बाजुरा घटनामा मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

मंसिर ९, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको क्रममा बाजुरामा दुई जनाको ज्यान जाने गरी भएका घटनामा अनुसन्धान थालेको छ । आयोगले घटनाको विषयमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा छानबिन तथा अनुसन्धान गर्न टोली परिचालन गरेको हो ।

मंसिर ४ गते निर्वाचनको क्रममा बाजुरामा विवाद हुँदा दुई जनाको ज्यान गएको थियो । आयोगका प्रवक्ता टीकाराम पोखरेलले आयोगले घटनाको विषयमा छानबिन गर्न टोली पठाएको जानकारी गराउँदै अनुसन्धानमा सहयोग पुर्‍याउन सबै राजनीतिक दल र सरोकारवालाहरूलाई आग्रह गरेका छन् । 

मंसिर ४ गते मतदानको दिन त्रिवेणी नगरपालिका–७ स्थित दम्था मतदानस्थलमा एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले फायरिङ गरेको थियो ।

त्यसक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जिव अएडीको मृत्यु भएको थियो भने  चेतन अएडीको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो । त्यहाा मतदान रोकिएपछि अहिलेसम्म पनि पुनः मतदान हुनसकेको छैन । 

कान्तिपुर संवाददाता

Link copied successfully