सिटामोलको माग उच्च

‘कृत्रिम अभाव सिर्जना भइरहेकाले खपत बढ्यो’

जेष्ठ १६, २०७८

प्रकाश बराल

बागलुङ, म्याग्दी — बागलुङको अमलाचौर स्वास्थ्यचौकीमा दैनिक सिटामोल खोज्न आउने धेरै छन् । सामान्य अवस्थामा भन्दा अहिले सिटामोल खोज्दै आउने धेरै भएको अनमी कल्पना शर्माले बताइन् । तर चौकीमा सिटामोल सकिएर दिन नपाएको उनले गुनासो गरिन् ।

रायडाँडा स्वास्थ्यचौकीमा पनि सिटामोलसहित भिटामिन ‘बी’ कम्प्लेक्स, झाडापखालाका लागि चाहिने औषधि तथा एलर्जी भएको भन्दै औषधि खोज्न आउने बढिरहेका स्वास्थ्यचौकी प्रमुख केयरसिंह थापाले बताए । अघिल्ला वर्षकै जति औषधि गाउँका स्वास्थ्य संस्थामा पुर्‍याउँदा यो पटक अभाव भएको बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए । ‘औषधि अभाव छैन तर कृत्रिम अभाव सिर्जना भइरहेकाले खपत बढेको हो,’ खनालले भने, ‘पारासिटामोल भने तुलनात्मक रूपमा कम आएको छ ।’

अधिकांश औषधि भारतबाट आयात गर्नुपर्ने भएकाले यातायातको अभाव, भारतमा कोभिडको डरलाग्दो अवस्था आदि कारणले समयमा नआएको उनले बताए । ‘केही व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर कोलाहल सिर्जना गर्न खोजेको पनि हुन सक्छ,’ उनले भने, ‘संकटका बेला आउने हल्लाका कारण उपभोक्ताले पनि नचाहिएको औषधि किनेर राख्न खोज्दा समस्या देखिएको हो ।’ नगरपालिकाले सबै स्वास्थ्यचौकीका लागि औषधि प्याक गरेर पठाउने तयारी गरेकाले अभाव हुन नदिने उनले बताए । 

पश्चिम बागलुङको तमानखोलामा पनि औषधि अभाव भएको स्वास्थ्य शाखा प्रमुख तिलक छन्त्यालले बताए । ‘कोरोना संक्रमण बढिरहेकाले ज्वरो आउनासाथ घरमै औषधि खानुपर्छ, राख्नुपर्छ भन्ने मान्यताले धेरै खपत भइरहेको छ,’ उनले भने, ‘कम्तीमा असार मसान्तसम्म पुग्ने औषधि भने भण्डारण गरेका छौं ।’ शरीर दुखेको, ज्वरो आएकोलगायत समस्यामा अधिकांशले खोज्ने सिटामोल भने अभाव भएको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेका अनुसार लकडाउनमा औषधि नियमित आए पनि औषधिका लागि चाहिने ‘मोलिक्युल’ अभाव भएको बताए । ‘धेरै औषधि अहिले पनि भारतबाटै आउँछ तर नेपालमा बन्ने औषधिमा चाहिने केही कच्चापदार्थ अभाव भएकाले उत्पादन घटेको भन्नेछ,’ घिमिरेले भने, ‘तर पनि मन्त्रालय र विभागले नियमित आपूर्ति भने गरिरहेका छन् ।’ सिटामोलको हकमा भने कृत्रिम अभाव सिर्जना गरिएको उनले बताए ।

ताराखोला गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख उदित थापाले सिटामोल कमी भएको बताए । कोरोना संक्रमितले शरीर दुख्दा र ज्वरो आउँदा सिटामोलको खोजी गरेकाले घरघरमा पनि स्टक राख्ने चलन बढेको उनको भनाइ छ । 

ज्वरो आउँदा खुवाइने आधारभूत औषधि सिटामोल र पारासिटामोलको अभाव देखिएको हो । यो महामारीमा सबैभन्दा बढी खपत भएको औषधि सिटामोल र जिंक चक्की रहेको छ । ‘औषधि पसलमा मात्र होइन, स्वास्थ्य संस्थामा पनि प्रशस्त सिटामोल पाइँदैन । कतिपय त्यत्तिकै पनि सिटामोल माग्न आउने भएकाले सबै स्वास्थ्यकर्मीलाई औषधि वितरणमा मितव्ययी बन्न भनेका छौं,’ बेनी नगरपालिकाकी स्वास्थ्य संयोजक लीला गौतमले भनिन् ।

स्थानीयले अनावश्यक रूपमा जोहो गर्न थालेपछि औषधि पसलमा अभाव हुन थालेको हो । बजारका औषधि पसलेले सिटामोल नभएको भन्दै बेनी अस्पतालको इमर्जेन्सीमा जान भन्दै ग्राहकलाई फर्काउने गरेका छन् । ‘सबै स्वास्थ्य संस्थामा पर्याप्त भण्डारण नभए पनि सिटामोललगायतका आधारभूत औषधि छन् । तर बाहिर क्लिनिकमा बिक्रीका लागि सिटामोल, जिंक र पल्सअक्सिमिटर खोज्दा नपाएपछि पोखराबाट ल्याएको हो,’ निजी क्लिनिकसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य संयोजक समुद्र बरुवालले भने, ‘हिजो सामान्य रुखाखोकी र ज्वरो आउँदा वास्ता नगर्नेले पनि कोरोना त्रासले आफूखुसी सिटामोल खाने भएकाले माग बढी भएको हो ।’

आयुर्वेद औषधिको माग बढ्यो

कोरोना संक्रमण बढेपछि आयुर्वेदको औषधिको समेत माग बढेको छ । धौलागिरि आयुर्वेद औषधालयसहित जिल्लाका अन्य स्वास्थ्य संस्थामा पनि औषधि खोज्न आउने बढेका हुन् ।

औषधालयमा बनेका गुडुची चुर्ण, त्रिफलालगायत औषधि खोज्न आउनेको संख्या बढेको औषधालयका प्रमुख डा.सरोजकुमार रायले बताए । ‘रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि हामीले यहाँ पनि बनाएका छौं, माग पनि अत्यधिक छ,’ उनले भने, ‘निःशुल्क वितरण गरिएको औषधि लिन आउनेहरू मासिक १ हजार जनासम्म पुगेका छन् ।’ गाउँका औषधालयमा पनि मासिक २ सय जनासम्मले औषधि सेवन गरेको तथ्यांक छ । जिल्लामा १२ आयुर्वेदका औषधालय छन् ।

कोरोना संक्रमण बढेसँगै म्याग्दीको दुर्गम भेगमा मात्र नभई सदरमुकाम बेनी बजारका स्वास्थ्य संस्था र औषधि पसलमा पनि यतिबेला सिटामोलसमेत पाइन छाडेको छ ।

कोरोना भाइरस

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully