१६५ क्षेत्रमा समानुपातिक मत : पुराना दलको जगै भासियो

कांग्रेसले १४६, एमालेले १३८ र नेकपाले ११५ क्षेत्रमा प्रत्यक्षमा भन्दा समानुपातिकमा कम मत पाए

फाल्गुन ३०, २०८२

तुफान न्यौपाने

Proportional voting in 165 constituencies: The foundations of old parties have been destroyed

What you should know

काठमाडौँ — आमनिर्वाचनको परिणाम हेर्दा सतहमा देखिन्छ– रास्वपाले प्रत्यक्षतर्फका १६५ मध्ये १२५ सिट जित्यो, कांग्रेस, एमाले र नेकपाले जितेको सिट जोड्दा पनि ३५ मा सीमित भयो । तर समानुपातिकतर्फको नतिजालाई १६५ निर्वाचन क्षेत्रमा हेर्दा अर्को स्पष्ट चित्र देखिन्छ– पुराना राजनीतिक दलले प्रत्यक्षतर्फ सिट गुमाएका मात्रै छैनन्, उनीहरूको दलीय जग नै भत्किएको छ ।

२१ फागुनमा भएको निर्वाचनमा हरेक मतदाताले दुईवटा मत खसालेका थिए । एउटा मतपत्रले आफ्नो क्षेत्रबाट सिंहदरबार जाने प्रतिनिधि छानेका थिए भने अर्कोबाट राष्ट्रियस्तरमा आफूलाई मन पर्ने पार्टी रोजेका थिए । आफ्नो क्षेत्रको उम्मेदवारलाई मत दिने प्रणालीमा उम्मेदवारको व्यक्तित्व, स्थानीयस्तरमा उसको सक्रियता, सामुदायिक प्रभाव जस्ता कारणबाट उनीहरूको मत परेको हुन्छ भने समानुपातिक मतले नै मतदाताले रोजेको दलको तस्बिर देखाउँछ ।

प्रत्यक्ष र समानुपातिक प्रणालीमा दलहरूले हरेक निर्वाचन क्षेत्रमा पाएको मतलाई एक ठाउँमा राख्दा के देखिन्छ भने कांग्रेस, एमाले र नेकपाको मत पार्टीको जगमा कम, उम्मेदवारको बलमा ज्यादा रहेछ । उदाहरणका लागि १६५ मध्ये १४६ निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवारले प्रत्यक्षमा पाएको मत त्यहाँ उक्त पार्टीले समानुपातिकमा पाएको मतभन्दा बढी छ ।

अर्थात् करिब ९० प्रतिशत क्षेत्रमा कांग्रेसका उम्मेदवार पार्टीभन्दा लोकप्रिय देखिए । त्यसको प्रभाव– राष्ट्रियस्तरमा कांग्रेसले प्रत्यक्षमा पाएको मतको १२ प्रतिशतभन्दा बढी (दुई लाख ५० हजार) मत समानुपातिकमा गुमायो । कांग्रेसका उम्मेदवारलाई भोट दिने १०० मतदातामध्ये १२ जनाले समानुपातिकमा अर्कै पार्टीलाई भोट दिए ।

एमालेको पनि त्यही हाल छ । १३८ निर्वाचन क्षेत्रमा एमाले उम्मेदवारले पार्टीको भन्दा बढी मत पाए । देशका ८० प्रतिशतभन्दा बढी क्षेत्रमा एमालेको पार्टीगत जग उसको उम्मेदवारको लोकप्रियताभन्दा कम देखियो । त्यसको प्रभाव उसका उम्मेदवारले पाएको कुल मतभन्दा समानुपातिकमा करिब १० प्रतिशत (एक लाख ७० हजार) मत कम आयो । अर्थात् एमालेका उम्मेदवारलाई भोट दिने १० मध्ये एक मतदाताले उक्त पार्टीलाई समानुपातिकमा भोट दिएनन् ।

नेकपाले ११५ निर्वाचन क्षेत्रमा उम्मेदवारभन्दा समानुपातिकमा कम मत ल्यायो । समग्रमा उसले प्रत्यक्षमा प्राप्त मतको करिब १७ प्रतिशत (एक लाख ६५ हजार मत) गुमायो । अर्थात् नेकपाका उम्मेदवारलाई भोट दिने हरेक ६ मध्ये एक मतदाताले उक्त पार्टीलाई समानुपातिकमा भोट दिएनन् ।

यी तीन दलले प्रत्यक्षमा आफ्ना उम्मेदवारले पाएभन्दा समानुपातिकमा करिब ६ लाख मत गुमाए । त्यो मत रास्वपा र श्रमशक्ति पार्टीमा बाँडिएको तथ्यांकले देखाउँछ । रास्वपाले १६५ मध्ये १५३ क्षेत्रमा आफ्ना उम्मेदवारले भन्दा समानुपातिकमा बढी मत ल्यायो । समग्रमा रास्वपाले आफ्ना उम्मेदवारले देशभर पाएभन्दा करिब साढे ५ लाखभन्दा बढी मत समानुपातिकतर्फ तान्यो । धेरै निर्वाचन क्षेत्रमा प्रत्यक्षमा रास्वपाका उम्मेदवारलाई मत नदिएका मतदाताले पनि समानुपातिकमा उसैलाई दिए ।

रास्वपा आफूले प्रत्यक्षमा जितेका सबै १२५ निर्वाचन क्षेत्रमै समानुपातिकमा पनि पहिलो भयो भने आफ्ना उम्मेदवारले प्रत्यक्षतर्फ जित्न नसकेका थप १० क्षेत्रमा पनि समानुपातिकमा रास्वपा पहिलो भयो । सिन्धुपाल्चोक–२ मा नेकपाका उम्मेदवारले जिते तर त्यहाँ रास्वपा समानुपातिकमा करिब १३ हजार मतले पहिलो भयो । कपिलवस्तु–३ र पाल्पा–१ मा कांग्रेस उम्मेदवारले जिते तर रास्वपा समानुपातिकमा क्रमशः १२ हजार र साढे ६ हजार मतान्तरले पहिलो दल बन्यो ।

भोजपुर, खोटाङ र सुनसरी–१ गरी प्रत्यक्षमा तीन निर्वाचन क्षेत्र जितेको श्रम संस्कृति पार्टी थप तीन क्षेत्र (इलाम–१ र २ तथा पाँचथर) मा समानुपातिकतर्फ पहिलो बन्यो । इलाम–१ र पाँचथरमा कांग्रेसका तथा इलाम–२ मा एमालेका उम्मेदवारले प्रत्यक्षमा जितेका थिए ।

प्रत्यक्षतर्फ आफ्ना उम्मेदवारले जितेका १८ क्षेत्रमध्ये सात वटामा कांग्रेस समानुपातिकमा पहिलो हुन सकेन । दैलेख–१, कपिलवस्तु–३, पाल्पा–१ र रौतहट–२ मा कांग्रेसका उम्मेदवार विजयी भए तर त्यहाँ मतदाताको पार्टी प्राथमिकता रास्वपा पर्‍यो । तेह्रथुममा प्रत्यक्षबाट कांग्रेसका उम्मेदवारले चुनाव जिते तर समानुपातिकमा पहिलो मत एमालेको छ । प्रत्यक्षमा कांग्रेसले जितेका इलाम–१ र पाँचथरमा मतदाताले समानुपातिकमा श्रम संस्कृतिलाई रोजे । एमालेका उम्मेदवारले जितेका ९ मध्ये दुई वटामा र नेकपाका उम्मेदवारले जितेका ८ मध्ये चार वटा निर्वाचन क्षेत्रमा मतदाताको पार्टी प्राथमिकता अर्कै छ ।

एमालेले प्रत्यक्षतर्फ जितेका ९ मध्ये ४ क्षेत्रमा समानुपातिकमा पहिलो हुन सकेन । उसले प्रत्यक्ष जितेका बाँके–२ र संखुवासभामा रास्वपा, इलाम–२ मा श्रम संस्कृति पार्टी र अछाम–२ कांग्रेस समानुपातिकतर्फ पहिलो पार्टी भए । यस्तै, नेकपा प्रत्यक्षतर्फ जितेका आठमध्ये चार क्षेत्रमा मात्रै समानुपातिकमा पनि पहिलो बन्न सक्यो । सिन्धुपाल्चोक–२, सल्यान–१ र धनुषा–१ मा रास्वपा तथा डोल्पामा एमालेले समानुपातिकमा पहिलो हुनबाट नेकपालाई रोके । 

Proportional voting in 165 constituencies: The foundations of old parties have been destroyed

विश्लेषक चन्द्र किशोर मधेशका मतदातासँग आफूले निर्वाचनअघि गरेको संवाद सम्झँदै भन्छन्, ‘यो पुराना पार्टीका कार्यकर्ताले आफ्नै पार्टी र त्यसको नेतृत्वसँग आजित भएर उनीहरूविरुद्ध गरेको विद्रोह हो । ती पार्टीहरूले समानुपातिकतर्फ थुप्रै जिल्लामा आफ्ना सक्रिय कार्यकर्ताको संख्याभन्दा पनि कम भोट पाएका छन् ।’ उनले पार्टी नेतृत्वप्रति असन्तुष्ट कार्यकर्ताले प्रत्यक्षतर्फ आफ्नो क्षेत्रमा आफ्नै उम्मेदवारलाई भोट दिए पनि समानुपातिकतर्फ रास्वपालाई रोजेको बताए ।

काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक तथ्यांकशास्त्री बालकृष्ण खड्का यस्तो तथ्यांकले प्रत्यक्षमा भोट दिन नसक्ने मतदाताले पनि बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाइछाड्ने सोचसहित समानुपातिकमा रास्वपालाई रोजेको देखाउने बताउँछन् । ‘एक भोट बालेनलाई भन्ने लहर नै चलेको थियो, त्यो त्यसैको प्रभाव हो,’ उनले भने ।  

सेयरकास्ट नेपालका अध्यक्ष मधु आचार्यले केहीअघि कान्तिपुरसँगको समन्वयमा गरेको सर्वेक्षणको नतिजालाई सन्दर्भमा राख्दै भने, ‘देशका ५४ प्रतिशत मतदाताले आफूहरूलाई कुनै पनि दलप्रति भरोसा नभएको बताएका थिए । कुनै न कुनै पार्टीप्रति भरोसा भएको बताउने ४६ प्रतिशतमध्ये पनि आधाले रास्वपा रोजेका थिए ।’ उनले थपे, ‘पुराना तीन दलको समानुपातिक मत प्रत्यक्षमा भन्दा कम आउनु र रास्वपाको बढी आउनुका पछाडिको रहस्य आफूलाई कुनै पनि दलसँग भरोसा नरहेको बताउने ५४ प्रतिशतभित्र लुकेको छ ।’

आचार्यले यसको राजनीतिक कारण पनि औंल्याए । ‘केपी ओली, प्रचण्ड र गगन थपा चुनाव प्रचारमा आफ्नो निर्वाचन क्षेत्रमा सीमित रहेका थिए, जबकि रास्वपाले देशैभर सभा गर्‍यो,’ उनले भने, ‘त्यसको प्रभाव निर्वाचनको नतिजामा देखिएको हो ।’

राजनीतिक विश्लेषक इन्द्र अधिकारीले कांग्रेस, एमाले र नेकपालाई भोट दिँदै आएका मतदाताले यस पटक समानुपातिकमा रास्वपालाई रोज्दा यस्तो परिणाम आएको बताइन् । ‘मतदाताले आस्थाको पार्टीभन्दा पनि हिजोको खराब परिस्थितिका लागि आफ्नै पार्टीलाई जवाफदेही बनाउने बाटो रोजेको देखिन्छ ।’

बालेन्द्र शाहको व्यक्तित्वको ‘क्रेज’ ले पनि रास्वपाको समानुपातिकतर्फको मत बढाएको अधिकारीले बताइन् । ‘चुपचाप घण्टी छाप भन्ने नाराका कारण अन्य पार्टीका प्रतिबद्ध भनिएका कार्यकर्ताले पनि सुटुक्क समानुपातिकमा घण्टीलाई रोजे,’ उनले भनिन् ।

त्रिविको दक्षिण एसियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक मृगेन्द्र कार्की चुनावअघि मधेश र कोशी प्रदेशमा स्थलगत अध्ययन र सर्वेक्षणका लागि पुगेका थिए । उनको विचारमा ‘२०४७ पछि शासन गरेका दलहरू अहिलेको परिस्थितिका लागि जिम्मेवार छन्’ भन्ने भाष्य बनाइएको र त्यसप्रतिको असन्तुष्टि जेन–जी आन्दोलनमा मुखरित भएपछि मतदाताले ‘नयाँ’ लाई रोज्न पुगेका हुन् । ‘हिजो युरोप–अमेरिका जानेहरूको रोजाइ कांग्रेस र खाडी जानेहरूको रोजाइ वामपन्थी दलहरू थिए,’ उनले भने, ‘अहिले एकै पटक यी दुवै खाले मतदाताले रास्वपालाई रोजे । एक पटक नयाँलाई मौका दिने हो भने ।’

कार्कीको विचारमा पूर्वका मतदाताले श्रम संस्कृति पार्टीलाई नयाँ माने भने अन्य भागका मतदाताले रास्वपालाई । ‘मधेशमा पहिलो पटक मधेशी प्रधानमन्त्री बन्ने सम्भावना छ भन्ने कुराले तान्यो,’ उनले भने ।

तुफान न्यौपाने कान्तिपुर दैनिकमा राजनीति, न्याय प्रणाली तथा सुशासनसम्बन्धी रिपोर्टिङ गर्छन् ।

Link copied successfully