क्‍वारेन्टाइनमा रहेका वृद्धको मृत्यु

असार २७, २०७७

सम्झना रसाइली

तनहुँ — जिल्लाको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्‍वारेन्टाइनमा राखिएका एक वृद्धको मृत्यु भएको छ । शनिबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरा लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो । 

असार २४ गते भारतबाट बिरामी अवस्थामै ल्याइका ती ६६ वर्षीय वृद्धलाई क्‍वारेन्टाइनमा राखिएको थियो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईका अनुसार बिरामी अवस्थामा ल्याइएको ती वृद्ध सुगर,प्रेसर,दम,प्यारालाइसिस जस्ता रोगबाट पीडित थिए । 

‘शुक्रबार रातिसम्म उनको स्वास्थ्यमा खासै केही समस्या देखिएको थिएन’, उनले भने, ‘शनिबार बिहान करिब ४:३० बजेको समयमा अचानक स्वास्थ्य समस्या देखिएपछि एम्बुलेन्स बोलाएर उनलाई पोखरा उपचारका लागि लगिएको थियो ।’  

वृद्धको स्वाबको नमुना संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य शाखा प्रमुख भट्टराईले बताए ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully