बढाइँदै क्‍वारेन्टाइनको संख्या

चैत्र १५, २०७६

प्रतीक्षा काफ्ले

स्याङ्जा — वैदेशिक रोजगारबाट जिल्ला फर्किनेको संख्या ह्वात्तै बढेपछि स्याङजामा क्वारेन्टाइनको संख्या बढाइएको छ । गाउँपालिका, नगरपालिका, वडा कार्यालय, जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र लगायतमा निर्माण गरिएका क्वारेन्टाइनको संख्या १ हजार ५५ पुगेको छ ।

कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै संख्या बढाइएको स्याङजाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमबाङले बताए । ‘जिल्लाभर क्‍वारेन्टाइनमा बस्‍नेको संख्या २१ छ,’ प्रजिअ कुरुम्बाङले भने,‘होम क्वारेन्टाइनमा बस्नेको संख्या ३ सय २५ छ । कोरोना प्रभावितको समय विदेशबाट स्याङजा आउनेको संख्या ५ सय २५ छ तर, हामीले २ हजारभन्दा बढी रहेको अनुमान गरेका छौ । धेरै जना सम्पर्कमा आउनुभएको छैन ।’ विदेशबाट जिल्ला फर्किनेहरु सम्पर्कमा आउन नचाहेको उनले बताए ।


स्याङ्जामा १०२ वटा आइसोलेसन बेड तयार पारिएको उनले जानकारी दिए । उनका अनुसार १ हजार भन्दा बढी क्वारेन्टाइनमा बस्न मानेका छैनन् । उनीहरुलाई प्रहरी लगाएर ल्याउने काम भइरहेको प्रजिअ कुरुम्वाङले बताए ।

विदेशबाट आएका गाउँ जाने र प्रहरी गाउँमै खोज्न जादा गाउँबाटै भाग्ने गरेको बताउदै उनले भने, ‘यस्ता व्यक्तिबाट संक्रमित हुने डर हो । हामी सचेत भएर खोजतलास गरेका छौ ।’ 


सरकारले जारी गरेको लकडाउन पनि कडाइका साथ कार्यान्वयन गरिएको उनले बताए । लकडाउनको उल्ल‌ंघन गरी चलाइएका सवारी साधनलाई नियन्त्रणमा लिने र बिना कारण बाहिर निस्किने र हिँड्नेलाई पनि सम्झाउदै घरभित्र बस्न लगाइएको उनले बताए । 

कोरोना भाइरस

प्रतीक्षा

Link copied successfully