जमघट र मेलापातले संक्रमण बढ्यो

सेवाग्राहीको चाप बढ्दा सरकारी कर्मचारी र बैंकरमा समेत संक्रमण

श्रावण ६, २०७८

हरिराम उप्रेती

गोरखा — गत शनिबार सहिद लखन गाउँपालिका–८ छापथोक हटिया गाउँका १८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजिटिभ आयो । असार ३१ मा पनि उक्त गाउँका २५ जनाको एन्टिजेन परीक्षणमा २३ को रिपोर्ट पोजिटिभ आएको थियो ।

शनिबार ५५ जनाको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । छापथोकमा ४० जनाभन्दा बढीमा रुघाखोकीजस्ता लक्षण देखिएको  गाउँ स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठले बताए । ‘केही दिनअघि २–४ जनालाई रुघाखोकी देखिएको रहेछ, परीक्षण भएको थिएन,’ उनले भने, ‘असार १५ यता गाउँमा मेलापातको चाप छ । समूहमा काम गर्दा एकबाट अर्कोमा सर्दै गयो । फेरि चाडपर्व सुरु भयो, जमघट र पाहुना लाग्ने क्रमसँगै जोखिम बढेको हो ।’ 

कोरोना संक्रमणको दर घटेको भन्दै जिल्लाभर निषेधाज्ञा खुकुलो बनाइएको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था पनि खुलेका छन् । भीडभाड हुने ठाउँमा मास्कको प्रयोग भए पनि भौतिक दूरीलगायत अन्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएको छैन । आर्थिक वर्षको अन्त्य भएकाले भीडभाड बढ्दा मध्यअसारयता सरकारी तथा बैंकका कर्मचारीसमेत संक्रमित बनेका छन् । पछिल्लो पटक धार्चे गाउँपालिकाका ७ कर्मचारीमा संक्रमण पाइएको छ । अजिरकोटको भच्चेकमा ८ जना बैंकर पनि संक्रमित भएका छन् । ‘अन्तिम भुक्तानी लिने बेला बैंक बन्द गरौं भन्न पनि मिलेन,’ अजिरकोटका स्वास्थ्य शाखा प्रमुख सुरेश दवाडीले भने, ‘त्यो बेला चाप बैंकमा भइदियो, फेरि निषेधाज्ञा खुकुलो भएपछि गाडी चल्न थाले, आवतजावत बढेपछि जोखिम त्यसै बढ्यो ।’

स्वास्थ्य कार्यालयका अनुसार केही दिनयता परीक्षण गरिएकामध्ये झन्डै २८ प्रतिशतमा संक्रमण पाइएको छ । जिल्लामा हाल सक्रिय संक्रमित ३ सय ४५ छन् । आरुघाट–६ कल्लेरीको एउटै गाउँका २९ जनाको पीसीआर परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले कोरोना फैलावटका लागि मेलापात पनि सहायक कारण बनेको बताए । ज्वरो, रुघाखोकी जस्ता लक्षण देखिएकाहरूलाई मेलापात नजान आग्रह गरिए पनि रोपाइँको सिजन भएकाले सम्भव नदेखिएको उनको भनाइ छ ।

दुई सातायता गोरखामा निषेधाज्ञा खुकुलो बनाइए पनि दैनिक संक्रमितको सख्या भने पहिले जस्तै रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी नवराज खड्काले बताए । ‘सार्वजनिक यातायातमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ छैन, रोपाइँमा दूरी कायम हुने कुरै भएन,’ उनले भने, ‘गाउँशहर गर्ने क्रम पनि बढेको छ । यसरी जति मुभमेन्ट भयो त्यति जोखिम रहन्छ ।’

कोरोना भाइरस

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully