एक्लो अहेवको भरमा पूरै गाउँ

जेष्ठ १६, २०७८

आनन्द गौतम

ताप्लेजुङ — फक्ताङलुङ गाउँपालिका–६ लेलेप घुन्साकी पेम्बाफुटी शेर्पालाई वैशाख अन्तिम साता टाउको दुख्यो । त्योसँगै रुघा, ज्वरो र झाडापखाला सुरु भयो । अरुचि बढ्यो । शरीर पूरै गल्न थाल्यो । अहेब प्रवीन राईले घरमै गएर जाँच गरेपछि ज्वरो, झाडापखालाको औषधि दिए ।

अक्सिजन लेभल घटेर ७७ मा पुगेछ । त्यसपछि घरमै अक्सिजन लिएर बसिन् । ‘त्यस्तै १७ दिनजति भयो होला, अब अलिक ठीक भएको छु,’ उनले भनिन्, ‘घरमा उठेर बस्ने र फोनमा बोल्न सक्ने भएको छु तर घर बाहिर हिँड्न सकेको छैन ।’ 

५९ वर्षकी पेम्बाले यत्तिको ठूलो बिराम पहिलोपटक झेलेको बताइन् । उनीपछि श्रीमान्लाई पनि यही बिमारले भेट्यो, ओछ्यान परे । एकै ठाउँमा ४२ परिवारको बसोबास रहेको घुन्साका ५४ जना बिरामी परिसकेका छन् । यहाँ ८५ देखि ९० जना बसोबास गर्छन् । 

कतिपय निको पनि भइसकेका छन् । बिरामी सबैको लक्षण एकै प्रकृतिको थियो । उपचारमा संलग्न यहाँका एक्ला स्वास्थ्यकर्मी प्रवीनले भने, ‘अरूमा सरेन भने अब चार/पाँच जना मात्रै बिरामी छन् ।’ ती बाहेकको स्वास्थ्य सामान्य बन्दै गएको उनले बताए । ‘शरीरमा कमजोरी अझै छ तर ज्वरो घटेको छ, टाउको दुख्न र झाडापखाला रोकिएको छ,’ उनले भने ।

प्रवीनले प्रत्येक बिरामीलाई घरघरमै पुगेर उपचार गरे । तातो र झोलिलो खानेकुरा खान सल्लाहसँगै दबाब दिइरहे । ‘दुई सातादेखि एक दिन, एकछिन पनि फुर्सद छैन,’ उनले थपे, ‘अक्सिजन नाप्ने, अक्सिजन दिनेदेखि प्रत्येक बिरामीलाई घर/घरमा गएर फलोअप गर्नुपर्‍यो ।’ 

यहाँका बिरामी कोरोना संक्रमित हुन् कि होइनन् भन्नेचाहिँ टुंगो छैन । प्रवीनले गाउँभरिका मान्छे कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको जानकारी गाउँपालिकाको स्वास्थ्य शाखामा सुरुमै गराए । तर कोरोनाको डरले स्थानीयले परीक्षण गर्न मानेनन् । ३१ सय मिटर उचाइमा रहेको यहाँ घुन्सा फाउन्डेसनले स्थापना गरेको स्वास्थ्य सेवा केन्द्र छ । 

गाउँ नै बिरामी हुँदा पनि गाउँपालिका र वडा कार्यालयले सम्पर्क नगरेकामा भने स्थानीयको गुनासो छ । घुन्साका बासिन्दा अहिले पनि ग्याब्लादेखि माथिको क्षेत्रलाई छुट्टै वडा बनाउन माग गरिरहेका छन् । गाउँपालिकाको केन्द्र तापेथोकदेखि डेढदेखि दुई दिनको पैदलमा मात्रै पुगिने यो क्षेत्रका जनप्रतिनिधि छैनन् । 

कोरोना भाइरस

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully