढ्दै गएको छ ।’
जिल्लामा शनिबार ९६ जना, आइतबार १७ जना र सोमबार ४५ जनामा संक्रमण पुष्टि भएको छ । सक्रिय संक्रमितको संख्या ५ सय नाघिसकेको छ । निको हुने दरभन्दा संक्रमित हुनेको दर बढ्दै जाँदा पुनः कडा निषेधाज्ञा लगाउनुपर्ने अवस्था आउने हो कि भन्ने देखिएको उनले बताए । जिल्लाको व्यास, शुक्लागण्डकी, भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका कोरोना संक्रमणको उच्च जोखिममा छन् । उनले भने, ‘होम आइसोलेसनमा बसेका अधिकांश संक्रमित परिवार र समुदायमा घुलमिल भइदिँदा समाजका अन्य व्यक्तिमा संक्रमण फैलिने जोखिम बढेको छ ।’
नागरिकस्तरबाट भएको लापरबाहीका कारण संक्रमण फैलिने खतरा बढेको दमौली अस्पतालका मेसु डा. सुनील पौड्यालले बताए । ‘निषेधाज्ञा खुकुलो गरिएसँगै जनस्तरबाट बेवास्ता गरिँदा समुदायमा फैलन मद्दत पुगिरहेको छ,’ उनले भने, ‘यो अवस्थाले सजिलै कोरोनाको तेस्रो लहर फैलन सक्ने जोखिम बढेको छ ।’ यही अनुपातमा संक्रमण बढ्दै गए आइसोलेसन तथा कोभिड अस्पतालमा संक्रमितका बिरामीलाई थाम्न नसक्ने स्थिति हुने डा. पौड्यालले बताए । उनका अनुसार अहिले मौसमी भाइरल ज्वरोका बिरामी पनि बढिरहेका र यसले पनि कोरोना संक्रमण फैलन मद्दत गरिरहेको छ ।
वैशाख १ यता जिल्लामा ५ हजार ९ सय २० नमुनाको पीसीआर र ५ हजार ७ सय ३६ नुमनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ४ सय ८१ नमुनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ । संक्रमितमध्ये ५ सय ६ जना निको हुन बाँकी छन् । उनीहरूमध्ये १३ जना आइसोलेसनमा, ३ जना आईसीयूमा, ६ जना एचडीयूमा उपचाररत छन् भने ४ सय ८५ जना होम आइसोलेसनमा छन् । कोरोनाका कारण हालसम्म जिल्लामा १ सय २० जनाको मृत्यु भएको छ ।
