योजना कटौती गरी अक्सिजन प्लान्ट

तीन महिनाभित्र प्लान्ट सञ्चालनमा ल्याइने

जेष्ठ १६, २०७८

अर्जुन राजवंशी

बिर्तामोड — झापाको कनकाई नगरपालिकाले बजेट रकमान्तर गरी अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । नगरवासीको स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन नगरपालिकाले अक्सिजन प्लान्ट स्थापनाको प्रक्रिया अघि बढाएको हो । 

नगरपालिकाले दैनिक ५० वटा सिलिन्डर रिफिल गर्न सक्ने क्षमताको प्लान्ट राख्न लागेको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिए । प्लान्ट स्थापना गर्न करिब २ करोड रुपैयाँ खर्च लाग्ने उनको अनुमान छ । उक्त रकमका लागि नगर प्रमुख पोखरेलले आफ्नो ३ वर्षको पारिश्रमिकबापतको १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

उक्त रकमको चेक पोखरेलले शनिबार नगर उपप्रमुख मन्जु प्रसाईंलाई हन्तान्तरण गरेका छन् । पोखरेलले नगर प्रमुखबापतको पहिलो वर्षको पारिश्रमिक नगरका मजदुरहरूलाई सहयोग गरेका थिए । ‘विकास निर्माणका काम जति गरियो, गरियो । अब नगरवासीको स्वास्थ्यमा सहयोग पुग्ने किसिमका योजनामा बजेट खर्च गर्नेछौं,’ उनले भने, ‘नगरका सबैजसो सडकमा उच्चस्तरीय ग्राभेल गरिसकेका छौं । कालोपत्र बरु पछि गरौंला । अहिले नागरिकको स्वास्थ्यमै केन्द्रित भएर काम गर्ने निर्णय गरेका छौं ।’ 

प्लान्ट राख्न नगरले थप नयाँ योजना सञ्चालन नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार भौतिक विकास, शिक्षालगायतका योजना कटौती गरेर बजेट स्वास्थ्यमा खर्च गर्ने गरी निर्णय गरिएको छ । ‘अर्को वर्ष काम गर्दा पनि हुने किसिमका योजनाहरू सबै कटौती गरेका छौं । साना–टुक्रे योजनाहरूमा विनियोजन गरेको बजेट पनि सबै स्वास्थ्यमै खर्च गर्ने गरी निर्णय गरेका छौं,’ उनले भने । प्लान्ट स्थापनाका लागि विभिन्न शीर्षकका बजेट रकमान्तर गरी नगरपालिकाको स्रोतबाट ४० लाख रुपैयाँ जुटाउन लागेको न्यौपानेले बताए । 

नगर प्रमुखको १० लाख, अन्य जनप्रतिनिधि र कर्मचारीसमेतको पारिश्रमिक गरी नगरपालिकातर्फबाट एक करोड रुपैयाँ जुटाउने नगर प्रमुख पोखरेलले बताए । थप एक करोड रुपैयाँ विभिन्न सहयोगी दाताहरूबाट जुटाउने उनको भनाइ छ । 

‘अक्सिजन प्लान्ट राख्दा धेरैले सहयोग गर्ने वचन दिएका छन् । त्यसैले हामीले यो आँट गरेका हौं,’ पोखरेलले भने । प्लान्ट स्थापनामा सहयोग जुटाउन नगर प्रमुख पोखरेलको नेतृत्वमा १३ सदस्यीय सहयोग तथा व्यवस्थापन समिति गठन गरिएको छ । उक्त समितिले नगरभित्र, देश तथा विदेशमा रहेका व्यक्ति एवं संघसंस्थाबाट सहयोगको अपिल गर्ने उनले बताए । उनका अनुसार तीन महिनाभित्र प्लान्ट सञ्चालनमा ल्याइनेछ । 

नगरपालिकासँग २४ वटा अक्सिजन सिलिन्डर छ । कम्तीमा ५० वटा सिलिन्डर पुर्‍याएर अक्सिजन प्लान्ट सञ्चालन गर्ने पोखरेलले बताए । कनकाईमा कोरोना संक्रमणबाट हालसम्म १३ जनाको मृत्यु भएको नगर उपप्रमुख प्रसाईंले जानकारी दिइन । जसमा ३ महिला र १० पुरुष छन् । 

नगरका ५ हजार ३ सय ३२ जनाको पीसीआर परीक्षण गरिएकामा ६ सय ३० जनामा संक्रमण पुष्टि भएको प्रसाईंले बताइन् । उनीहरूमध्ये ३ सय ७९ जना निको भएका छन् । २ सय २९ जना होम आइसोलेसनमा, ६ जना विभिन्न अस्पतालमा र ३ जना नगरले सञ्चालनमा ल्याएको कनकाई आइसोलेसनमा उपचाररत रहेको उनले बताइन् ।

कोरोना भाइरस

अर्जुन

Link copied successfully