बिहान साढे ७ बजे गाडी चढ्नु थियो । बुबाले २० हजार छोराको हातमा थमाइदिए, ‘पैसा कहााबाट आयो ?’ मनमा कुरा खेल्दाखेल्दै जाने बेला भयो, अकस्मात् उनका आँखा आमाको गलामा पर्यो, गहनाले सजिने आमाको गला त्यस दिन रित्तो थियो, उदास आँखाले आमालाई हेरे । आमाको आँखाले भनिरहेको थियो, ‘मैले बच्चाका लागि गर्न सक्ने नै यही हो’
काठमाडौँ — आमालाई तँ भन्ने ?’ उतिबेला अभिनेता नभइसकेका खगेन्द्र लामिछानेको गाला साथीहरूको अघि रातोपिरो बन्यो । स्कुले अध्ययन सकाएर कलेज पढ्ने भएका थिए उनी । कलेज पुग्दा त यो सम्बोधनले अचम्मै गर्यो । लाज लाग्यो । आफूलाई प्रिय लाग्ने सम्बोधन नै अरूको अघि अप्रिय सुनियो । ‘अब के भन्ने ? तपाईं,’ बानी नभएको विषयमा त अभ्यास गर्नुपर्ने भयो ।
बाले तँ भनेर बोलाउँथे आमालाई । छोराको कानले त्यही टिप्यो । ‘तँ’ सम्बोधन गर्नु आमालाई सम्मान नगर्नु थिएन । श्रद्धा नगर्नु थिएन । प्रेम नगर्नु थिएन । यो त विशुद्ध बानी थियो । यो बानीमा आमाप्रतिको प्रेम थियो, आत्मीयता थियो, श्रद्धा थियो । अब त तपाईं भन्नुपर्यो । हजुर भन्नुपर्यो । यो बिरानो शब्दले गरेको सम्बोधन कति अप्ठ्यारो ? कति नसुहाउँदो ?
वर्षहरू बितेसँगै उमेरका अंकहरू छुट्दै गए । यसबीच खगेन्द्र लेखक भए, अभिनेता बने । तर अहिले पनि उनी आमालाई ‘तँ’ सम्बोधन गर्दा बढी आत्मीय महसुस गर्छन् । ‘म एक्लै हुँदा आमालाई तँ भन्छु । उहाँलाई यो शब्द रमाइलो लाग्छ,’ उनी भन्छन् । उनै आमासँगका धारावाहिक स्मृति खगेन्द्र सुनाउँछन् । स्मृतिमा आमाका त्याग, संघर्ष, खुसी र वेदनाको रङ मिसिएका छन् । उनी खुसीको रङबाट कथावाचन गर्छन् ।
त्यतिबेला आमा औधी खुसी देखिएकी थिइन् । जतिबेला उनले कापीमा बाङ्गाटिङ्गा अक्षर कोर्दै आफ्नो नाम लेखिन्, ‘चन्द्रकला लामिछाने ।’ गाउँमा प्रौढ शिक्षा सञ्चालन भएपछि उनले जीवनमै पहिलो पटक लेख्न जानेको अक्षर थियो त्यो । त्यो अक्षरले सायद नमेटिने दुःखलाई पनि केहीबेर त भुलाइदियो ।
उतिबेला चन्द्रकलालाई खुब पढ्न मन थियो । स्कुलको आँगन टेकेको केही दिनमै घरबाट सदाका लागि पढाइको ढोका बन्द भयो । पढ्ने अधिकार छोरीहरूसँग सुरक्षित थिएन । तेह्र वर्षको उमेरमा बिहे भएपछि निधारमा नाम्लो र हातमा घाँसका मुठो थमाइए । पढ्ने अथाह रहर भएर पनि कहिल्यै पूरा भएन चन्द्रकलाको । विवाह गरेर छोराछोरी जन्मिसकेपछि गाउँमा प्रौढ शिक्षा आयो । त्यहीबेला आफ्नो नाम आफ्नै हातले लेखेर उनी मुसुक्क हाँसिन् । त्यसपछि दोस्रो नाम छोराको लेखिन्, ‘खगेन्द्र लामिछाने ।’
अभिनेता खगेन्द्रलाई आमाले कापीमा लेखेको आफ्नो नाम अहिले पनि सम्झना छ । त्यो समय पनि बितेर धेरै पर छुट्यो । समयसँगै चन्द्रकलाको लेख्ने बानी पनि छुट्यो । ‘अहिले आमाले आफ्नो नाम लेख्नुहुन्छ । मेरो नामचाहिँ देखेपछि चिन्नुहुन्छ । आमाले जानेको जम्मा अक्षर नै यही हो,’ खगेन्द्र स्मृतिमा आमाले कोरेका बाङ्गाटिङ्गा धर्सा सम्झन्छन् ।
अक्षर नछिचोले पनि आमाले शब्दमा नबुनेका अनुभूति पढ्न सक्छिन् । जीवनका गहिरा दर्शन सुनाउन सक्छिन् । सन्तानको हृदयभित्रको दुखाइ खुट्याउन सक्छिन् । कहिलेकाहीँ चन्द्रकलाका गहिरा सुस्केराबाट खगेन्द्र पत्ता लगाउन सक्छन्, ‘आमालाई जीवनमा सबैभन्दा ठूलो पश्चात्ताप पढ्न नपाएकोमा छ ।’ चन्द्रकला सन्तानहरूलाई भन्छिन् पनि, ‘त्यतिखेर अहिलेजस्तो समय हुन्थ्यो भने विद्रोह गरेर पढ्थेँ ।’ उदास मनलाई चित्त बुझाउँदै थप्छिन्, ‘तर विद्रोह गरे पनि कहाँ जान सकिन्थ्यो र ? त्यो बेलाको समाज त्यस्तै थियो ।’ आमाका अधुरा रहर सुनेपछि खगेन्द्र मनमनै गुन्छन्, ‘त्यतिबेला अहिले जस्तो बुझ्ने हुन्थेँ त आमालाई स्कुल लैजान्थेँ ।’
आमाले फर्केर जीवनका बाटोहरू नियालिन् । विवाह गरेर खगेन्द्रको बासँग घर भित्रिएको पनि ५२ वर्ष बितेछ । त्यतिन्जेल सन्तान जन्मे, हुर्के, पढे, बढे र पखेँटा हालेर आ–आफ्नो गन्तव्यमा उडे । चन्द्रकला भन्छिन्, ‘यो घरमा तिमीहरूको लागि मैले भात पकाएको नै ५२ वर्ष भएछ ।’ खगेन्द्र आमाको यो वाणीभित्र लुकेका रहर खोतल्छन् । जुन कहिल्यै फक्रिन पाएनन् । अनि गम्छन्, ‘ममतामयी आमाभित्र विद्रोही आवाज पनि बाँचेको छ ।’
चन्द्रकला वर्षौंसम्मका अव्यक्त बह पोख्छिन्, ‘५२ वर्षसम्म तिमीहरूलाई खुवाएँ, स्याहारेँ । तिमीहरू कहाँ कहाँ पुग्यौ । अहिले कहिलेकाहीँ मात्र आउँछौ । खुसी त लाग्छ मेरा बच्चाले राम्रो गरेका छन् । तर मेरो जीवन त्यही मात्र हो ?’ लामो जिन्दगी बिताइसकेको मान्छेले गर्ने सबैभन्दा ठूलो प्रश्नले खगेन्द्रलाई सोचमग्न पार्छ, ‘जसले आफ्नो जीवन पूरै आहुती दिएर परिवार राम्रो बनाइन् । उनै आमाको जीवनचाहिँ के भयो त ?’ उनी चाहेर पनि सक्दैनन्, आमाको बलिदानीको गुन तिर्न । बरु आमालाई ठट्यौली स्वरमा इच्छाका कुरा गर्छन्, ‘तपाईं जानुहुन्छ त स्कुल ? अब त हामी पढाउँछौँ ।’ ६६ वर्षको उमेरमा आमा चाउरिँदै गएका गालालाई मुजा बनाउँदै हाँस्छिन् । अनि भन्छिन्, ‘जान्नँ... ।’
खगेन्द्रले ‘बधशाला’ ‘पशुपतिप्रसाद’, ‘टलकजङ भर्सेस टुल्के’, ‘धनपति’, ‘डम्बरुको डन्डिबियो’, ‘दिमाग खराब’ लगायत थुप्रै फिल्ममा मुख्य भूमिका निर्वाह गरेका छन् । ‘के घर के डेरा : घर नम्बर २’, ‘महाभोज’, ‘मेयर’, ‘हर्ष’, ‘विमान’ त रिलिजको पाइप लाइनमै छन् । उनी अभिनेता मात्र हैनन्, ‘पानीफोटो’ का निर्देशक पनि हुन् । र हुन् लेखक, पटकथाकार र प्रोड्युसर पनि । रंगकर्मको जग त उनको निकै बलियो छ ।
चाहे कथा सोच्दा होस् वा लेख्दा, त्यसलाई रंगमञ्च र पर्दामा उतार्दा उनको कथावाचनको शक्ति मौलिकता हो । त्यो मौलिकताको मूल कहाँबाट फुट्यो ? खगेन्द्र आमाले सुनाएका लोककथाका धमिला दृश्य सम्झिन्छन् । ‘सायद मेरो कथावाचनमा आमाको पनि प्रभाव पर्यो कि,’ खगेन्द्र लख काट्छन् ।
कहिलेकाहीँ खगेन्द्र चराहरू हेर्छन् । माउ चराले चुच्चोले चारो टिपेर बचेरालाई खुवाएको देख्छन् । अनि त्यो चरामा उनी आमाको स्वरूप भेट्छन् । सानोमा साह्रो चिज खगेन्द्रले खान सक्दैन थिए । त्यसलाई पहिले आमाले चपाउँथिन् । अनि खुवाउँथिन् । त्यसरी खाँदाको स्वादले अहिले पनि पछ्याइरहन्छ उनलाई । कुनै बेला सन्तानलाई खुवाएर पनि आमा अघाएको दृश्य आँखामा नाचिरहन्छन् खगेन्द्रका ।
‘आमाले हामीलाई पेटभरि नखुवाई कहिल्यै खानुभएन । कुनै बेला त हामीले खाँदाखाँदै खाना सकिन्थ्यो,’ उनी सम्झन्छन्, ‘संसारमा आमाहरू नै त होलान्, जसले बच्चाको पेट नभरी आफ्नो पेट भर्न सक्दैनन् ।’ बालखकालमा सन्तानको पेट नभरीकन आफू नखाने आमाको बानी पछिसम्म पनि नजाँदो रहेछ । अहिले पनि चन्द्रकला छोराछोरीले खाए नखाएको धेरै सोधखोज गर्छिन् । ‘अब त हामी आफैं पनि गरेर खान सक्छौँ । तर आमाको चित्त नबुझ्ने, घर जाँदा आफूलाई नराखी पठाउनुहुन्छ,’ खगेन्द्र भन्छन् ।
२०३५ सालमा जन्मिए खगेन्द्र । त्यो दिन प्रसव वेदनाले च्यापेपछि चन्द्रकलालाई अस्पताल लैजानुपर्ने भयो । स्याङ्जाबाट पोखरा जाने गाडी पाउन मुस्किल । ‘आमाले भन्नुहुन्थ्यो– त्यतिबेला उहाँलाई ट्रकमा हालेर पोखराको गण्डकी हस्पिटल लगियो रे । अनि म जन्मिएँ रेँ,’ खगेन्द्र आफ्नो आगमनको क्षण सुनाउँछन् ।
खगेन्द्र सानोमा आमासँग कहिले आफ्नो जन्मबारे सोध्थे त कहिले आमाकै बिहेबारे जिज्ञासा राख्थे । भन्थे, ‘बिहेको दिन तपाईं रुनुभयो ?’ आमा बिहेको बेला वरिपरि बाजा घन्किरहेको, आफू डोलीमा चढेर आएको सम्झना सुनाउँथिन् । बाटामा कोही परिचित मान्छेसँग भेट हुँदा भन्थिन्, ‘मेरो बिहेमा उहाँले डोली बोक्नुभएको थियो ।’
बा हरिप्रसादको सानो किराना पसल थियो । त्यसबाहेक उनीहरूको परिवार कृषिमा निर्भर हुन्थ्यो । खगेन्द्रले पनि सपना माटैमा देखेका थिए । उनी सुन्तला खेती गर्न चाहन्थे । बा सुरुमा भारतमा ल्याबमा काम गर्दा ठूला ठूला प्रोफेसर भेट्थे । सपना देख्थे, ‘मेरो छोरालाई पनि प्रोफेसर बनाउँछु ।’ तर खगेन्द्र किसानी सपनामै लट्ठ हुन्थे । जानी जानी परीक्षा बिगार्थे । ‘बा पास गराउन चाहने, म फेल हुने,’ खगेन्द्र बाउछोराबीचको विरोधाभास सुनाउँछन् । कक्षा ९ मा दोहोर्याएर पढेपछि भने उनमा पढ्नुपर्छ भन्ने चेत विस्तारै पलायो । झन् कलेज पढ्न थालेपछि पढाइको महत्त्वबारे बुझे । त्यसपछि खगेन्द्रले आफ्नो सपना पनि बदले ।
उसो त बाल्यकालमा उनको बदमासीले धुरी छोएको थियो । उनी यस्ता कुरा माग गर्थे, जुन बजारभरि खोजेर पाइन्नथ्यो । आफूले मागेको कुरा नपाएपछि खगेन्द्र खानाको भाँडा फालिदिन्थे । बाको पिटाइ त पटक–पटक खाए । तर आमाले जम्मा २ पटक हात लगाइन् । त्यसको धमिलो सम्झना छ खगेन्द्रलाई । ‘एक पटक मैले रिसाएर खानाको भाँडो फालिदिएँ । आमाले कुट्नुभयो । म रोएँ । आमा पनि मसँगै रुनुभयो,’ उनी आफूसँगै रोएकी चन्द्रकलाले त्यसपछि सुम्सुम्याउँदै फकाएको सम्झन्छन् ।
बाले भने कुटिहाल्थे । फेरि भोलिपल्ट मायाले सम्झाउँथे । बासँग खगेन्द्रको सम्बन्ध उत्तिकै गहिरो थियो । १६ वर्षको उमेर छँदासम्म खगेन्द्र बासँगै सुत्थे । बाको पछिपछि लागेर हिँड्थे । ‘अहिले पनि घर गएँ भने बुबाकै पछिपछि हिँड्न मन लाग्छ,’ खगेन्द्र सुनाउँछन् ।
छोराछोरीबीच विभेद गर्ने समाज थियो । खगेन्द्रका बाआमा अपवाद थिए । छोराछोरीप्रतिको माया कत्ति पनि घटबढ थिएन । खगेन्द्रपछि चार बहिनी जन्मे । दुर्भाग्यवश, एउटी बहिनी अहिले सम्झनामा मात्र छिन् । त्यतिबेला गाउँमा भर्खरै बोर्डिङ स्कुल सुरु भएको थियो । गाउँलेले छोरालाई बोर्डिङ हाले । छोरीलाई सरकारी स्कुल । छिमेकीले बा आमालाई भन्थे, ‘छोरालाई त बोर्डिङ पढाए भैगो नि ।’ त्यतिबेला बाआमाको जवाफ हुन्थ्यो, ‘हामी सक्यौँ भने पाँचै जनालाई पढाउँछौँ । त्यो हैसियत अहिले छैन ।’ अरू साथीका पाइला बोर्डिङ स्कुलतर्फ लम्किहेको देख्दा खगेन्द्र खिन्न हुन्थे । सोच्थे, ‘म पनि जान पाए हुन्थ्यो ।’ तर फर्केर हेर्दा बाआमाले गरेको निर्णयले उनलाई गौरवान्वित बनाउँछ ।
खगेन्द्रले दुःखजिलो गरेर पोखराबाट इन्टर पास गरे । त्यहीबीच रंगमञ्चको रहर जाग्यो । बाआमाले दरिलो साथ दिए । त्यसपछिको संघर्ष काठमाडौंबाट सुरु भयो । त्यो साह्रै कठिन र अविस्मरणीय समय थियो । एक समय पुगेपछि लाग्यो, ‘बाआमासँग कहिलेसम्म माग्ने ?’ तर उपाय थिएन । घरमा ऋण थियो । ऋणले थिचिएका थिए बाआमा । कठिन समयबाट गुज्रिरहँदा पनि बाआमालाई छोराप्रति विश्वास थियो ।
एक पटक खगेन्द्र घर पुगेका थिए । काठमाडौं फर्किने दिन नजिकिँदै थियो । ‘काठमाडौं आउनु थियो । तर कसैसँग पैसा थिएन,’ त्यो पीडादायक समय सम्झन्छन् खगेन्द्र । बिहान साढे ७ बजे गाडी चढ्नु थियो । तर कसरी ? उनी रनभुल्लमा थिए । ७ बजेको थियो । बुबाले अचानक पैसाको मुठो निकाले । गनेर २० हजार छोराको हातमा थमाइदिए । खगेन्द्रका लागि चमत्कारै भयो । ‘पैसा कहाँबाट आयो ?’ मनमा कुरा खेल्दाखेल्दै जाने बेला भयो । जानुअघि अकस्मात् उनका आँखा आमाको कानमा पर्यो । गहनाले सजिने आमाको कान त्यस दिन रित्तो थियो । उनी हुरुक्क भए । उदास आँखाले आमालाई हेरे । आमाको आँखाले भनिरहेको थियो, ‘मैले बच्चाका लागि गर्न सक्ने नै यही हो ।’
खगेन्द्रले एउटा कठोर वाचा गरे, ‘दुई/तीन वर्ष पनि लाग्न सक्छ । अब म तपाईंहरूलाई ऋणमुक्त नगरी घर फर्कन्नँ ।’ खगेन्द्र दुई वर्षसम्म घर फर्केनन् । त्यही बेला उनले बीबीसीमा जागिर पाए । जागिरले आर्थिक अवस्था सुध्रँदै गयो । त्यसपछि घर फर्किए । आमाले गुमाएको रिङ पनि फर्कियो । बाआमा ऋणमुक्त भए । यो निकै खुसीको क्षण थियो । खगेन्द्रले पहिलो पटक फिल्म ‘बधशाला’ खेले । फिल्म खेलेर घर पुगेपछि बालाई सुनाए । बाले भने, ‘फिल्म खेल्नुपर्छ । फिल्म खेलेपछि प्रख्यात भइन्छ ।’
पहिलो पटक बा आमाले खगेन्द्रको फिल्म ‘टलकजङ्ग भर्सेस टुल्के’ हेरे । छोरालाई पहिलो पटक पर्दामा हेर्दाको खुसीले निकै दिनसम्म पछ्याइरह्यो । अहिले पनि आफ्नो फिल्म लाग्नासाथ खगेन्द्र बाआमालाई सुनाउँछन् । अनि ट्याक्सी रिजर्भ गरेर पोखराको हल पठाउँछन् । अहिले घरको बाटो हुँदै कोही हिँडे भने बाआमालाई भेट्न उत्सुक हुन्छन् । भन्छन्, ‘तपाईंको छोरा त मेरो प्रिय एक्टर ।’ अझ बा कतै हिँड्दा खगेन्द्रको नाम जोडियो भने उनले पाउने सम्मान नै फरक हुन्छ । आमा भने खासै बाहिर निस्कन पाउँदिनन् । टीभीमा छोराको अन्तर्वार्ता आयो भने फोन गरेर भन्छिन्, ‘तँ टीभीमा आएको हेरिरहेका छौँ ।’
चन्द्रकलाले छोराका लागि के सपना देखिन्, कहिल्यै व्यक्त गरिनन् । बरु बारबार एउटै कुरा भनिरहिन्, ‘इमानदार हुनुपर्छ ।’ सायद आमाले देखेको सपना पनि यही थियो । कुनै स्कुलले नसिकाएको कुरा, विश्वविद्यालयले नदेखाएको बाटो आमाको स्नेहले देखाएको थियो । चन्द्रकला त्यही बाटोमा हिँडिरहेको छोरा देखेर सधैं गौरवान्वित हुन्छिन् । र, यही कुरा खगेन्द्रलाई पनि सधैं लागिरहन्छ, ‘आमाले देखाएको बाटो नबिराएर त यहाँसम्म आइपुगेको हुँ ।’
