काठमाडौँ — कोराना संक्रमणमा सरकारले प्रभावकारी भूमिका निर्वाह नगरेको भन्दै आलोचना भइरहेका बेला पुनः स्वास्थ्यमन्त्री फेरिएका छन् । कोरोना महामारीयता चौथो स्वास्थ्यमन्त्रीको जिम्मेवारी शेरबहादुर तामाङले शुक्रबारदेखि सम्हालेका हुन् ।
चीनको वुहानमा कोरोना संक्रमण उच्च भएका बेला स्वास्थ्य जनसंख्या मन्त्रालयको जिम्मेवारी उपेन्द्र यादवले सम्हालेका थिए । २०७६ मंसिर ४ मा पुनर्गठन भएको मन्त्रिपरिषद्मा उनलाई कानुन मन्त्रालय सरुवा गरेपछि स्वास्थ्यमन्त्रीमा भानुभक्त ढकालले जिम्मेवारी पाए । स्वास्थ्यमा १३ महिना रहेका उनी पुस १० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भए । त्यसपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हृयदेश त्रिपाठीले पाएका थिए । उनले ५ महिना मात्रै स्वास्थ्य मन्त्रालय सम्हाल्न पाए ।
‘कोरोनाको भेरिएन्ट परिवर्तन भएजस्तै महामारीका बेला पनि मन्त्री परिवर्तन भइरहेका छन्,’ मन्त्रालयका एक उच्च तहका कर्मचारीले भने, ‘बल्लबल्ल मन्त्रीहरूले स्वास्थ्य समस्या के हो बुझेका हुन्छन्, त्यही मन्त्रीको कि अर्को मन्त्रालयमा सरुवा हुन्छ कि त पदबाट बाहिरिन्छन् । नयाँ मन्त्रीलाई बुझाउनै तीन महिना लाग्छ ।’ यसरी मन्त्रीहरू छोटो समयमा परिवर्तन हुँदा सिस्टममै असर पर्ने मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेलले बताए । ‘नयाँ मन्त्रीलाई बुझाउँदा बुझाउँदा बल्ल कामको लय समातेका हुन्छन्, त्यतिन्जेलमा अर्का आइपुग्छन्,’ उनले भने, ‘कर्मचारीको काम फेरि नयाँ मन्त्रीलाई बुझाउने हुन्छ ।’ कोरोना महामारीमा त झन् बारम्बार मन्त्री परिवर्तन हुँदा संक्रमण नियन्त्रणमा सफलता प्राप्त गर्न कठिन हुने उनले बताए ।
पूर्वस्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले नियमित काम कर्मचारीेले गरे पनि बारम्बार मन्त्री परिवर्तन हुँदा नीतिगत निर्णयमा मात्रै ढिलाइ हुन सक्ने बताए । ‘मन्त्री फेरिँदैमा केही बिग्रन्छ भन्ने हुँदैन । बुझेको मान्छे आयो भने गति बढ्छ । मन्त्रीअनुसार प्राथमिकता फरक पर्न सक्छ । यसले मात्रै असर गर्ने हो,’ उनले भने, ‘विषयवस्तु बुझेको मन्त्री परेन भने केही समय कामले गति लिँदैन ।’ स्वास्थ्यमा मन्त्री मात्रै होइन कोरोना महामारीमा दुई जना सचिव सरुवा भइसकेका छन् । गत जेठ अन्तिम सातादेखि लक्षण अर्याल स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । आर्थिक प्रशासन बुझेका उनलाई सफल सचिवका रूपमा लिने गरिन्छ ।
