मेलापातमा छैन सावधानी

जेष्ठ २३, २०७८

कान्तिपुर संवाददाता

रामेछाप — गाउँमा किसानलाई अहिले मकै गोडमेलको चटारो छ । तर मेलापात र अर्मपर्म जाँदा कोरोना संक्रमणबाट बच्न सुरक्षा सावधानी अपनाइएको देखिँदैन । जिल्लाभर निषेधाज्ञा गरिए पनि यसकै कारण संक्रमण फैलने जोखिम बढेको छ ।

बिहीबार रामेछाप नगरपालिकाको वादी गाउँमा ६० जनाको परीक्षण गर्दा ४० जनालाई संक्रमण पुष्टि भयो । यसको कारण मेलापात र सामूहिक रूपमा भइरहेका सामाजिक कामलाई औंल्याइएको छ । ‘बडो अचम्म भयो, सामान्य ज्वरोबाहेक केही थिएन । हाम्रो त गाउँनै सकिएछ,’ स्थानीय सुकबहादुर शाहीले भने, ‘संक्रमित अझै खुलमखुलै हिँडिरहेका छन् ।’

वादीका धेरैमा संक्रमण देखिएको ओख्रेनीको होदिल र भालुखोपमा मकै गोडमेल गर्ने चटारो थियो । ‘कृषिको काम गर्दा अलि दूरी कायम गरेर गरेको भए हुने तर गरेनन्,’ स्थानीय मनोज श्रेष्ठ भन्छन्, ‘गाउँमा पहिलेदेखि चलेको चलन, अर्मपर्ममा धेरै जनालाई बोलाएर एकैपटक काम सक्ने भन्ने हुन्छ । यसरी सामूहिक काम गर्दा संक्रमण फैलने जोखिम हुन्छ ।’ तर मेलापातमा खटिएका धेरैलाई संक्रमित भइएला भन्ने डर छैन । मकै गोडमेल गरिरहेका च्यास्कुका धनबहादुर विश्वकर्माले भने, ‘हुनुपर्‍यो भने घरभित्रै बसेकोलाई पनि कोरोना हुन्छ, त्यस्तो बेला जोगिन गाह्रो छ । खोइ हामीलाई अहिलेसम्म केही भएको छैन क्यार ।’ आर्थिक वर्ष सकिन झन्डै ६ साता मात्र बाँकी रहेकोले गाउँमा विकास निर्माणका कार्य पनि तीव्र रूपमा भइरहेका छन् । निर्माणको कार्यमा खटिएका कामदारहरूले पनि स्वास्थ्य सुरक्षा सावधानी अपनाएको देखिँदैन । जिल्लाको उत्तरी उमाकुण्ड गाउँपालिकाको बाम्तीमा २२ जनामा परीक्षण गर्दा १६ जनामा संक्रमण पाइएको छ । 

‘यो सामान्य कुरा होइन,’ स्थानीय रोकट बस्नेतले भने, ‘वडालाई नै सिल गरेर सुरक्षा प्रबन्ध मिलाउन ढिला गर्नु हुँदैन ।’ गाउँमा फाट्टफुट्ट भइरहेका विवाह, कुलपूजा र अन्य सामाजिक कार्यमा सहभागीले मास्कसमेत लगाएका हुँदैनन् । खाँडादेवि–७ मा एक विवाहमा सहभागी ७९ जनालाई संक्रमण भएपछि बल्ल गाउँभर सुरक्षा सतर्कता बढाइएको छ । कोभिड आइसोलेसन र अस्पताललाई समेत तयारी अवस्थामा राखिएको छ । यसअघि यो पालिकामा न्यून संख्यामा मात्रै संक्रमित भएका थिए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully