स्याङ्जा — गल्याङ नगरपालिकाको बहुमुखी क्याम्पस क्वारेन्टाइनमा सरसफाइ गर्ने २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा सरसफाइको काम गर्दै श्रीमान्–श्रीमती नै सरसफाइ गर्दै आएकोमा दुवैमा कोरोना पुष्टि भएका स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले बताए ।
उनले प्रदेशले निकालेको सूचीमा पुरुष मात्रै भनेको भए पनि नाम र उमेर भिडाउँदा प्रस्ट भएको जानकारी दिए ।
संक्रमित दुवै जनाले क्वारेन्टाइनमा सुरुदेखि नै सरसफाइ गर्दै आइरहेका थिए । उनीहरुको सम्पर्कमा आएकाको पनि खोजी जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्याङ्जामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना देखिएको छ । जसमा स्याङ्जामा मात्रै दुई बालबालिकासहित २२ जनामा शुक्रबार कोरोना देखिएको छ । स्याङ्जामा कोरोना संक्रमितको संख्या ६० पुगेको छ । यसअघि बाहिरबाट आएका व्यक्तिहरुमा संक्रमण पुष्टि भए पनि शुक्रबार जिल्लामै रहेका २ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
