दैनिक करिब २० हजार लिटर दूधले बजार पाएन
सुनसरी — गोठमा पालेका २० गाईबाट दैनिक ६० लिटर दूध उत्पादन गर्दै आएका ईश्वर रोक्का कोरोना महामारीको दोस्रो लहरपछि पनिर र कुरौनी बनाएर छिमेकीहरूलाई बाँड्न बाध्य छन् । लकडाउनका कारण धरान, इटहरीका होटलहरू र डेरी उद्योग बन्द भएपछि बराहक्षेत्र नगरपालिका–३ बिचपानीका रोक्कासहित दुग्ध किसान समस्यामा परेका छन् ।
‘दूधै फाल्न माया लाग्छ । दही बनाएर पनि खाएर सकिन्न,’ रोक्काले भने, ‘अब त पनिर र कुरौनी पनि बाँडेर नसकिने भएको छ ।’ लामो समयको वैदेशिक रोजगारीपछि नेपाल फर्केर डेढ वर्ष अघिदेखि उनले दीपज्योति दुग्ध फर्म खोलेर गाईपालन थालेका हुन् । यति बेला भने उनको व्यवसाय कोरोना महामारीको चपेटामा परेको छ ।
दैनिक करिब ५ हजार रुपैयाँ घाटा बेहोरिरहेका रोक्काले यति बेला गाईलाई खुवाउने दानासमेत पाउन मुस्किल भएको बताए । बैंकको १७ लाख रुपैयाँ ऋण सम्झेर नौनारीसमेत गल्ने गरेको उनी सुनाउँछन् । प्रदेश १ मा सबैभन्दा धेरै बराहक्षेत्रमा नै दूध उत्पादन हुन्छ । कोरोना महामारीको दोस्रो लहरसँगैको निषेधाज्ञाले पीडित रोक्काजस्ता बराहक्षेत्र नगरपालिकाका करिब ३ हजार दुग्ध किसानहरू सहज अवस्थाको पर्खाइमा छन् ।
बराहक्षेत्र नगरपालिका–५ खोरियाका मनोज विष्ट गाउँभरिबाट संकलन गरेर दैनिक ८० लिटर दूध धरानका विभिन्न घर र होटलमा बिक्री गर्ने गरेका थिए । मोटरसाइकलमा बोकेर दुग्ध व्यवसाय गर्दै जीविका चलाउने विष्टले भने, ‘निषेधाज्ञाका कारण दूध संकलन र धरान पुर्याउने काम सबै बन्द हुँदा बेरोजगारजस्तै भइएको छ ।’
गोठमा गाईभैंसी नपाले पनि मोटरसाइकलमा सबेरै गाउँभरि दूध संकलन गरेर बेच्ने विष्टजस्ता दुग्ध व्यवसायीहरू बराहक्षेत्रको खोरिया, भलुवाचौरी र कालाबन्जरमा ७५ जनाभन्दा बढी छन् । विष्टले भने, ‘गाई–भैंसी पालेर फर्म सञ्चालन गर्ने र हामीजस्ता दूध संकलन गरेर उपभोक्तासम्म पुर्याएर जीविका चलाउनेको हालत बिजोग भएको छ ।’बराहक्षेत्र–१० प्रकाशपुरको प्रकाशपुर दुग्ध उत्पादक सहकारी लिमिटेड, बराहक्षेत्र–११ मधुवनस्थित मधुप्रकाश दुग्ध उत्पादक सहकारी, चक्रघट्टीस्थित प्रगतिशील दुग्ध उत्पादक सहकारीले सुनसरी र मोरङका विभिन्न डेरी उद्योग र उपभोक्ताको घरमा दूध आपूर्ति गर्दै आएका थिए ।
बराहक्षेत्रका अधिकांश किसानले उत्पादित दूध स्थानीय सहकारीलाई दिने र धरान इटहरीका उपभोक्ताकोमा पुर्याउने गरेका छन् ।
प्रकाशपुर दुग्धका अध्यक्ष हमरजंग बस्नेतले भने, ‘हाम्रो सहकारीबाट धरान, इटहरी र मोरङको सुन्दर हरैंचा नगरमा मात्र दैनिक ११ सय लिटर दूध आपूर्ति गर्दै आएका थियौं । सहकारीमा आबद्ध ४ सय ६० किसानका दूध बिक्री नहुँदा बेहाल छ । कोरोना महामारीले सबै चौपट बनायो ।’ उनले अन्य दुग्ध सहकारी, फर्म किसानहरूको अवस्था बिजोग भएको बताए । उनले भने, ‘दैनिक दुई–चार लिटर उत्पादन गर्ने किसानले त घरैमा खपत गर्लान् । पनिर, दही, घिउ र कुरौनी बनाएर खालान् तर आठ–दस वटाभन्दा बढी गाई–भैंसी पालेर दैनिक पन्ध्र–बीस लिटरभन्दा बढी दूध उत्पादन गरेर बिक्रीवितरण गर्दै आएका ठूला किसानलाई भने निकै घाटा सहनुपरेको छ ।’
स्थानीय दुग्ध व्यवसायीका अनुसार बराहक्षेत्रका विभिन्न वडामा गरी दैनिक करिब २० हजार लिटर दूध उत्पादन हुन्छ । उनीहरूले उत्पादन गरेकामध्ये १५ प्रतिशत गाउँमै खपत हुने गरेको छ भने बाँकी रहेको दूधमध्ये ४० प्रतिशत इटहरी उपमहानगरपालिकाको तरहराका डेरीले संकलन गर्ने गरेका छन् । अरू धरान, इटहरी र झुम्काका उपभोक्ताको घरघरमा पुग्ने गरेको छ ।
