२०५३ देखि विद्यार्थी राजनीतिमा सक्रिय महेश २०७९ को प्रतिनिधिसभा चुनावमा मकवानपुर–२ बाट विजयी भए । उनको राजनीतिक यात्रामा आमा सधैं दाहिने भइन् । टाढा–टाढासम्म कार्यक्रममा जानुपर्दा पनि कहिल्यै रोकिनन् ।
काठमाडौँ — संसारमा कसैसँग तुलना नै नहुने कुरा के होला ? एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला भन्छन्, ‘आमाको माया ।’ स्मृतिमा विचरण गरिरहँदा सन्तानका लागि आमाले गरेका त्यागका शृङ्खला महेश सम्झन्छन् ।
‘र, त्यो आज पर्यन्त छ,’ हृदयको अन्तरआवाज सुनाउँदै उनी आफैंलाई प्रश्न गर्छन्, ‘आमाको स्नेहभन्दा माथि कुनै उचाइ होला र ?’
आमाले त्यतिबेलाबाट गुमाउन सुरु गरिन्, जतिबेला संसारकै सबैभन्दा विशाल कुरा प्राप्त गरेको महसुस गरिन् । आमाले महसुस गरेका ती विशाल कुराहरू के थिए ? ‘रमेश, दिनेश, उमेश, महेश र नरेश,’ उनी आफूसहित पाँच भाइहरूका नाम लिन्छन् । सानुमाया बर्तौला आफ्ना छोराहरूलाई सुनाउँथिन् प्रसव पीडाका कथा । सुनाउँथिन् त्यो घनघोर पीडापछिको प्राप्ति र त्यसले दिएको तृप्ति ।
दाइ रमेश जन्मिनुअघि परिवार र समाजका लागि आमाको स्वास्थ्यभन्दा बढी चासो र चिन्ता थियो, ‘छोरा हो कि छोरी भनेर ?’ जागिरे महेशका बा त्यसबेला घरबाहिर थिए । सानुमायाले कसैको सहायताबिनै असह्य प्रसव पीडा सहिन् र जन्माइन् पहिलो छोरा रमेश । रमेश जन्मेपछि सबैको अनुहार उज्यालियो । ‘छोरा जन्मियो, भाग्यमानी रहेछ,’ महेश त्यतिबेलाको सामाजिक मनोविज्ञान उधिन्छन् ।
मकवानपुरको नामटारमा २०१६ मा जन्मिइन् सानुमाया । उनको विवाह नामटारकै गोविन्द बर्तौलासँग भयो । बिहेपछि सखारै ३ बजे उठ्नु, घर पोत्नु र आँगनमा घाम पर्नुअघिसम्म घरधन्दा सक्ने दिनचर्या थियो उनको । साधारण लेखपढ गरेकी थिइन् । गोविन्दले भने एसएलसी पास गरेका थिए, उनी शिक्षण पेसामा थिए । त्यो जागिर पनि २०३९ मा गुम्न पुग्यो । त्यही वर्ष उनलाई नजिकका नातेदारले प्रधानपञ्चमा उठ्न हौस्याए । गोविन्द चुनावमा होमिए । ‘तर जसले हौस्याएर बुबा चुनावमा उठ्नुभयो, उम्मेदवारी दर्ता गर्ने दिन बुबालाई हौस्याउने व्यक्ति पनि उहाँको प्रतिस्पर्धीर् भएर उठ्नुभयो,’ महेश सुनाउँछन् ।
महेशका अनुसार ठूलाबा नाता पर्ने ती व्यक्तिले बालाई उम्मेदवारी दर्ता गर्ने बेलामा भनेका थिए, ‘बाबु मलाई सबैको दबाब आयो । जसले जिते पनि दाजुभाइले नै जित्ने हो । अब हामी प्रतिस्पर्धा गरौं ।’ चुनावमा गोविन्दले झिनो मतले हारे । न जागिर, न राजनीति । लामो समयसम्म उनी निराश भए । ‘बहुदलपछि भने फेरि बुबाले जागिर ज्वाइन गर्नुभयो,’ महेश सुनाउँछन् ।
जागिरे जीवनकै कारण गोविन्द बढीजसो घरबाहिर भए । घरको सबै भार सानुमायाको थाप्लोमा पर्यो । त्यसमाथि बच्चा जन्माउँदा त उनी जहिल्यै एक्लै पर्ने । २०४० मा महेश जन्मिने बेलामा पनि त्यस्तै भयो । ‘व्यथा लाग्दा ममी घरबाहिर हुनुहुन्थ्यो रे । घिस्रिँदै–घिस्रिँदै घरमा आउनुभयो रे । म जन्मेपछि सालनाल पनि आफैंले काट्नुभयो रे,’ उनी आमाले सुनाएका घटनाको बेलिबिस्तार लगाउँछन् । हस्पिटल जाने सुविधा पनि कहाँ थियो र ? महेशका पाँचै दाजुभाइ घरमै जन्मिए । कान्छो भाइ नरेश जन्मिँदा भने धूमिल स्मृति छ महेशलाई । त्यो दिन सानुमायाले जेठो छोरालाई भनिन्, ‘मलाई आज गाह्रो भएको छ । तिमी स्कुल नजाऊ ।’
बिहानैदेखि आमालाई गाह्रो भएको छोराहरूले चाल त पाएका थिए, तर के भएको भन्ने भेउ थिएन । बाँकी छोराहरूलाई भने सानुमायाले स्कुल पठाइन् । ‘हामी दिउँसो स्कुलबाट घर आउँदा सानो भाइ आमाको काँखमा थियो । दाइले ममीलाई ज्वानोको झोल खुवाइरहनुभएको थियो,’ महेश आफूलाई चमत्कारझैं लागिरहेको त्यो अनौठो दृश्यबारे सम्झिन्छन् ।
आमा जति मायालु थिइन्, उति नै कडा पनि । छोराहरूको बदमासीलाई रोक्ने आमाको एउटै कडी थियो, लट्ठी । लट्ठी बोकेर आमा पछिपछि, आफूहरू अघिअघि भएका थुप्रै दृश्य महेशलाई अहिले पनि ताजा छन् । एक पटक चार दाजुभाइ घरको बुइँगलमा खेल्दाखेल्दै झगडा गर्न थाले । थाहा पाएर रिसले चुर भएकी आमा हातमा लट्ठी बोकेर बुइँगल उक्लिइन् । आमाको पिटाइबाट जोगिन चारै जना बुइँगलबाट हाम फाले । तर, आमा रोकिइनन् । उनीहरू भागिरहे । आमाको रिस मत्थर भएपछि मात्र उनीहरू घर फर्किए ।
महेशका माइलो दाइ स्कुल जान भनेपछि सधैं अटेर गर्ने । आमा दाइलाई स्कुल पुर्याएर घर फर्किन्थिन् । घर पुग्दा त आफूले स्कुल पुर्याएको छोरा मस्तसँग आँगनमा खेलिरहेको हुन्थ्यो । आजित भएकी आमाले सिस्नु लगाएरै स्कुल लिएर गइन् । ‘त्यसरी स्कुलमा पढ्न अटेरी गर्ने दाइ आईकममा बोर्ड फर्स्ट भए । त्यसमा सबैभन्दा धेरै खुसी आमा नै हुनुभयो,’ महेश सम्झन्छन् ।
महेशचाहिँ सानुमायाले कम पिट्ने छोरामध्येमा पर्थे । उनी आमाले गर्ने घरका सारा धन्दाहरू गरिदिन्थे । उनी घर पोत्ने, खाना बनाउनेदेखि घाँस काट्ने र खेत जोत्नेसम्म घरका अधिकांश कामहरू गर्थे । तीजका बेलामा वरिपरिका आमाहरू माइत जान्थे । तर घरको कामले आमा जहिल्यै माइत जानबाट वञ्चित हुने । एक समयपछि आमाले गर्ने कामको जिम्मा आफूले लिएर महेशले मामाघर पठाउन थाले । ‘त्यही भएर हजुरबा–हजुरआमाले पनि साइँलो नातिका लागि विशेष केही पठाइदिनुहुन्थ्यो,’ महेश सम्झन्छन् । कान्छो भाइ हुर्काउन भने चार दाजुभाइले उत्तिकै सहायता गरे ।
सानैदेखि दाजुभाइहरू एउटा कुरामा निकै सचेत थिए, ‘आमालाई रुवाउनु हुन्न ।’ आमाको आँखामा आँसु देख्दा उनीहरूको मन बिझाउँथ्यो । एक पटक घरझगडा पर्दा बाले आमालाई हात लगाए । आमाले रुँदै महेश र माइलो दाइलाई मामाघर पठाइन् । महेश र दिनेश मामाघर पुगेर झगडाको बेलिबिस्तार लगाए । मामाघरको हजुरबा उनीहरूसँगै घर आए र बालाई झपारे । पाँच सन्तानलाई आमाको स्नेह बरोबर थियो । छोराहरू बुझ्दै गएपछि आमाका निम्ति साथीजस्तो भए । आमालाई धेरै माया गर्दा ‘तिमी’ सम्बोधन गर्थे । रिसाएको बेला भने ‘तपाईं’ सम्बोधन गर्थे । अहिले पनि त्यो सम्बोधन कायमै छ ।
एक्लो ज्यानले पाँच सन्तान हुर्काउनु सजिलो थिएन । तर सानुमायाले कहिल्यै आफूलाई भएको पीडा छोराहरूलाई सुनाइनन् । महेशलाई अझै पनि ती दिन सम्झना छ, ‘जतिबेला खाना खाने बेला भान्सामा कहिलेकाहीं भाग कम हुन्थ्यो । आमा पहिला छोराहरूलाई खुवाउनुहुन्थ्यो, बाँकी नरहँदा भोकै पनि बस्नुहुन्थ्यो । पाउने कुरा कहिल्यै नसोच्ने, सधैं गुमाउने मात्र । त्यो पनि छोराहरूका लागि ।’ आमाको यो असाधारण माया सम्झेर महेश चकित पर्छन् ।
महेशलगायत चार भाइलाई आमापछिको योगदान भने जेठो दाइ रमेशको रह्यो । सानैदेखि आमाका सारथी बने रमेश । एसएलसीअघिसम्म आमालाई जेठो छोराको खुब चिन्ता थियो । जेठो दाइ गाउँमा फाइटरजस्तै थिए । साथीहरूसँग उनी समूहमा फाइट खेल्थे । जुत्ताभित्र चक्कु बोकेर हिँड्थे । आमाले त्यो थाहा पाएर साफ झपारेको सम्झना छ, महेशलाई । तर बिस्तारै रमेशलाई घरको जेठो हुनुको बोधले थिच्दै गयो । दाइ अभिभावकजस्तो बन्न थाल्नुभयो । भाइहरूको जिम्मेवारी निर्वाह गर्नुपर्यो । दाइले राम्रो बाटो समात्नुभयो । अनि हामी पनि दाइकै बाटोमा हिँड्यौं,’ महेश सुनाउँछन् ।
एसएलसी दिनासाथ रमेश घरलाई सहायता हुन्छ भनेर जागिरका लागि इन्डियातिर हान्निए । तीन महिनाको अवधिमा केही रकम कमाएर ल्याए । एसएलसी पास भएपछि शिक्षण गर्न थालेका दाइ अहिलेसम्म विद्यार्थीहरूकै माझ रमाइरहेका छन् । दाइले जागिर खान थालेपछि भने घरको आर्थिक अवस्थामा परिवर्तन आउन थालेको थियो ।
महेशको विद्यार्थी राजनीतिको सुरुवात २०५३ मा कक्षा ७ पढ्दादेखि सुरु भएको थियो । त्यसअघि उनीभित्र राजनीतिक झिल्को बाल्ने काम दुई घटनाले गरेका थिए ।
‘थाहा’ अभियन्ता रूपचन्द्र विष्ट बेलाबेला उनकै घरछेउको बाटो हुँदै हिँड्थे । एकपल्ट स्कुलबाट घर फर्कंदै गर्दा बालक महेशलाई रूपचन्द्रले परबाट उनकै शैलीमा बोलाए, ‘ए भाते, यता आइजो ।’ महेश आज्ञाकारी छात्रझैं रूपचन्द्रको नजिक गए । स्कुले पोसाकमा रहेका महेशको सर्टको कलर हरियो थियो । मिरमिरे स्मृतिको झ्यालबाट उनी चियाउँछन्, ‘उहाँले सिम्रिक कलरको थाहा लेखेको छाप मेरो सर्टमा लगाइदिनुभयो र हिँड्नुभयो । त्यही ड्रेस लगाएर स्कुल गएपछि कक्षा शिक्षकले मुर्मुरिँदै गाली गर्दै भन्नुभयो– यो लगाएर भोलिबाट स्कुल आउने हैन ।’ घर गएर धुँदा पनि त्यो कलर गएन । नयाँ सर्ट किन्ने अवस्था पनि थिएन । शिक्षकको गाली खाएरै भए पनि उनी सर्टमा त्यो थाहाको छाप बोकेर स्कुल आउजाउ गरिरहे ।
२०५० जेठ ३ मा मदन भण्डारीको दासढुंगा दुर्घटनामा निधन भएको थियो । भण्डारीको मृत्युले सिंगो देश स्तब्ध थियो । उनको अस्तु सेलाउन त्यतिबेला हिरण्यलाल श्रेष्ठ हाते माइक गर्दै महेशको गाउँ पुगेका थिए । ‘उहाँको अस्तु सेलाउन पनि देशभरि लगिएको छ । उनको सम्मानमा यति धेरै मान्छे शोक मनाइरहेका छन् । नेता त यस्तो पो बन्नुपर्छ भन्ने लाग्यो,’ महेश सम्झन्छन् । पछि कक्षा ७ मा पढ्दा अनेरास्ववियुको संगठन बनाउन सिनियरहरू आएका थिए । त्यहाँ मदन भण्डारीको प्रशंसा गरेपछि महेशले सोचे, ‘मदन भण्डारीको पार्टी भए त लाग्छु ।’
त्यसपछि विद्यार्थी राजनीतिमा सक्रिय महेश क्याम्पस हुँदै केन्द्रीय अध्यक्षसमेत भए । २०७९ को प्रतिनिधिसभा चुनावमा मकवानपुर–२ बाट विजयी भए । महेशको राजनीतिक यात्रामा आमा सधैं दाहिने भइन् । टाढा–टाढासम्म कार्यक्रममा जानुपर्दा उनले कहिल्यै पनि रोकिनन् । बरु बिस्तारै स्थानीय पत्रिकाहरूमा छोराको नाम र फोटो छापिँदा भने फुरुङ्ग हुन थालिन् ।
महेशका दाइ दिनेश कलेजमा पढाइकै कारण चर्चित भए । सबैले उनलाई दिनेश बर्तौलाको भाइ भनेर चिन्थे । महेशलाई कताकता लाग्थ्यो, ‘म त आफ्नै नामले चिनिनुपर्छ ।’ उनको पढाइ मध्यम थियो । यद्यपि सामाजिक काम र राजनीतिक अभियानबाट भने आफूलाई चौतर्फी चिनाउँदै लगे । उनी कक्षा १२ पढ्दै गर्दा देशमा सशस्त्र युद्ध चलिरहेको थियो । त्यतिबेला युद्धविराम हुँदा उनी एक जना सहयात्रीसँग मेची–महाकाली साइकल यात्रामा हिँडे । यो अभियानको उद्देश्य थियो– युद्धविराम सफल बनाऔं । शान्तिको प्रचार गर्दै हिँडेको ६७ दिनको यात्रामा फेरि युद्धविराम भंग भएको खबर आयो । ‘त्यसबीचमा टेलिफोन पनि भएन, हामी घरपरिवारबाट बेखबर थियौं । हामी हरेक ठाउँ पुगे पनि रेडियो नेपालको सम्पर्कमा पुग्थ्यौं । रेडियोले समाचार बनाउँथ्यो,’ महेश सम्झन्छन् । त्यतिबेला घर पुग्दा चिन्तित मुद्रामा बसिरहेकी आमा छोरालाई देखेपछि अत्यन्तै खुसी भइन् । महेश सांसद बन्दा आमाको आँखामा सबैभन्दा खुसी महसुस गरेका थिए ।
अहिले पनि आमा छोराहरूलाई छिनछिनमा फोन गर्छिन् । काठमाडौं बाहिर जानुपर्यो भने महेश सधैं आमालाई जानकारी गराउँछन् । ‘म काठमाडौं बाहिर जाँदै छु भने हरेक छिन फोन आइहाल्छ । दिनमा चार पटकसम्म त कहाँ पुग्यौ, के खायौ भनेर सोध्नुहुन्छ,’ महेश सुनाउँछन् । महेश राजनीतिमा सक्रिय भएपछि बेला–बेलामा आलोचना र टिकाटिप्पणी पनि आउँछन् । आमालाई सबैभन्दा चिन्ता यही कुराको हुन्छ आजकल । ‘टीभीहरूमा कहिलेकाहीं आलोचना सुन्नुपर्यो भने उहाँ एकदम दुःखी हुनुहुन्छ । धन्न सामाजिक सञ्जालमा आएका कमेन्टहरू पढ्न जान्नुहुन्न । नत्र त अचेत नै हुनुहुन्थ्यो होला,’ महेश हाँस्दै भन्छन् ।
एक पटक बालाई त्यस्तै पर्यो । एउटा विषयमा बोल्दा अदालतका निर्णयविरुद्ध महेशले संसद्मा बोलेका थिए । उनीविरुद्ध मानहानिको मुद्दा पर्यो । ‘मेरो मुद्दाको म्याद तामेली हेटौंडामा भयो । संयोगवश म्याद बुझ्न बा जानुभएछ । सांसद भएर काठमाठौं पठाएको छोरालाई सर्वोच्चबाट मुद्दा । छोरा सिद्धियो भनेर आतिएका बा थचक्कै बस्नुभएछ । केहीबेर अचेतझैं हुनुभएछ,’ महेश प्रसंग जोड्छन् ।
महेशका पाँच दाजुभाइ सबै आ–आफ्ना क्षेत्रमा सक्रिय छन् । जेठा शिक्षक, माइलो दाइ हाइड्रो कम्पनीमा सीईओ, महेश सांसद, काइँलो जागिरे र कान्छो अमेरिकामा । आमा पाँचै छोराहरूलाई बारम्बार भनिरहन्छिन्, ‘बरु तिमीहरू पानी खाऊ, भोकै पेट बस । तर कुनै पनि ठाउँमा गलत हात लम्काउने काम नगर । बरु रित्तो गोजीमा पैदल हिँड । विलासिताका नाममा हद पार नगर ।’
महेश आमाको कुरालाई पाँचै भाइले शिरोपर गरेको ठान्छन् । जो जहाँ पुगे पनि, जति नै उचाइ लिए पनि आमाले नचाहेको बाटो कुनै दाजुभाइ नहिँडेको लाग्छ महेशलाई । ‘आमा हाम्रो जीवनमा हरेक दिन सीमाभित्रको मेन गेटमा डन्डा लिएर खबरदारी गरिरहनुभएको छ । त्यसकारण पनि हामी हिँड्ने बाटोमा सतर्क छौं,’ महेश गर्विलो सुनिन्छन् ।
