अक्सिमिटर, रेम्डेसिभिरजस्ता सामग्रीको माग अत्यधिक भएको मौका पारेर कतिपयले नक्कली सामान उपभोक्तालाई महागोमा बेचिरहेका छन् भने कोहीले सेनिटाइजरमा मानव स्वास्थ्यलाई हानि गर्ने रसायन मिसाएको पाइएको छ
काठमाडौँ — ललितपुरको इमाडोल शीतलहाइटमा बस्ने आशिष प्याकुरेलले औषधि व्यवस्था विभागको अनुमतिबिना ‘७५ प्रतिशत’ नामक ह्यान्ड सेनिटाइजर उत्पादन गरिरहेका थिए । उनको उद्योगमा न अल्कोहल नाप्ने प्रयोगशाला थियो न कुनै प्राविधिक । प्रहरीले जेठ ९ गते छापा मारेर ७५ प्रतिशत सेनिटाइजरको नमुना परीक्षण गराउँदा मानव स्वास्थ्यलाई असर गर्ने मिथानोल २४ प्रतिशत पाइयो । प्रहरीले प्याकुरेलविरुद्ध अहिले कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गत अनुसन्धान गरिरहेको छ ।
अक्सिमिटरसम्बन्धी एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल छ । जुन भिडियोमा रहेको अक्सिमिटरमा बिस्कुट राख्दा पनि अक्सिजन लेबल देखिन्छ । आपूर्तिकर्ताबाट तीन सय ८० रुपैयाँमा त्यस्ता गुणस्तरहीन अक्सिमिटर किनेर बजारमा २ हजार ५ सय रुपैयाँसम्ममा बिक्री गरेको प्रहरीले पत्ता लगायो । यस्ता अक्सिमिटर चीनबाट लुकाइछिपाइ भित्र्याउने गरेको खुलेको छ । यसमा संलग्नलाई प्रहरीले कारबाही अघि बढाएको छ ।
०००
कोरोना महामारीको मौका पारेर रोकथाम र उपचारका सामानमा उपभोक्तालाई ठगी र कालोबजारी गरिएका केही उदाहरण मात्र हुन् यी । प्रहरीको महानगरीय अपराध महाशाखा र औषधि अनुसन्धान विभागका अनुसार बजारमा अधिक माग भएका सेनिटाइजर, अक्सिमिटर, रेम्डेसिभिर जस्ता सामग्रीमा ठगीधन्दा देखिएको छ । कतिपयले नक्कली सामान उपभोक्तालाई महँगो मूल्यमा बेचिरहेका छन् भने कोहीले मानव स्वास्थ्यलाई हानि हुने गरी मिसावट गरेर सामान उत्पादन गरिरहेका छन् । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिरको अभाव भएका बेला एक भाइल ३० हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएको थियो ।
जबकि त्यसको मूल्य बढीमा ५ हजार रुपैयाँसम्म पर्थ्यो । यस्तै, काठमाडौं सिनामंगलको सुरिया हेल्थले नौ हजार रुपैयाँसम्म लिएर पीसीआरको नेगेटिभ रिपोर्ट दिने गरेको पाइएको थियो ।
प्रहरीको महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक चन्द्रकुवेर खापुङका अनुसार सुनसरी रामधुनी नगरपालिका–१ स्थायी घर भएका प्याकुरेलले धाराबाट आउने पानीमा रसायन मिसाएर ‘७५ प्रतिशत’ ह्यान्ड सेनिटाइजर बजार पठाउने गरेका थिए । पाल्पाको तानसेन नगरपालिका–१ घर भएका दुर्गा भट्टराईले पनि ‘विक लो वे विन्स’ ह्यान्ड सेनिटाइजर ७० प्रतिशत लेखिएको चिनियाँ ब्रान्डको लोगो प्रयोग गरी बेच्ने गरेका थिए । प्रहरीले उनको गोदामबाट ३ हजार लिटर सेनिटाइजरसमेत बरामद गरेको छ । उनको उद्योग पनि औषधि व्यवस्था विभागमा दर्ता छैन । यस्तै नवामी ब्रान्डको नक्कली सेनिटाइजर पनि बजारमा पाइएको छ ।
सेनिटाइजरमा प्रयोग गरिएको मिथानोल फर्निचरमा लगाइने रङ घोल्न, नङ सफा गर्न, ल्याबमा मानिसको शरीरबाट रगत निकालेपछि सेतो रक्त कोषिकालाई रंग्याउने रङ घोल्न प्रयोग गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले बताए । ‘शरीरभित्र पर्यो भने त यसले विषाक्त पदार्थ उत्पादन गर्छ । त्यसैले यसलाई शरीरमा प्रयोग गर्न मिल्दैन,’ उनले भने । विश्व स्वास्थ्य संगठनले गुणस्तरीय सेनिटाइजरमा अल्कोहल, हाइड्रोजन र ग्लिसेरोलको मात्रा कति हुने भनेर निर्धारण गरेको छ ।
धुलिखेल अस्पतालका छाला रोग विशेषज्ञ डा. धर्मेन्द्र कर्णले सेनिटाइजरमा प्रयोग गरिएको मिथानोलले शरीरभित्र प्रवेश गरेपछि ‘सिस्टम’ नै काम नलाग्ने बनाएर मानिसको ज्यानसमेत जान सक्ने बताए । ‘सेनिटाइजरमा प्रयोग हुने इथानोल, आइसोप्रोपाइल लगायतका अल्कोहलले असर गर्दैनन् तर मिथानोलले मान्छेको ज्यानै लिन सक्छ,’ उनले भने, ‘आँखा, मुख र छालाबाट भित्र गयो भने यसले केन्द्रीय स्नायु प्रणाली बन्द गर्न खोज्छ । आँखा सधैंका लागि बन्द गर्न सक्छ । कलेजोलाई पनि असर गर्छ ।’ कमसल सामानलाई असल भनी झुक्याई बेचेको र औषधिमा मिसावट गरी बिक्री वितरण गरेको कसुरमा कालोबजारी ऐनअन्तर्गत बढीमा ५ वर्षसम्म कैद हुन सक्छ ।
घरमै आइसोलेसनमा बसेका संक्रमितलाई चिकित्सकले बारम्बार अक्सिजन लेभल नाप्न सल्लाह दिने गरेका छन् । मानिसको रगतमा अक्सिजनको मात्रा पत्ता लगाउने अक्सिमिटरको माग महामारीका बेला ह्वात्तै बढ्यो । त्यही मौकामा अक्सिमिटरको कालोबजारी भएको पत्ता लागेको छ । प्रहरी वरिष्ठ उपरीक्षक खापुङका अनुसार यस्ता अक्सिमिटर महाराजगन्जस्थित आहा मास्कमा काम गर्ने विशाल आचार्यले डी एन्ड डी इन्टरप्राइजेज न्युरोडमार्फत चीनबाट मास्कको तुना ल्याउँदा त्यसकै बाकसभित्र लुकाएर ल्याउने गरेको पाइएको छ ।
यस्ता अक्सिमिटर बिक्रीमा सिन्धुली कमलामाई स्थायी भई बल्खु बस्ने बायोप्लस फर्मा कुलेश्वरका सञ्चालक शिखर श्रेष्ठ, बाजुरा खप्तड स्थायी घर भई कुपन्डोल बस्ने थुमराज उपाध्याय, याङ्जा पञ्चमूल घर भएका नानोटेक फर्मा थापाथलीका सञ्चालक शेषकान्त अधिकारीसमेत संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार सुनसरी इनरुवा घर भई चिरायु केडी ग्रुपमा काम गर्ने पुष्कर घिमिरे, आहा इन्डस्ट्रियल कम्पनीमा कार्यरत विशाल आचार्य, सिन्धुपाल्चोक सुनकोसी घर भई बागबजार बस्ने सन्तोष भण्डारी, भारत राजस्थान झुन्झुनु घर भई ढुंगेअड्डा बस्ने जगदीशप्रसाद रानासरिया नक्कली अक्सिमिटर बिक्रीमा संलग्न थिए । उनीहरूबाट बरामद ७ सय ६५ थान अक्सिमिटरमा उत्पादन मिति, म्याद समाप्त मिति, खरिद र बिक्री मूल्य, उत्पादक कम्पनीको नामलगायत केही पनि उल्लेख नभएको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये त्रिपुरेश्वरस्थित पशुपति मार्केटका सञ्चालकसमेत रहेका रानासरियबाट यस्ता अक्सिमिटर सबैभन्दा बढी ३ सय ९६ वटा बरामद गरेको थियो । प्रहरीले उनीहरूविरुद्ध कालोबजारी मुद्दा चलाएको छ ।
सरकारले निश्चित व्यापारीलाई रेम्डेसिभिर आयात गर्न अनुमति दिएको थियो । अनुमति लिएकै व्यक्तिसँगको मिलेमतोमा गोरखा आरुघाटका रफिक मियाँले एक भाइल रेम्डेसिभिरको ३० हजारमा बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । मियाँ अहिले पुर्पक्षका लागि थुनामा छन् । कालोबजारीका साथै जनस्वास्थ्यलाई प्रतिकूल असर पुग्ने गरी गुणस्तरहीन सामान बिक्री गर्नेलाई कोभिड संकट व्यवस्थापनसम्बन्धी अध्यादेश प्रावधानअनुसार पनि कारबाहीको दायरामा ल्याइने काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी बताए ।
सिनामंगलको सुरिया हेल्थले नौ हजार रुपैयाँ लिएर पीसीआर रिपोर्ट नेगेटिभ दिने गरेको तथ्य भने प्रहरीले ग्राहक बनेर जाँदा पत्ता लगाएको हो । प्रहरीका अनुसार सिनामंगलको ह्वाइट हार्स मेन पावर र मेरिट मल्टी केयर मेडिकल सेन्टरले विदेश जान चाहने व्यक्तिहरूलाई सुरियामा नक्कली पीसीआर रिपोर्टका लागि पठाउने गरेका थिए । यसमा संलग्नलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उक्त ल्याबको अनुमति निलम्बन गरेको छ ।
महामारीमा सर्वसाधारणलाई ठग्ने तथा जनस्वास्थ्यमा खेलवाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन महाशाखाले प्रहरी उपरीक्षक कृष्ण कोइराला, कृष्ण पंगेनी र प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीसहितको टोली परिचालन गरेको छ ।
कसको क्षेत्राधिकार ?
मूल्यमा ठग्ने, गुणस्तरहीन सामान बेच्ने र मापदण्डविपरीत काम गर्नेलाई अनुगमन र नियमन गर्ने जिम्मेवारी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र औषधि व्यवस्था विभागको हो । तर यी निकायले काम नगरेपछि अपराध अनुसन्धान गर्नुपर्ने प्रहरीको टोली नै उपभोक्ताले पाएको हैरानी रोक्न अघि सर्नुपरेको छ । गुणस्तरहीन र दर्ताबिना नै उत्पादन गरिएका सेनिटाइजर बजारमा पठाए नियमन गर्ने जिम्मेवारी औषधि व्यवस्था विभागको हो । तर प्रहरीले नै बजारबाट नमुना संकलन गरेर विभागकै प्रयोगशालामा परीक्षण गर्न पठाउने गरेको छ । विभागका सूचना अधिकारी सन्तोष कसीले कर्मचारीहरू संक्रमित भएकाले अनुगमन गर्न नसकिएको बताए । ‘प्रहरीसँगको सहकार्यमा सेनिटाइजरको अनुगमन गरेका थियौं,’ उनले भने, ‘त्यसयता गर्न सकिएको छैन ।’
औषधि व्यवस्था विभाग सक्रिय हुने हो भने यस्ता गुणस्तरहीन सामान उत्पादन गर्ने र बिक्री गर्नेले पाउने सजाय पनि कडाइ नै हुन्थ्यो । औषधि ऐनको दफा २९ अनुसार औषधिको प्रभाव शून्य हुने, घटी हुने वा बदलिने वा हानिकारक हुने गरी कसैले कुनै औषधिमा मिसावट गर्न वा त्यस्तो मिसावट भएको हो भन्ने जानी जानी त्यस्तो औषधि बिक्री गर्न वा बिक्रीका लागि राख्न वा उपचारको निमित्त कसैलाई दिन हुँदैन । यस्तो गरेर ज्यान जान सक्ने सम्भावना भए ज्यान मार्ने उद्योग गरेसरह कारबाही हुने व्यवस्था छ ।
वाणिज्य विभाग आफ्नो काम होइन भन्दै पन्छिने गरेको छ । अनुचित व्यापारिक क्रियाकलाप गरेर सर्वसाधारण ठगिएको विषयमा अनुगमन गर्नुपर्ने दायित्व वाणिज्य विभागको रहेको प्रवक्ता शिवराज सेढाइँले बताए । ‘हामी सधैंजसो अनुगमन गरिरहेका छौं । कालोबजारी र ठगीसम्बन्धी प्रहरी र प्रशासनले हेर्ने हो,’ उनले भने, ‘हामी त अनुचित व्यापारिक क्रियाकलाप मात्रै हेर्छौं ।’
५०४२ थपिँदा ८२४३ संक्रमणमुक्त
काठमाडौं– पछिल्लो २४ घण्टामा ५ हजार ४२ कोरोना संक्रमित थपिँदा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । सो अवधिमा १६ हजार ८ सय १४ जनाको परीक्षण गरिएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार ६८ जनाको संक्रमणका कारण मृत्यु भएको छ । हाल संक्रमणमुक्त हुने दर ८२.७८ प्रतिशत रहेको छ ।
