अक्सिजन भर्न पालो

जेष्ठ १६, २०७८

कान्तिपुर संवाददाता

रामेछाप — रामेछापका स्वास्थ्य संस्थाहरूलाई कोरोना संक्रमितका लागि आवश्यक अक्सिजन भरेर ल्याउन कठिनाइ हुन थालेको छ । जिल्लामा अक्सिजन प्लान्ट नहुँदा काभ्रेको पनौतीमा पुगेर सिलिन्डर भर्नुपर्ने बाध्यता छ ।

प्लान्टमा जानेबित्तिकै पालो आउँदैन । ‘केही दिनअघि अक्सिजन भरेर ल्याउन ३ दिन लाग्यो,’ तामाकोसी अस्पताल मन्थलीका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले भने, ‘जानेबित्तिकै पालो आए पनि एक दिन लाग्छ ।’ काभ्रेमा पालो बस्दै गर्दा अक्सिजन सकिएपछि विराटनगर पुगेर ल्याएको उनले बताए ।

जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र तामाकोसी अस्पतालमा कोभिडका बिरामी धेरै छन् । जिल्ला अस्पतालमा १८ जना र तामाकोसी अस्पतालमा १४ जना संक्रमितले उपचार गराइरहेका छन् । ती सबैलाई अक्सिजन चढाउनुपरेको छ । जिल्ला अस्पतालबाहेक अन्यमा सिलिन्डर सीमित छन् ।

थोरै सिलिन्डर भएकाले अक्सिजन ल्याएको केही दिनमै सकिने गरेको छ । घिमिरेका अनुसार ठूलो अक्सिजन सिलिन्डरले ४८ घण्टा धान्छ । तर हाइफ्लोमा चलाउनु परेकाले चाँडो सकिने गरेको छ । ‘बिरामी धेरैलाई अक्सिजन चलाउनु परेकाले कतिबेला अक्सिजन खाँचो पर्ने टुंगो नहुने अवस्था छ,’ घिमिरेले भने । दुर्गममा पालिकाहरूले खोलेका आइसोलेसनमा रहेका सीमित सिलिन्डर भरेर ल्याउन अझ चुनौती र खर्चिलोसमेत छ । जिल्लाभरमा पुग/नपुग २ सय सिलिन्डर छन् ।

सिलिन्डर कम भएकै कारण बारम्बार प्लान्टमा जानुपर्ने बाध्यता परेको हो । सिलिन्डर बढाउन पाए अक्सिजन सकिएर संक्रमितको उपचारमा बाधा नपर्ने र व्यवस्थापनको खर्चसमेत किफायती हुने स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र कर्णले बताए । तीन दिनअघि मात्र जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट राख्नका लागि वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले बोलपत्र आह्वान गरेको छ । छोटो अवधिको ठेक्का लगाएकाले अबको केही महिनामा जिल्लामा नै अक्सिजन भर्ने व्यवस्था हुने कर्णले बताए ।

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully