तनहुँ — कोरोना संक्रमितलाई हेर्ने र गर्ने व्यवहार अझै नकरात्मक हुँदा मिल्दाजुल्दा लक्षण देखिएका पनि परीक्षणको दायरामा आउन सकेका छैनन् । रुघाखोकी, ज्वरो देखिए पनि समयमै कोरोना परीक्षणको दायरामा नआउँदा तीनै व्यक्तिका कारण समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ ।
शुक्लागण्डकी नगरपालिका–८ मा पनि यस्तै समस्या छ । नगरपालिकाले कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएकाको निःशुल्क पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाए पनि सर्वसाधारण परीक्षणको दायरामा आउन नमानेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए ।
‘कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका वडावासी अन्य औषधि सेवन गरेर भित्रभित्रै लुकाउन खोज्दा समाजमा संक्रमणको दर बढ्दै आएको छ,’ उनले भने, ‘पीसीआर परीक्षण गरेर पोजिटिभ आए घरपरिवार र समाजबाट हेपिनुपर्छ भन्ने मानसिकताले यस्तो भएको हो । समाजबाट हेपिनुभन्दा आफैं औषधि सेवन गरेर निको हुन्छु भनी समाजमा संक्रमित लुकेका छन् र उनीहरूले नै अन्य व्यक्तिलाई संक्रमण गरेका छन् ।’
वडाका घरघरमा संक्रमित भेटिएपछि र एकै वडाका ६ जनाको संक्रमणका कारण मृत्यु भएपछि जिल्ला स्वास्थ्य कार्यालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशसहितको टोली बिहीबार त्यहाँ एन्टिजेन परीक्षणका लागि पुगेको थियो । एकै वडाका ६७ जनाको परीक्षण गरिएकामा १८ जनाको रिपोर्ट पोजिटिभ आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । उनले भने, ‘बजार क्षेत्रबाट नजिक रहेको यो वडाका बासिन्दा बिनाकाममा पनि हिंड्डुल गर्ने, बजार आउने र गाउँमा गएर जमघट गर्ने गर्दा यहाँको समुदायमा संक्रमण फैलिएको देखिन्छ ।’
‘लक्षण देखिएका व्यक्ति परीक्षणको दायरामा आई संक्रमित भए उपचार सेवा लिए समुदायमा फैलिने थिएन,’ उनले भने, ‘परीक्षण गर्नै नआउँदा समस्या भएको छ ।’ हाल वडामा ६५ सक्रिय संक्रमित छन् ।
यस्तै जिल्लामा संक्रमणको दर बढेसँगै रेडजोन क्षेत्रका अन्य नागरिक परीक्षणको दायरामा आउन नखोज्दा सम्बन्धित क्षेत्रमै गएर परीक्षण गर्ने तयारी गरेको स्वास्थ्य कार्यालय प्रमुख शंकरबाबु अधिकारीले बताए । ‘कतिपय लक्षणै नदेखिएकामा पनि संक्रमण पुष्टि भएको छ,’ उनले भने, ‘हामीले रेडजोनमा राखेका क्षेत्रमा लक्षण देखिएका र नदेखिएका सबैको एन्टिजेन कीटबाट कोरोना परीक्षण गर्ने तयारी गरेका छौं ।’ कार्यालयले अबको २/३ दिनभित्र घिरिङ र बन्दीपुर गाउँपालिकामा एन्टिजेन परीक्षणको तयारी गरेको छ ।
जिल्लामा ६ सय ७६ जनाको एन्टिजेनबाट कोरोना परीक्षण गरिएको र ३ हजार २ सय ३३ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकामा २ हजार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
