लगालग पाँच छोरी जन्माएकी लिटियादेवीका लागि घरपरिवारदेखि समाज सहयोगी थिएन, पछि एक छोरा र कान्छी छोरी भगवतीलाई जन्म दिइन् ।आफू निरक्षर हुँदाको पीडाबोध गरिरहने आमा सन्तानलाई हरहालतमा पढाउन चाहन्थिन् । पाँच छोरीलाई त उनले भनेजति पढाउन पाइनन्, कान्छी भगवतीलाई जसरी पनि पढाएर ठूलो मान्छे बनेको हेर्ने धोको थियो । भगवती पढीगुनी मन्त्रीसमेत बनिन्, त्यसबेलासम्म आमा उनको साथमा थिइनन् ।
‘हेर्दै जाउ, एकदिन मेरी कान्छी छोरी ठूली मान्छे बन्छे,’ लिटियादेवी थरूनी छाती फुलाउँदै गर्विलो स्वरमा वरपरकालाई भन्थिन् । ठूलो मान्छे बन्न त पढ्नुपर्छ । थुप्रै अक्षर छिचोल्नुपर्छ । उनी चाहन्थिन्, ‘पढाइ सम्पत्ति हो, मेरा सन्तानहरूले पढून् ।’ उनी निरक्षर थिइन् । निरक्षर हुनुको पीडाबोध पनि थियो लिटियादेवीलाई । छोरीहरूलाई धेरै पढाउनुहुन्न भन्ने समाजमा सात सन्तानकी आमाको संघर्ष यसैविरुद्ध थियो । पाँच छोरीहरूले त चाहे जति पढ्न पाएनन् । पढाइ छुट्दा आमाछोरीकै आँखा आँसुले भिजे । लिटियादेवीको प्रार्थना थियो, कान्छी छोरी भगवती चौधरी (५४) को अध्ययन यात्रामा चाहिँ पूर्णविराम नलागोस् ।
छोरीका लागि प्रार्थना गर्ने आमाका हात दुई दशकअघि नै छुटिसके । आमाविहीन बाँच्नुको दुखाइ बोकेर हिँडेकी सांसद भगवतीलाई लिटियादेवीका दृश्यचित्रले डसिरहन्छन् बेलाबेला । केही दिनअघि दाइको छोराको बिहेमा पुगेकी थिइन् उनी । रमझम र चहलपहलको बीचमा पनि फिका लाग्यो उनलाई । ‘कतै आमा झुल्किपो हाल्नुहुन्छ कि,’ लागिरह्यो उनलाई । तर ‘डाँडामाथिको जून’ बनिसकेकी आमा सम्झनामा मात्र छिन् । बेलाबेलामा सपनामा आउँछिन्, अनि आशीर्वाद दिन्छिन् ।
भगवतीलाई सांसद बन्नु, मन्त्री बन्नुमा थुप्रै हातहरूको योगदान होला । त्यसमध्ये आमाको आशीर्वादको हात, उनलाई सर्वप्रिय लाग्छ । ‘चाहे संसद्मा उभिँदा होस् वा मन्त्रीको शपथ लिँदा आँखा अगाडि आशीर्वादको हात अगाडि बढाइरहेकी आमा देख्छु,’ भगवती भन्छिन् ।
भगवती सुनसरी क्षेत्र नं ३ बाट निर्वाचित सांसद हुन् । यसअघि उनी ०६४ मा समानुपातिक कोटाबाट सभासद भएकी थिइन् । त्यतिबेला राज्यमन्त्रीसमेत भएकी उनी ०७० र ०७४ को चुनावमा नेपाली कांग्रेसका नेता विजय गच्छादारसँग पराजित भइन् । ०७९ मा तेस्रो पटकको प्रतिस्पर्धामा भने उनले गच्छादारलाई हराइन् । नेकपा एमालेकी सक्रिय नेतृ उनी ०८० मा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पनि भएकी थिइन् । ‘सबै कुरा छ । तर मेरी छोरी ठूलो मान्छे हुन्छे भनेर गर्व गर्ने आमाले मेरो प्रगति देख्न पाउनुभएन । त्यसले बिझाइरहन्छ,’ भगवती भन्छिन् ।
000
सुनसरीको औरावनीमा मध्यमवर्गीय परिवारमा जन्मिइन् भगवती । लगातार पाँच छोरी, त्यसपछि छोरा र अन्तिममा लिटियादेवीले भगवतीलाई जन्माइन् । छोरी जन्मेका कारण लिटियादेवीले जहिल्यै मानसिक यातना भोग्नुपर्यो घरमा । हजुरबा–हजुरआमा आफ्ना छोरा वीरनलाल चौधरीलाई अर्को विवाह गर्न सल्लाह दिन्थे । ‘छोरी नै छोरी भए । छोराका लागि अर्को बिहे गर,’ भगवतीका हजुरबा–हजुरआमाले बालाई भन्थे । बाले पनि कहिलेकाहीं यही कुराले आमालाई प्रताडित चाहिँ गरे । तर, अर्को बिहे गरेनन् ।
भगवतीलाई सम्झना छ, आमा झिसमिसेमै उठ्थिन् । घरको काममा जुट्थिन् । राति १० बजे सुत्नुअघिसम्म उनको हात खाली हुन्न थियो । हुन त घरमा ३/४ जना काम गर्ने मान्छे पनि राखिएको थियो । तैपनि आमाको हात खाली भगवतीले देखिनन् । ढिकीमा धान कुट्दै गर्दा आमा लिटियादेवी कल्पनाको संसारमा हराउँथिन्, ‘मेरा छोराछोरीले धेरै पढिदिए पनि हुन्थ्यो ।’
भगवतीले झैं उनका दिदीहरूले पढ्न पाएनन् । ७ र ८ कक्षाभन्दा माथि उक्लने अवसर हजुरबा–हजुरआमाले दिएनन् । बुबा पनि छोरीहरू पढून् भन्ने चाहन्थे । तर हजुरबा–हजुरआमाको निर्णयविरुद्ध बोल्न सक्दैन थिए । ‘ठूली दिदी स्कुलमा जहिल्यै फर्स्ट हुनुहुन्थ्यो । पढ्ने धेरै चाहना थियो । तर पढाइ छुटेपछि निकै रुनुभयो,’ भगवती सुनाउँछिन् । स्कुल आउँदा–जाँदा केटा साथीहरू हुन्थे । केटाहरूसँग हिँड्न थाली भनेर घरबाट दिदीहरूको पढाइ छुटाएको कुरा सम्झँदा भगवतीलाई अहिले पनि नरमाइलो लाग्छ । छोरी पढाउने सपनामा ठेस लागेपछि लिटियादेवी निक्कै दुख्थिन् । त्यो आँसुमा परिणत भएको दुखाइलाई पुछेरै मेटाउन खोज्थिन् ।
भगवतीको अध्ययन यात्रामा भने पर्खाल लागेन । हुन त ‘इन्टर’ पास गरेदेखि नै हजुरआमाको दबाब थियो, ‘अब पढाइ पुग्यो, बिहे गरिदिनुपर्छ ।’ अरू दिदीहरूको सानैमा बिहे भएको थियो । आमाले असहमति त जनाएकी थिइन् । तर उनको निर्णय कहाँ चल्थ्यो र ? ‘इन्टर’ पास भएपछि भगवतीलाई पनि आयो त्यही दबाब । उनले अडान लिइन् । अड्डी कसिन् । उनी २२ वर्षको हुँदा हजुरआमा भन्थिन्, ‘तिम्रो उमेरका सबैको बिहे भइसक्यो । तिमी कहिले गर्ने ?’ भगवती बिहे हैन, त्यतिबेला आफ्नो सपना पूरा गर्न चाहन्थिन् ।
उनले महेन्द्र मोरङ क्याम्पसबाट स्नातक गरिन् । काठमाडौंको शंकरदेव क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर गरिन् ।
000
भगवतीकी आमा संवेदनशील थिइन् । कसैको दुखाइलाई आफ्नो दुखाइ मान्थिन् । दुःखमा सहयोग गर्न पाउँदा आनन्दानुभूति गर्थिन् । ‘आमाले कतिलाई त पाल्नका लागि सुँगुरका पाठा दिनुहुन्थ्यो । कोही भोकै छ भने बोलाइबोलाइ खुवाउनुहुन्थ्यो । कसैलाई ठूलो स्वर गर्नुहुन्नथियो,’ उनी सम्झिन्छिन् ।
सानो छँदा भगवतीले आफ्नै उमेरका साथीहरू बच्चा च्यापेर बसेको देख्थिन् । उनीहरू पढ्नबाट वञ्चित थिए । ‘स्कुल जाने बाटोमै मुसहरहरूको बस्ती थियो । मेरो उमेरका बहिनीहरू बच्चा बोकेर बस्थे । म आमालाई उनीहरू किन स्कुल जान्नन् सोध्थें । आमा ननिको मान्दै उनीहरूको बाआमाले पढाउन नसकेको कुरा गर्नु हुन्थ्यो,’ उनी सम्झिन्छिन् । भगवती सामाजिक र राजनीतिक यात्रामा लाग्ने क्रममा पनि यो झल्को आइरहन्थ्यो । उनी सोच्थिन्, ‘कुनै पनि बाबुआमाले छोराछोरी पढाउन नसक्ने दिनको अन्त्य होस् ।’
000
स्कुले जीवनमै पनि भगवती स्पष्ट वक्ता थिइन् । उनले कार्यक्रममा दिएको भाषण सुनेकाहरू प्रशंसा गर्दै भन्थे, ‘तिमी एकदिन नेता बन्छ्यौ ।’ छोरीले गरेको भाषणबारे आमाले सुन्थिन् । आमा उही कुरा दोहोर्याउँथिन्, ‘मेरी छोरी एकदिन ठूली मान्छे बन्छे ।’ उनी गाउँमा टोलभरिका मान्छे जम्मा पारेर कथा सुनाउँथिन् । भगवती कुशल वक्ता मात्र हैन, कुशल कथावाचक पनि थिइन् । टोलभरिका मान्छे जम्मा हुँदा उनी चाहन्थिन्, ‘आमा पनि आइदिनुभएको भए ।’ घरघरको कामले आमालाई फुर्सदै हुन्न थियो ।
०४६ सालदेखि भने भगवतीमा राजनीतिक चेत भरिन थाल्यो । ‘त्यतिबेला हामी पनि विराटनगरमा लुकीलुकी मिटिङ गर्थ्यौं । हामीले कलेजमै समन्वय परिषद् खडा गरेका थियौं । म उपाध्यक्ष थिएँ,’ उनी सम्झिन्छिन् । त्यतिबेला संगठनमा महिलाहरूको उपस्थिति भने न्यून थियो । क्याम्पसमा थारू समन्वय परिषद् खडा गरेर उनी सक्रिय हुन थालिन् । परिषद्बाट असहायलाई पढ्नका लागि मद्दत गर्ने, किताबहरू उपलब्ध गराइदिनेलगायत केही महत्त्वपूर्ण काम गर्थें । क्याम्पसमा बहिनी यतातिर सक्रिय भएको देख्दा दाइ चिन्तित हुँदै भन्थे, ‘तिमी पढ्न आएको कि राजनीति गर्न ?’
त्यसपछि दाइलाई थाहा नहुने गरी उनी सुटुक्क कार्यक्रमतिर जान थालिन् । ०४८ सालतिर उनी मदन भण्डारीको भाषण सुन्न पुगेकी थिइन् । त्यो भाषणले भगवतीभित्र उथलपुथल ल्याइदिएको थियो ।
000
अन्तर्राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा पुगेकी थिइन् भगवती । उनलाई अहिलेका कांग्रस नेता डिल्लीबहादुर चौधरीले एउटा बिहेको प्रस्ताव लिएर आए । ‘दिनेशजी राम्रो मान्छे हुनुहुन्छ ।’
उसो त दाङका दिनेश चौधरीसँग ०४७ सालमा नै भेट भएको थियो भगवतीको । त्यतिबेला उनलाई दिनेश साह्रै टाठो लागेको थियो । बोल्नमा सिपालु । सांस्कृतिक ज्ञानका विषयमा पकड थियो । ०४७ सालमा भएको थारू सम्मेलनमा उनले गहकिलो भाषण गरेका थिए । एक पटक कुरैकुरामा भगवतीले भनिन्, ‘तपाईंहरूको बोली भोजपुरी छ । थारू भन्नुहुन्छ । तपाईंहरूको भाषा थारू नै कसरी हो ?’ दिनेशले तत्काल जवाफ दिएका थिए, ‘उसोभए तपाईंको भाषा पनि त मैथिली हो ।’ पूर्वेली र पश्चिमी थारूबीचको यहाँदेखिको चिनजान विवाहमा परिणत हुने भयो । दोधार मन गरेर बसिरहेकी भगवतीले घरमा कुरा गर्न सुझाइन् । सप्तरीबाट उनीहरू सुनसरी गएर बाआमासँग कुरा गरे । बाआमा राजी भए । भगवती पनि राजी भइन् । ११ फागुन ०५० मा उनीहरूको टीकाटालो भयो ।
टीकाटालो भएको थुप्रै दिनसम्म पनि दिनेशसँग सम्पर्क हुन सकेन । भगवतीको मनमा डर सल्बलाउन थाल्यो, ‘बिहे पो गर्ने हो कि नगर्ने हो ।’ उनले काठमाडौं रहेका एक जना दाइलाई बुझ्न लगाइन् । दिनेश वैशाखमा बिहे गर्ने योजनाका साथ तयारीमा थिए । वैशाखमा उनीहरूले आपसमा लगनगाँठो कसे ।
बिहेपछि उनको राजनीतिक जीवनमा होस् वा सामाजिक जीवन, दिनेशले दिलोज्यानले सहयोग गरे । बिहेपछि काठमाडौं गएकी भगवतीले समाज कल्याणमा काम गर्न थालिन् । ०५४ मा समाज कल्याणको काम छाडेर सुनसरी आइन् । त्यसपछि उनले फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड सुरु गरिन् ।
लघुवित्त सुरु गर्नुमा पनि भगवती कतै न कतै आमाको हात पाउँथिन् । उतिबेला आमाले भोग्नुपरेको पीडा, आत्मनिर्भर नहुँदा महिलाहरूले गर्नुपरेको संघर्ष उनले महसुस गरेकी थिइन् । महिलाहरूलाई आत्मनिर्भर बनाउनकै लागि उनले यो संस्था सुरु गरिन् । ‘गाउँगाउँमा सर्भे गरेर महिलाहरूलाई अगाडि बनाउन के गर्न सकिएला भनेर सोच्न थाल्यौं । उनीहरूलाई सचेत गराउने र सक्षम बनाउने काम गर्नुपर्छ भन्नेमा म दृढ थिएँ,’ उनीहरूलाई आत्मनिर्भर बनाउने सोच बिजारोपणबारे भन्छिन् भगवती ।
अहिले लघुवित्तमा २२ अर्बभन्दा माथिको लगानी छ ।
संस्था सुरु गरेको एक वर्षपछि दिनेश पनि सुनसरीमै आए । उनीहरू दुवैले मिलेर संस्था हाँक्न थाले । तर उनै दिनेशले १२ असार ०६४ मा भगवतीलाई सदाका लागि छाडेर गए । दिनेशको मृत्यु हुँदा छोरा १० वर्षका थिए । दिनेशका बा मिर्गौला रोगी थिए । उपचारकै क्रममा बालाई काठमाडौं ल्याइएको थियो । काठमाडौंबाट फर्काएर दाङ लैजाने क्रममा उनीहरू सवार एम्बुलेन्सलाई ट्रकले ठक्कर दियो । दिनेश र बाले अस्पताल नपुग्दै ज्यान गुमाए ।
सहयात्री गुमाउँदाको पीडाले उनलाई निकै वर्षसम्म ऐंठन भयो । लामो समयसम्म भगवती विक्षिप्त बनिरहिन् । दिनेशले गरेको प्रेम र दिएको साथ भगवतीका लागि निकै प्रिय थियो । प्रिय मान्छेलाई गुमाएपछि थुप्रै दिनहरू उनका लागि अप्रिय बने । ‘कति समयसम्म त म कतै जान सकिनँ, कार्यक्रमहरूमा हिँड्न सकिनँ,’ भगवती सम्झिन्छिन् । बाले पनि ०७२ मा चोला फेरे ।
त्यसअघि आफूलाई अगाध स्नेह गर्ने आमा लिटियादेवीलाई गुमाएकी थिइन् भगवतीले । भगवती स्कुल पढ्दा आमालाई खुट्टा पोलिरहने व्यथा थियो । पछि ‘चेकअप’का क्रममा थाहा भयो, लिटियादेवीलाई सुगरको बिमारी रहेछ । दुखाइले च्याप्दा पनि उनी भन्थिन्, ‘मलाई कसैले सेवा गर्नु नपरोस् । भगवान्सँग यही प्रार्थना गर्छु ।’
२६ मंसिर ०५७ को त्यो अँध्यारो दिन सम्झँदा पनि सिरिङ्ग हुन्छ भगवतीलाई । त्यो दिन आमाले चोला फेरेकी थिइन् । ‘त्यस दिन आमा चेकअप गर्न इनरवा जानुभएको थियो । फर्केर एक बजे घर आइपुग्नुभएछ । खानका लागि घरमा अण्डा खोज्नुभएछ । नभेटेपछि छिमेकीकहाँबाट अण्डा लिएर आउँदै गर्दा आँगनमा लड्नुभएछ,’ त्यसपछि कहिल्यै नउठेकी आमाको निधनबारे सम्झँदा भगवती भावविह्वल हुन्छिन् ।
बेलाबेला आमा दुहबी छोरीज्वाइँसँग आएर बस्थिन् । आमालाई तिहार भगवतीसँगै मनाउन मन थियो । तर भगवती दिनेशसँगै दाङ जानुपर्ने भयो । अहिले पनि सम्झेर पछुतो लाग्छ भगवतीलाई । आत्मग्लानिको स्वरमा भन्छिन्, ‘आमाको त्यो चाहना मैले पूरा गरेको भए पनि हुन्थ्यो ।’ कलेज पढ्न जाँदा आमा भगवतीलाई पुर्याउन एक किलोमिटर परसम्म पुग्थिन् । छोरी घर आउने थाहा पाएपछि बाटैमा पर्खेर बस्थिन् । अहिले पनि भगवतीलाई आमाले त्यसैगरी पर्खिबसेझैं लाग्छ ।
सम्झेर हेर्दा भगवती आमाको स्वभाव दुरुस्तै आफूमा आएको पाउँछिन् । बेलाबेला उनलाई छोराले व्यंग्य गर्छन्, ‘म त राजनीति गर्दिनँ । आमाले त बाँडेको बाँड्यै गर्नुहुन्छ ।’ त्यतिबेला भने भगवती आमालाई सम्झिन पुग्छिन्, ‘आमा त हुनुहुन्न । तर उहाँको स्वभाव त मसँग छ ।’
भगवती मनमनै खुसी महसुस गर्छिन् ।
