बिरामीलाई प्रोटिनयुक्त खानेकुरादेखि स्वास्थ्य सामग्री सहयोग
सर्लाही — हरिवन नगरपालिका–१ लिची टोलमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका ज्वरोका बिरामी बढेपछि स्थानीय समाजसेवी टमबहादुर घिसिङले नगरपालिकालाई जानकारी गराए । नगरपालिकाले तत्काल ‘र्यापिड रेस्पोन्स टिम’ परिचालन गरायो । टोलका अधिकांश स्थानीय एक सातादेखि ज्वरोले थलिएका थिए । कोभिडको चिन्ताले अस्पताल जान डराइरहेका उनीहरूले अहिले स्वास्थ्यकर्मीको टिमबाट घरमै उपचार पाइरहेका छन् ।
‘यो टोलमा अधिकांश कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामी रहेको थाहा पाएपछि मैले नगरको स्वास्थ्य शाखामा जानकारी गराएँ,’ घिसिङले भने, ‘नगरपालिकाले संक्रमण रोक्न पूर्वतयारीसहित र्यापिड रेस्पोन्स टिम पनि परिचालन गरेको जानकारी पाएको थिएँ, अहिले स्वास्थ्यको टोली आएर निरन्तर जाँच गरिरहेको छ ।’ नगरस्तरीय कोभिड फोकल पर्सन रामबाबु चौधरीका अनुसार सो बस्तीमा १९ पुरुष र १८ महिलाको एन्टिजेन परीक्षण गर्दा ६ पुरुष र ३ महिला गरी ९ जनामा कोरोना पोजिटिभ देखिएको छ । पोजिटिभ देखिएकालाई होम आइसोलेसनमा बस्न आग्रह गरिएको चौधरीले बताए । उनले पोजिटिभ देखिएकाको परिवारका सदस्यलाई कन्ट्याक्ट ट्रेसिङका आधारमा सोमबार स्वाब संकलन गरिने जानकारी दिए ।
टोलका अधिकांश कोभिडको लक्षण जस्तो ज्वरो, रुघाखोकी समस्याले ग्रस्त छन् । तर पनि औषधि पसलको भरमा परिरहेका थिए । गाउँघरमा सामान्य रुघाखोकीमा पनि कोरोना हो कि भन्ने चिन्ता तथा डरले झनै बिरामी परेको अवस्था छ । यस्तो समयमा हरिवन, गोडैता, बरहथवा, हरिपुर्वा नगरपालिकाले स्वास्थ्यकर्मीको टिम बनाएर घरमै पुगेर उपचार गर्न चिकित्सकको टोली खटाएको छ ।
हरिवनका प्रमुख गणेश प्रसार्इंले बिरामीलाई प्रोटिनयुक्त खानेकुरादेखि स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराइरहेको जनाए । पालिकामा खबर आउनासाथ र्यापिड टिम परिचालन हुने गरेको र त्यो टिमले बिरामीलाई औषधि तथा लक्षण भएकाको स्वाब संकलन गर्ने गरेको उनले जानकारी दिए । उनले भने, ‘नागरिकको स्वास्थ्यभन्दा ठूलो केही पनि हैन, त्यही भएर टोली खटाएका हौं । यसले नागरिकलाई धेरै राहत पुग्ने विश्वास लिएका छौं ।’ उनले सिकिस्त भएका बिरामीका लागि आईसीयूसहितको अस्थायी कोभिड अस्पतालमा उपचार भइरहेको बताए ।
यस्तै गोडैता र बरहथवा नगरपालिकामा पनि र्यापिड टिम परिचालन गरिएको छ । गोडैताका प्रमुख देवेन्द्र यादवले बिरामीको घरमै स्वास्थ्यको टोली पुग्दा उनीहरूको मनोबल उच्च हुने गरेको बताए । उनका अनुसार गम्भीर बिरामीलाई नगरमा आईसीयूसहितको सञ्चालित अस्थायी कोभिडमा भर्ना गरी उपचार भइरहेको छ । थप उपचार चाहिएका बिरामीलाई अन्य अस्पतालमा पुर्याउने गरिएको उनले जानकारी दिए । हरिपुर्वा नगरपालिकाका प्रमुख सियाराम रायले पनि बिरामीलाई प्रोटिनयुक्त खानेकुरासहित स्वास्थ्य सामग्री बाँडिरहेका छन् । बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले पनि बिरामी भएकालाई सहयोग गरिरहेका छन् । तर जिल्लाका अन्य पालिकाले भने आइसोलेसन बनाउनदेखि स्वाब संकलनमा खासै ध्यान दिएका छैनन् । ग्रामीण क्षेत्रमा कोरोनासँग मिल्दोजुल्दो लक्षणका बिरामीको मृत्यु भए पनि उनीहरूको कहींकतै लेखाजोखा छैन ।
