जलनपीडितमा मलहम भर्नेकी आमा

आगो र एसिडबाट जल्नेहरूले जसरी आफ्नो घाउ बिर्सन सक्दैनन्, त्यसरी नै त्यो घाउमा मलहम लगाउन हिँडेका उज्ज्वललाई बिर्सन सक्दैनन् । भावना साँघुरिँदै गएको सहरमा करुणा रसले भरिएका उज्ज्वलभित्र यो हृदय कहाँबाट आयो ? उनी लामो नसोची फ्याट्टै भन्न सक्छन्– पक्कै आमाबाट !

श्रावण ६, २०८२

समर्पण श्री

The mother of the burn victim

What you should know

काठमाडौँ — जलनको पीडा खेपिरहेकाहरूका जीवनमा ऊनी मलह बन्ने प्रयास गर्छन् । त्यो मलहम साथ, सहयोग र मायाको हुन सक्छ । प्रायःजसो अस्पतालमै दिनचर्या बिताउने उज्ज्वलविक्रम थापा धेरैका आँखामा कहिल्यै नबिझाउने गरी बसेका छन् ।

आगो र एसिडबाट जल्नेहरूले जसरी आफ्नो घाउ बिर्सन सक्दैनन्, त्यसरी नै त्यो घाउमा मलहम लगाउन हिँडेका उज्ज्वललाई बिर्सन सक्दैनन् । भावना साँघुरिँदै गएको सहरमा करुणाले भरिएका ५६ वर्षका उज्ज्वलभित्र यो हृदय कहाँबाट आयो ? बानेश्वरको एक क्याफेमा बसेर गमिरहेका उनी निर्क्यौल गर्छन्– पक्कै आमाबाट !

८७ वर्षकी उर्मिला थापाका करुणाभाव उनका सन्तानमा पनि प्रवाहित भयो । उज्ज्वल उतिबेला उदास अनुहार लिएर घरमा आएका महिलाहरूलाई आमाले दिएका सान्त्वना स्मृतिको आँखीझ्यालबाट चिहाइरहन्छन् । उनी भन्थिन्, ‘केही पनि सहयोग गर्न सक्दैनौ भने १० मिनेट उसका कुरा सुनिदेऊ, मन हलुका हुन्छ ।’

अहिले अस्पतालका शय्याहरूमा पीडा बोकेर आउने कतिपयका मन त उज्ज्वलका कुरा सुनेरै हल्का हुन्छन् । हामीसँग संवाद गरिरहँदा पनि उज्ज्वलका फोनमा याचनाका घण्टी बज्न छाडेका थिएनन् । उनी हरेक फोन उठाउँथे र त्यसपछि आफ्नो प्रयत्न गर्थे । जलेर दुवै हात गुमाएका कालीकोटका एक बालकको उपचारपश्चात् किनमेल गरिदिएर उनी कुराकानीका लागि आइपुगेका थिए । मानव सेवाको दौडधूपबाट केही समय झिकेर आएका उज्ज्वलले कुराकानीका क्रममा केही पश्चात्ताप साटे, ‘मैले जलन क्षेत्रमा लागेर कति मान्छे बचाएँ, त्यो त बिर्सिएँ । तर मरेको मान्छे एउटा पनि बिर्सेको छैन ।’ उनलाई लागिरहँदो रहेछ, ‘मैले थप प्रयत्न गर्न सकेको भए बाँच्थे कि !’ 

उज्ज्वलले थुप्रै पटक रुँदै अस्पताल आएका आमा र हाँस्दै फर्केका आमाहरू देखेका छन् । कति आमाहरू हाँसो हराएर फर्केका पनि देखेका छन् । ती अनुहारमा उनी आफ्ना आमाहरू देख्छन् । उज्ज्वलको जीवनमा दुई आमाका हक बरोबर छन् । उर्मिला आमा र सीता आमा । उर्मिलाले जन्म दिइन् । हुर्काउने जिम्मेवारी भने धाइआमा सीता धितालले बोकिन् । ‘मैले आमा भन्नासाथ दुवैको नाम एकसाथ लिइनँ भने अन्याय हुन्छ,’ उनी भन्छन् । कमलपोखरीस्थित घरमा उज्ज्वल जन्मनुभन्दा दुई वर्षअगाडि सानो छोरीसँग घर भित्रिएकी थिइन् सीता । उनी कसरी आइपुगेकी थिइन् भन्नेबारे कहिल्यै सोधेनन् उज्ज्वलले । 

The mother of the burn victimसीता आमा आएको दिनदेखि घरको भान्सा उनकै जिम्मामा पर्‍यो । ‘म उर्मिला आमाको खाना मिस गर्दिनँ, तर सीता आमाको गर्छु,’ उज्ज्वल सुनाउँछन् । माया त उज्ज्वलले दुवै आमाहरूको उत्तिकै पाए, कुटाइ पनि दुवै आमाबाट उत्तिकै खाए । ‘सुरुमा त जन्मदिने आमा नै सीता आमाजस्तो लाग्थ्यो । पछि बुझ्ने भएपछि थाहा पाएँ,’ उज्ज्वल सम्झन्छन् । कुन सन्तानलाई के मनपर्छ, त्यो सीता आमालाई मात्र थाहा हुन्थ्यो । उज्ज्वललाई दही र दुध असाध्यै मनपर्थ्यो । आमाले उनकै लागि लुकाएरै भए पनि छुट्याइदिन्थिन् । अहिले पनि सीता आमा थैलीमा जतनले राखेका पैसा दिन खोज्छिन् । 

सीता आमा पनि ८७ वर्ष लागिन् । अहिले पनि सन्तानको गन्तीमा उनी छोरी भगवतीलाई मात्र राख्दिनन् । उज्ज्वलसँगै उनका भाइ र दुई दिदीबहिनी पनि उनका सन्तानको सूचीमा पर्छन् । ६० वर्षदेखि उर्मिला र सीता सँगै छन् । एकले अर्कालाई कहिल्यै टाढाको महसुस गरेनन्, एकअर्कामा झगडा पनि गरे, माया पनि पोखे । ‘आजको दिनमा पनि एउटै टीभी च्यानल र टेलिसिरियल उहाँहरूको रोजाइमा पर्छ,’ उज्ज्वल सुनाउँछन् ।

आमाहरूका लागि सन्तान कहिल्यै ठूलो हुँदैनन् । र, उनीहरूको चिन्तामा सन्तान सधैं भोका हुन्छन् । यतिका उमेर पुगिसक्दा पनि सुरुमा सोध्ने एउटै कुरा हुन्छ, ‘खाना खाइस् ?’ उज्ज्वलाई लाग्छ, ‘आमाहरूको यो वाक्यचाहिँ कहिल्यै फेरिन्न ।’

आमा उर्मिलाले भारतमा विज्ञानमा स्नातक गरेकी हुन् । उर्मिलाका बाको साडीको व्यापार थियो । व्यावसायिक घरानामा जन्मिएकी उर्मिलालाई भौतिक अभावको महसुस कहिल्यै भएन । तर पनि उनको अनुशासन र सरलताले कहिल्यै डेग चालेन । आमा सम्झनासाथ उज्ज्वलको मस्तिष्कमा उही सेतो कपाल, खिइएको चप्पल र सुतीको साडी पहिरिएकी उर्मिलाको आकृति आउँछ । सहरमा कपडाका प्रशस्त पसल थिए ।

तर आमाले कहिल्यै कपडा किनेर लगाइदिइनन् । कारण उनी परिवारलाई चाहिने कपडा आफैं सिउँथिन् । ‘मेरो बाल्यकालको जम्मै फोटो हेर्ने हो भने कि धर्के हुन्छ कि चेक,’ उज्ज्वल सुनाउँछन् । अहिले पनि उर्मिलाको बेडरुममा लुगा सिलाउने मेसिन थन्किबसेको छ । उज्ज्वल आफ्नो पहिरनमा पनि आमाका गुण सरेको ठान्छन् । ‘मलाई अहिले पनि कुनै कपडा र महँगा सामानको सोख छैन,’ उनी भन्छन् । आमा गीत गाउँथिन्, हार्मोनियम र तबलाहरू बजाउँथिन् । अहिले पनि आमाका तखतामा साक्षी बसेका पुस्तक र क्यासेटहरू प्रशस्तै छन् ।

आमाको मनमा केही कुरा अझै पनि खड्किरहेजस्तो लाग्छ, उज्ज्वललाई । उतिबेला विज्ञानमा स्नातक गरेकी आमाका साथीहरू कोही नेपाल सरकारका सचिव भएर रिटायर्ड भए, कोही डाक्टर भए । उतिबेला मेडिकल पढ्ने रुचि हुँदा पनि बिहेपछि उज्ज्वलका बा मोहनविक्रमले रोकेका रहेछन् । ‘यहाँको कारण म डाक्टर बन्न पाइनँ,’ आमाले बालाई बेलाबेला गुनासो गरेको उज्ज्वल सुन्थे । पुरुषप्रधान समाजका प्रभावले होला, बा ठाँटसहित भन्थे, ‘तिमी डाक्टरै भए पनि यो जीवनशैलीभन्दा राम्रो के हुन्थ्यो र ?’ अहिले पनि आमाले कलेज पढ्दाका कापीहरू उज्ज्वल भेट्टाउँछन् । पल्टाउँदा देख्छन्, ‘बायोलोजीको डायग्राम हेर्दा हाम्रो भन्दा धेरै राम्रो । अक्षर पनि उस्तै सुन्दर ।’ आमालाई पढेर पनि उपयोग गर्न नपाएको कुरा बिझाइरह्यो कि भन्ने कहीँ कतै लागिरहन्छ उज्ज्वललाई ।

उर्मिलाले सन्तानलाई कहिल्यै पनि परीक्षाको अंकमा फोकस गर्न लगाइनन् । बरु उनीहरूको रुचि र चाहनाको सधैं कदर गरिरहिन् । बाको पनि यसमा धारणा आमासँग मिल्थ्यो । त्रि–चन्द्रबाट बीएसस्सी गरेका मोहनविक्रमले देहरादून कलेजमा फरेस्ट्री पढेका थिए । उनी रिटायर्ड हुनुअघि वन विभागमा चिफ कन्जरभेटर थिए । रिटायर्ड जीवन उनले व्यवहारमा लगानी गरे । बाले पनि आमाले झैं भनिरहन्थे, ‘आफूले कमाएको डिग्री एक दिन गएर भित्तामा टाँसिन्छ । बाँकी आफ्नो व्यवहार र संस्कारमा ध्यान दिनुपर्छ । पछि बिक्री हुने त्यही मात्र हो ।’

The mother of the burn victimउज्ज्वल सानोमा आमालार्ई धेरै पछ्याउँथे । १० वर्षको उमेरमा उनलाई भारतको नैनीतालमा पढाउन आमाले साथ लिएर गइन् । त्यहाँ होस्टल बस्नुपर्थ्यो । तर आमाबिना एक्लै रहन कहाँ सक्थे र ! ‘म ६ दिनको दिन बोर्डिङ स्कुलबाट भागेर आमा खोज्दै हिँडे, धन्न भेट्टाएँ । मैले मान्दै नमानेपछि आमाले फर्काएर घर ल्याउनुभयो,’ उज्ज्वल बाल्यकालीन दिन सम्झन्छन् । सन्तान आफूबाट टाढिएको हेर्ने रहर कुन आमाको होला र ! तैपनि स्वर्णिम भविष्यका लागि पनि उनीहरूले सन्तानको अध्ययनमा लगानी गर्न पछि परेनन् । उनी पुनः होस्टल पुर्‍याइए । ७ कक्षा पुग्दासम्म पनि उज्ज्वल हरदिन आमा सम्झेर रुन्थे । औपचारिक अध्ययनमा इलेक्ट्रोनिक कम्युनिकेसनमा स्नातक गरे उनले । 

उज्ज्वललाई सानो हुँदाको काठमाडौं र बाल्यकालीन दृश्यहरू स्मृतिमा अझै ताजा छ । कमलपोखरीमा उनीहरूको १३ रोपनी जग्गा थियो । तीनवटा घर थिए । उनी जन्मनुअघि नै बाले ९० सीसीको मोटरसाइकल किनेका थिए । उनलाई जन्माउने बेलामा बाले आमालाई प्रसूति गृहमा त्यही मोटरसाइकलमा हालेर लगेको कुरा उनले सुनेका थिए । त्यो मोटरसाइकल अहिले पनि छ । थन्किएको पुरानो मोटरसाइकलले उनलाई ती समयका यादहरू ताजा गराउँछ ।

त्यतिबेला काठमाडौंमा बाँचेको जीवन अहिले सम्झँदा लाग्छ, ‘त्यो त ग्रामीण जीवन थियो ।’ काठमाडौंका फाँटहरूमा दौडेको र साइकल कुदाएका क्षणहरू अहिले पनि सम्झनामा बाँचेका छन् । पुर्ख्यौली थलो सिन्धुली भएकाले सिन्धुलीवासीहरूमा विशेष प्रेम थियो, मोहनविक्रमलाई । ‘हाम्रो तीनवटा घरमध्ये दुइटा त सिन्धुलीबाट काठमाडौं आउनेहरूकै लागि थिए,’ उज्ज्वल सम्झन्छन् । त्यतिबेला गाउँबाट सहर आउनेहरूका निम्ति काठमाडौं बिरानो थियो । सिन्धुलीबाट कोही उपचार गराउन आउँथे, कोही पढ्नका लागि आउँथे । जो जे काम गरेर आयो, मोहनविक्रमका ढोका उनीहरूका लागि सधैं खुला हुन्थे । 

बाले सिन्धुलीवासीहरूमा देखाएको प्रेमले उज्ज्वललाई पनि उत्प्रेरित गर्‍यो । उनी आफ्नो पढाइ सकेर घर आउँदा निःशुल्क अंग्रेजी सिकाउँथे । बाले त्यहाँ आउनेहरूलाई सकेको सहयोग गर्न आदेश दिन्थे । उज्ज्वल दत्तचित्तले गर्थे । उसो त सानैदेखि उनमा समाज–सेवाभाव पलाएको थियो । आमा अहिले पनि भन्छिन्, ‘त्यो त तेरो सानैदेखिको बानी हो ।’ उनी बाको कोटबाट पैसाको मुठो निकाल्थे र बाटामा बसेर दुःखी गरिबहरूलाई बाँड्थे । यता आमाले सिन्धुलीबाट आएका महिलाहरूलाई गरेको प्रेम र सद्भावको छाप पनि उनलाई सानैदेखि पर्‍यो । अहिले अस्पताल वरिपरि भइरहँदा पनि उनलाई समय बदलिए पनि दुःखहरू नबदलिएको भान हुन्छ । ‘मानवको कष्टचाहिँ पाँच दशकमा पनि फेरिन्न रहेछ,’ उनी अनुभूति साट्छन् । हिजो महिलाहरूका गाउँमा जे दुःख थिए, अहिले पनि अस्पतालमा उनी तिनै दुःखहरू सुन्छन् ।

आमाले दुःख भोगिनन् तर दुःख बुझिन् । ग्रामीण महिलाहरूको दुःखलाई आत्मसात् गरिन् । सायद तिनै प्रभावले पनि होला आमाभित्र सधैं एउटा साधारण मान्छे बाँचिरह्यो । १५ वर्षसम्म उर्मिलाले एउटै ह्यान्डब्याग बोकिन् । एउटा छोरालाई सधैं पछ्याइरहने परिचित गन्ध पनि उज्ज्वल सम्झन्छन् । उर्मिला एउटा कालो बट्टाभित्र सुपारी राख्थिन् । र, सुपारीभित्र रजनीगन्धा हाल्थिन् ।

अहिले त उर्मिलाले रजनीगन्धा छाडिसकिन् । तर त्यो गन्ध आउनासाथ उज्ज्वल आमालाई सम्झिहाल्छन् । एक पटक उनी उडिरहेको जहाजभित्र थिए, सिटमा बसिरहेको बेला अचानक रजनीगन्धाको वासना चल्यो, उनले आमा सम्झन पुगेछन् । उनी उठेर भारतीय नागरिक भएतर्फ गए र सोधे, ‘तपाईंले रजनीगन्धा खानुभएको हो ?’ ती भारतीय नागरिकले ‘हो’ भने । उनले दुई पिस रजनीगन्धा मागेर मुखमा च्यापे अनि सिटमा आएर बसे । रजनीगन्धा मात्र हैन, आमाले घिउ खारेको सुगन्ध पनि उनलाई असाध्यै प्यारो लाग्थ्यो ।

The mother of the burn victim

उज्ज्वलका बा १२ वर्षअघि बिते । बा बितेपछि केही वर्ष त आमालाई पीडा भइरह्यो । बिस्तारै आमाले आफूलाई लयमा ल्याइन् । उर्मिलाको समयतालिका छ । उनको स्वास्थ्यमाथि चिन्ता नजाउँदै डाक्रटले नै सुझाउँदा पनि उनी आफ्नो तालिका परिवर्तन गर्दिनन् । ‘पूजा गर्ने बेलामा नांगो खुट्टा हिँड्नैपर्छ, चिसो पानीले नुहाउनै पर्छ,’ उज्ज्वल परिवर्तन नहुने आमाका तालिकाबारे भन्छन् । बिहानै चार बजे आमा उठेको देखेर उज्ज्वल बेलाबेला भनिरहन्छन्, ‘यति छिटो उठेर किन पूजा गर्नुपर्‍यो ? सुत्नुस् न ।’ जवाफमा उज्ज्वलले आमाका गाली पाउँछन् । ‘गालीचाहिँ सानो हुँदा होस् वा ठूलो, आमाले उस्तै किसिमले गर्ने,’ उज्ज्वल हाँस्छन् ।

उज्ज्वलको स्वभावमा बा र आमा दुवै मिसिए । त्यही स्वभावमा अहिले उनका कामहरू देखिन्छन् । उनी बा र आमाले झैं हरेक मानिसलाई झकझकाउँछन्, ‘तपाईंले नसक्ने काम के छ र ?’ कमजोरलाई झन् कमजोर बनाउने समाजमा उनी निराश हृदयहरूमा दीप भर्न चाहन्छन् । जलेका शरीर मात्र हैन, मनमा पनि शीतलता छर्न चाहन्छन् । सायद, आमा उर्मिला पनि छोराको यही कर्ममा त खुसी छिन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully