काठमाडौंमा बस्नेहरूले कति कमाउँछन् ?

सहरको विविधताजस्तै मानिसको कमाइमा पनि भिन्नता छ । कसैको ६ डिजिट त कसैको ४ डिजिट । पेसा, व्यवसाय र पृष्ठभूमिअनुसार कमाइ भिन्न भए पनि खर्चको विविधतासँगै अभावका बेग्लाबेग्लै अनुभव छन् । हामीले काठमाडौं सहरमा विभिन्न पेसा गर्ने १५ जनासँग उनीहरूको कमाइ र खर्चको शैलीबारे कुराकानी गरेर यो रिपोर्ट तयार पारेका हौं ।

०१
रु.३००,०००

खाजा पसल

४३ वर्ष

पसलमा हामी श्रीमान्,श्रीमती नै १५-१६ घण्टा खटिन्छौँ । कमाइ त छ, तर खर्च पनि उस्तै छ । घर भाडामै ४० हजार जान्छ । कामदारको तलबमा ४० हजार जान्छ । स्वास्थ्य उपचारमा १२ हजार खर्च हुन्छ । शिक्षामा १० हजार र घुमघाममा १० हजार मासिक खर्च हुन्छ । लत्ताकपडामा मासिक ८ हजार खर्च हुन्छ ।

०२
रु.५००,०००

वरिष्ठ अधिवक्ता

५५ वर्ष

६ जनाको परिवार छ । घरमा कमाउने म र श्रीमती मात्रै हौँ । मैले कमाएको ७०-८० प्रतिशत खर्च हुन्छ । लत्ताकपडामै मासिक ७० हजारसम्म खर्च हुन्छ । यति नै खर्च घर किन्दाकै ऋण तिर्दा हुन्छ । दुई सन्तानको पढाइमा ६५ हजार खर्च हुन्छ । गाडी मर्मत र तेलमा भने ५० हजार खर्च हुन्छ ।

०३
रु.५०,०००

कन्सल्ट्यान्ट

४९ वर्ष

२० वर्ष एनजीओ/आईएनजीओमा काम गरेँ । ३ वर्षदेखि कन्सल्ट्यान्ट छु । ८ लाख जति ऋण छ । बिस्तारै तिर्दै छु । कमाइमध्ये सबैभन्दा धेरै खर्च खाना/खाजामा मासिक २० हजार हुन्छ । बच्चाको पढाइमा मासिक १० हजार, पेट्रोल र मोबाइलमा ५ हजार खर्च हुन्छ । घुमघाममा पनि ५ हजार खर्च हुन्छ । श्रीमती पनि जागिरे भएकाले धेरथोर बचत पनि हुन्छ ।

०४
रु.२५०,०००

चिकित्सक

३७ वर्ष

सुरुमा जागिर खाँदा मेरो मासिक कमाइ १ लाख २० हजार थियो । अहिले दोब्बर बढेको छ । तर, खर्च पनि उस्तै छ । सबैभन्दा धेरै खर्च त डेरा भाडा र भान्सामा खर्च हुन्छ । यसमा ६० हजार जति खर्च हुन्छ । एक सन्तानको मासिक पढाइ शुल्क मात्रै २५ हजार हुन्छ । बुबाआमासहितको स्वास्थ्य उपचारमा मासिक २५ हजारसम्म खर्च हुन्छ । धन्न बुबाआमाले पसलबाट पनि कमाउनुहुन्छ र !

०५
रु.३५,०००

सवारी चालक

२८ वर्ष

२३ हजारबाट जागिर सुरु गरेको अहिले ३५ हजार कमाउन सक्ने भएको छु । तर पनि कमाइभन्दा धेरै खर्च छ । परिवारमा श्रीमती, म र बच्चा मात्रै छौँ । कमाउने म एक्लै हो । डेरा भाडामा मासिक १० हजार खर्च हुन्छ । बच्चाको खर्च ५-६ हजारसम्म हुन्छ । लत्ताकपडामा पनि १२-१५ हजार खर्च हुन्छ ।

०६
रु.७५,०००

बैंकर, निजी बैंक

३५ वर्ष

घरमा म र श्रीमती दुवै कमाउँछौँ । श्रीमतीले मासिक ६५ हजार कमाउँछिन् । हाम्रो धेरै खर्च भान्सा र खाजा/नास्तामा जान्छ । यसमा त्यस्तै ३० हजार खर्च हुन्छ । मासिक १० हजार गाउँमा बस्ने बुबाआमालाई पठाउँछौँ । १५ हजार घर भाडामा खर्च हुन्छ । चलेकै छ ।

०७
रु.४०,००० – ५०,०००

पसल व्यवसाय

परिवारमा २ बच्चासहित ४ जना छौँ । खाद्यान्नमै मासिक १५-२० हजार खर्च हुन्छ । डेरा भाडा ८ हजार छ । बच्चाहरूको स्कुल फि नै २१ हजार छ । अनि बच्चाहरूको अरू खर्च ५-६ हजार हुन्छ नै । घुमघाम गर्ने त समय नै हुन्न र यो शीर्षकमा खर्च पनि छैन ।

०८
रु.९२,०००

संयोजक, निजी विद्यालय

४५ वर्ष

हाम्रो घरमा सबैभन्दा ठूलो खर्च खाजा/भान्सा र छोराछोरीको पढाइमा हुन्छ । खाना/खाजामा ५० हजार र २ छोरीको पढाइमा ३५ हजार खर्च हुन्छ । घर भाडामा १६ हजार खर्च हुन्छ । १५ हजार त स्वास्थ्य उपचारमै जान्छ । श्रीमती प्राथमिक तहकी शिक्षिका हुन् । उनले मासिक ३५ हजार कमाउँछिन् । त्यही कमाइ बचत हुन्छ ।

०९
रु.५०,०००

बाइक मेकानिक्स

३१ वर्ष

१५ वर्षदेखि कोटेश्वरमा बाइक वर्कसप चलाउँदै आएको छु । सुरुमा मेरो कमाइ मासिक ४ हजार मात्रै थियो । अहिले कमाइ बढेको छ, तर खर्च पनि उस्तै छ । मेरो सबैभन्दा ठूलो खर्च घरमै हुन्छ । मासिक २५ हजार जति । श्रीमती पढ्दै छिन् । उनको पढाइमा मासिक १० हजार खर्च हुन्छ । घुमघाममा ३ हजार र स्वास्थ्योपचारमा ३ हजार खर्च हुन्छ । ६ महिनाको बच्चा हुर्काउने खर्च बेग्लै छ । श्रीमतीले कमाउने भएपछि थप सजिलो होला कि !

१०
अनिश्चित

संगीतकर्मी

२५ वर्ष

कमाइको कुनै टुंगो छैन । युट्युबबाट मासिक ५० डलर आम्दानी हुन्छ । मैले सुरुमा एउटै कार्यक्रमबाट ५० हजार कमाएको थिएँ । त्यो समूहका अरू संगीतकर्मीलाई पनि बाँड्नै पर्‍यो । मासिक ३५-४० हजार खर्च छ । धेरै खर्च खाना, यात्रा र मेकअपमा हुन्छ । बचत त छँदै छैन ।

११
रु.२५,०००

सहयोगी

३५ वर्ष

मेरो ४ जनाको परिवार छ । म अरूको घरमा सहयोगीको काम गर्छु । घरमा कमाउने म मात्रै हुँ । श्रीमान् विदेशमा हुनुहुन्थ्यो । स्वास्थ्य समस्या भएपछि फर्केर आउनुभयो । मैले कमाएको सबै पैसा खर्च हुन्छ । छोराछोरी दुवै बोर्डिङ स्कुलमा पढ्दै छन् । छोरीको पढाइ राम्रो भएकाले उसको स्कुल फी तिर्नुपर्दैन । यही कुराले केही राहत मिलेको छ । रासन खर्च, छोराछोरीको स्कुल र खाजाखर्चमै सबै कमाइ सकिन्छ । म दुईवटा घरमा काम गर्छु । एउटा घरमा १० हजार र अर्को घरमा १५ हजार रुपैयाँ पाउँछु । यति कमाइले के बचत हुनु ! तैपनि सहकारीमा महिनाको १५ सय रुपैयाँ बचत गर्छु ।

१२
रु.१७,०००

कुकका हेल्पर

१८ वर्ष

हरेक महिना म १२ हजार घर पठाउँछु । ५ हजार भने आफ्नो खर्चका लागि राख्छु । आमाले मेरो नाममा बचत खाता खोलिदिनुभएको छ । त्यहाँ मासिक ५ हजार बचत गरिदिनुहुन्छ । घरमा म र बुबा दुवै कमाउँछौँ । घरमा २ दिदी र आमा पनि हुनुहुन्छ ।

१३
रु.३६,००० सम्म

डकर्मी

३९ वर्ष

मेरो परिवारमा ५ जना छौँ । छोरी पढ्दै छिन् । छोरा म जस्तै काम गर्छ । श्रीमतीले पनि काम पाएको बेला काम गर्नुहुन्छ । बुहारी पनि पढ्छिन् । उनीहरूलाई कलेज आउजाउ गर्दा लाग्ने पैसा हरेक दिन दिनुपर्छ । छोरी र बुहारीको पढाइमा १०–१५ हजार रुपैयाँ खर्च हुन्छ । कोठाभाडामा ७ हजार रुपैयाँ जान्छ । पैसा भएको बेला मासु खान पाइन्छ । ग्यास, तेल र अन्य भान्साखर्चमा करिब २० हजार रुपैयाँ खर्च हुन्छ । माघी, तिहारजस्ता पर्वमा पैसा नपुगेर ऋण गर्नुपर्छ । श्रीमती र छोराको पनि कमाइ भएको बेला सबै जोड्दा ५० हजार रुपैयाँजति पुग्छ । तर सधैँ यस्तो हुँदैन ।

१४
रु.६०,०००

चिकित्सक, सरकारी

सबैभन्दा ठूलो खर्च घर भाडामा छ । त्यसमा २० हजार खर्च हुन्छ । बच्चाबच्चीको शिक्षामा २० हजार खर्च हुन्छ । यातायात खानामा भने १० हजारले पुग्छ । बचत भनेको त्यस्तै कुरा हो ।

१५
रु.१०,००० - १५,०००

जुत्ता सिलाउने

४५ वर्ष

मेरो परिवारका सबैजना गाउँमा बस्नुहुन्छ । हरेक महिना म ८–१० हजार रुपैयाँजति घरखर्च पठाउँछु । कमाइ नभएको बेला भने साथीहरूसँग सापटी मागेर पठाउँछु । म साथीहरूसँग मिलेर डेरामा बस्छु । घरमा पैसा पठाएपछि बाँकी रकम खानबस्नमै सकिन्छ । अहिले झन् महँगीले खर्च धान्न गाह्रो भएको छ ।