एकै परिवारका १० दाजुभाइ अहिले जिल्लाका दुर्गमदेखि सुगमसम्मका विकास आयोजनामा खटिइरहेका छन्, यो एकता र मिहिनेतको अर्थ हो– विकासका लागि ठूला–ठूला मेसिन मात्रै होइन, कामप्रतिको निष्ठा र आपसी मेलमिलाप महत्त्वपूर्ण हुन्छ ।
What you should know
अछाम — उनीहरू कुनै ठूला निर्माण कम्पनीका सूचीकृत कामदार होइनन्, न छ उनीहरूसँग अत्याधुनिक उपकरण र प्रविधि । तीसँग बलिया पाखुरा, रगतको सम्बन्ध र आफ्नै गाउँठाउँमा केही गरेर देखाउने इच्छाशक्ति छ । हरेक वर्ष विकास निर्माणका काम सुरु भएपछि यी दाजुभाइको दैनिकी फेरिन्छ ।
एकै परिवारका १० दाजुभाइ अहिले जिल्लाका दुर्गमदेखि सुगमसम्मका विकास आयोजनामा खटिइरहेका छन् । यो एकता र मिहिनेतको अर्थ हो– विकासका लागि ठूला–ठूला मेसिन मात्रै होइन, कामप्रतिको निष्ठा र आपसी मेलमिलाप महत्त्वपूर्ण हुन्छ ।
जिल्लाको रामारोशन–५ को अल्लेडी र चौकागडा लामागडा टोलका बुढा परिवारका दाजुभाइ यतिबेला विकास निर्माणका योजनामा श्रम गर्न व्यस्त छन् । उनीहरू सामान्य परिवारका हुन् । मुख्य जीविकोपार्जनको माध्यम खेतीपाती र पशुपालन हो । दाजुभाइले माध्यमिक तह (एसईई) र कक्षा १२ सम्म अध्ययन पूरा गरिसकेका छन् । गाउँकै विद्यालयबाट अक्षर चिनेका र उच्च शिक्षा हासिल गर्ने सपना बुनेका यी युवा अन्ततः रोजगारी अभावमा बुबाआमाले गर्दै आएको खेतीपाती सम्हाल्दै योजनाहरूमा मजदुरी गरिरहेका छन् ।
प्रत्येक वर्ष फागुनदेखि असार अन्तिमसम्म सरकारी निकायबाट विनियोजित बजेटअनुसारका योजना कार्यान्वयनका लागि सम्झौता हुन थाल्छन् । त्यही मौका छोपेर १० दाजुभाइको टोली श्रम गर्न निस्किन्छ । उनीहरू सबै २० देखि २७ वर्ष उमेर समूहका छन् । यस वर्ष यी दाजुभाइ सदरमुकाम मंगलसेन, पञ्चदेवल विनायक नगरपालिका र बान्निगढी जयगढ गाउँपालिकाका विभिन्न योजनामा केन्द्रित भएर मजदुरी गरिरहेका छन् । ठेकेदारले निर्माणको काम पाउनेबित्तिकै उनीहरू श्रम गर्न त्यहाँ पुगिसक्छन् । कतिपय बेला यी दाजुभाइको कामप्रतिको लगाव र इमानदारी देखेर निर्माण व्यवसायी नै उनीहरूलाई खोज्दै पुग्छन् । र, भेट भएपछि काम सुम्पिन्छन् ।
दस दाजुभाइमध्येका एक हुन्, २२ वर्षीय पदमबहादुर बुढा । सहोदर र नाताका दाजुभाइसँग मिलेर यसरी जिल्लाभरै श्रम दौडाहामा निस्कन थालेको तीन वर्ष भइसकेको बुढाले बताए । फागुनको सुक्खादेखि असारको झरीसम्म उनीहरू विश्राम गर्दैनन् । आर्थिक वर्षको अन्त्यमा काम सक्नैपर्ने दबाबबीच खटिन्छन् । पदमका अनुसार, पाँच महिना अवधिमा कमाइ पनि सन्तोषजनक हुने गरेको छ ।
कामको चाप र मिहिनेतअनुसार मासिक औसत ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । गाउँका अधिकांश साथीसंगी उमेर पुग्नासाथ रोजगारी खोजीमा भारतका विभिन्न सहर पुग्छन् । पछिल्लो समय त रोजगारीका लागि खाडी तथा तेस्रो मुलुक जाने धेरै छन् । जिल्लाभित्र स–साना विकास योजनामा श्रम गरेर पनि राम्रो आम्दानी हुने उनले बताए । ‘साथीहरू उमेर पुग्नेबित्तिकै पासपोर्ट बनाउन धाउँछन्,’ उनले भने, ‘गाउँ त युवाविहीनजस्तै हुन लागिसक्यो । हामीले भने आफ्नै जिल्लामा पनि काम पाइने भएकाले कतै नगएर टोली नै बनाएर काम गर्ने निर्णय गर्यौं ।’ आफ्नै ठाउँमा काम गर्दा घरपरिवारको नजिक भइने र घरमा आउजाउ गर्न पनि सजिलो हुने उनले बताए ।
पदमका अनुसार, उनीहरू ग्रामीण पूर्वाधारसँग जोडिएका काम गर्छन् । पहाडी भेगमा सिँचाइ कुलो, हिउँद र वर्षामा पहाडी खहरे खोलाबाट बस्ती जोगाउन निर्माण गरिने तटबन्ध र गोरेटो बाटो निर्माण गर्छन् । त्यसबाहेक बाढीपहिरोले भत्काएका सडक तथा पैदल मार्गको मर्मत, विद्यालयका साना भवन, पर्खाल निर्माण, स्थानीय तहबाट छोटो समयमै सम्पन्न गरिसक्नुपर्ने साना तथा टुक्रे योजना उनीहरू नै फत्ते गर्छन् ।
श्रममा व्यस्त उनीहरू शिक्षक सेवातर्फर्को तयारी पनि गरिरहेका छन् । स्थानीय बलबहादुर बुढा अहिले अछाम बहुमुखी क्याम्पसमा स्नातक तह (बीएड) चौथो वर्षमा अध्ययनरत छन् । उनी लोक सेवा र शिक्षक सेवाको तयारी गरिरहेका छन् । शिक्षक सेवा आयोगले लिने निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षासमेत उत्तीर्ण गरिसकेका छन् । एकातर्फ शिक्षक बन्ने सपना र अर्कोतर्फ दैनिक जीविकोपार्जनका लागि गर्नुपर्ने कडा श्रम, यी दोहोरो जिम्मेवारीबीच बलबहादुरले तालमेल मिलाएका छन् ।
उनको दैनिकी कष्टकर, तर लोभलाग्दो छ । दिनभरि मंगलसेनका कुलामा ढुंगा, बालुवा र माटोसँग खेल्छन्, कोदालो र घन चलाउँछन् । शरीर थाकेर ओछ्यानमा ढल्न खोज्छ । तर, उनको दिमागमा भविष्यको सुनौलो सपना र पढाइको चिन्ता नाचिरहन्छ । सबै सुतिसक्दा उनी भने शिक्षक सेवा आयोगको तयारीका किताब पल्टाइरहेका हुन्छन् । ‘दिनभरि मजदुरी गर्छु,’ उनी भन्छन्, ‘रातभरि परीक्षाको तयारी, यही मेरो दिनचर्या हो ।’ दाजुभाइ सँगै भएर काम गर्दा रमाइलो पनि हुन्छ । एक्लोपन महसुस हुँदैन । जिल्लाभरै जता काम पाइन्छ, त्यतै जाने गरेको उनले बताए । ‘कतै टेन्ट हालेर बस्छौं,’ उनले भने, ‘काम सकिएपछि जतिसुकै थकित भए पनि पढाइका लागि समय निकाल्छु ।’
