विश्वप्रकाशको जीवनमा दुई आमा भए, एकातिर जन्मदिने आमा सावित्री शर्मा थिइन् भने अर्कोतर्फ नाबालकलाई हुर्काउने आमा देउकुमारी श्रेष्ठ । अहिले दुवै आमा नभए पनि विश्वप्रकाशमा दुवैका गुण छन्, नरम हुनुपरेमा सावित्रीजत्तिकै र कठोर बन्नुपरेमा देउकुमारीजत्तिकै । बाआमा नै शिक्षक पाएका विश्वप्रकाश पढ्नमा तेज थिए नै, राजनीतिमा अभिभावकले साथ दिए ।
काठमाडौँ — आमा सावित्री शर्माको ८२ औं जन्मदिनलाई विश्वप्रकाश शर्माले फरक ढंगले सम्झिए । ६ जेठको जन्मदिनलाई यस पटक उनले हिमालबाट सम्झिए । हिमालका कथाहरू सुन्न उनी हिउँका बाटा उक्लिरहेका थिए । क्याम्प २ (६,४०० मि) मा पुगेपछि विश्वप्रकाशले झोलाबाट तस्बिर निकाले । तस्बिरलाई छातीमा टाँसे र स्नेहसहितको श्रद्धा प्रकट गरे ।
तीन जना भएको उक्त तस्बिरमा एक थिइन् सावित्री । आमाको जन्मदिनलाई हिमालको उचाइबाट ‘सेलिब्रेट’ गर्न पाउँदा असाध्यै खुसी थिए उनी । तस्बिरमा दोस्रो व्यक्ति थिए, बा पर्शुराम शर्मा । अनि तेस्रो ? तेस्रो अनुहार उनका लागि उत्तिकै न्यानो र आत्मीय थियो । ‘जसले मलाई एकछिन एक दिन हैन, डेढ वर्षसम्म आफ्नो दूध पिलाउनुभयो । उनै आमाको तस्बिर,’ विश्वप्रकाश हृदयभित्र शान्त बसिरहेकी आमा देउकुमारी श्रेष्ठलाई श्रद्धापूर्वक सम्झन्छन् । जस्तोसुकै दौडधुपको समय होस् वा बेचैनी र उदासी । उनका निम्ति ती अनुहारहरू थकान र निराशा मेट्ने चम्किला किरण हुन् । जसलाई हरेक बिहान उनी पूजापाठमा श्रद्धाञ्जली अर्पण गर्छन् ।
हिमालबाट फर्किसकेपछि विश्वप्रकाशले आमाका कथा सुनाउने प्रण गरेका थिए । आखिर उनले आफ्नो प्रण पूरा गरे । सानेपास्थित पार्टी कार्यालयको शान्त कोठामा प्रेमपूर्वक उनले न्याना स्मृतिहरू बाँडे । २०७० को प्रतिनिधिसभा चुनावको प्रचारप्रसारका क्रममा विश्वप्रकाश झापाको बाहुनडाँगी थिए । तत्कालीन बाहुनडाँगी गाविसको मेची जनसागर माविको छेउमा बसेर मन्तव्य राख्दा उनले सम्झिएका थिए, ‘मेरो यो गाउँप्रति भावनात्मक प्रेम छ । किनकि यो गाउँको स्कुलमा मेरी आमाले पढाउनुभएको थियो ।’ नेपाली राजनीतिको प्रभावशाली नेताले आफ्नो गाउँप्रति गाँसेको भावनात्मक प्रेमलाई लिएर स्थानीयहरू गर्विलो देखिए । त्यही बेला बा उमेरका केशवप्रसाद खनालले विश्वप्रकाशलाई भने, ‘विश्व बाबु, तिमीले आमाले पढाएको स्कुल भनेर मात्र सम्झियौ । यो स्कुलको चौरमा तिमीले पनि खेलेका छौ ।’
यो रहस्योद्घाटनले विश्वप्रकाश चकित परे । केशवले थपे, ‘त्यतिबेला तिम्री आमा घोडामा आउँथिन् । तिमीलाई पछाडि डँडाल्नुमा कपडाले बाँधेर ल्याउँथिन् । नजिकैको चिया पसलको बेन्चमा सुताइदिन्थिन् अनि पढाउन जान्थिन् । बच्चा रोएको सुनेपछि आएर दूध खुवाउँथिन् र फेरि सुताउँथिन् ।’ विश्वप्रकाश रसिक बन्दै गएका आँखाहरूले चौर, स्कुल, बरन्डा नियाल्न थाले । उनले केशवलाई स्नेहपूर्वक सोधे, ‘अनि यी सबै कुराहरू तपाईंलाई कसरी थाहा भयो ?’ केशवले थप सस्पेन्स खोलिदिए, ‘बाबु, तिम्री आमा जुन बेला यो स्कुलमा पढाउँथिन्, त्यो बेला म पनि यही स्कुलमा नै पढाउँथें ।’
यो २०२७/२८ तिरको कथा थियो । जति बेला आमा सावित्री र बा पर्शुराम दुवै स्थायी शिक्षक थिए । बा भने कांग्रेसबाट राजनीतिक आन्दोलनमा रहेकै बेला राजकाजको मुद्दामा जेल परे । कठोर पञ्चायती शासनविरुद्धको आन्दोलनमा उनी चन्द्रगढी जेल परेपछि सावित्रीले संघर्ष झेल्नुपर्यो । तत्कालीन अञ्चलाधीशले आमालाई धुलाबारीबाट बाहुनडाँगीको मेची जनसागर माविमा सरुवा गरिदिए । ‘मलाई राजीनामा दिन्छे भनेर सरुवा गरेका थिए तर मैले गरिनँ,’ आमाले आफूले लिएको अडान सुनाएकी थिइन्, विश्वप्रकाशलाई ।
सावित्री स्कुल जाँदा ८ महिनाका विश्वप्रकाशलाई धुलाबारीबाट घोडामा राखेर बाहुनडाँगी आउजाउ गर्थिन् । विश्वप्रकाशका दाइ राज्यप्रकाशले त्यो दृश्य अझै बिर्सेका छैनन्, ‘आमाले भाइलाई बोकेर घोडामा धेरै समयसम्म आउजाउ गर्नुभएको अहिले पनि सम्झिरहेको छु ।’ विश्वप्रकाशले दुई पटक लगातार चुनाव हारेपछि २०७९ को निर्वाचनमा काठमाडौंबाट उठ्न साथीभाइले सुझाएका थिए । सुरुमा त सोच पनि बनाए । पछि हृदयले भन्यो, ‘मैले झापा छाड्दा चिया बगानका दाजुभाइ, दिदीबहिनीहरू छाड्नुपर्छ, धुलाबारी र काँकडभिट्टा छाड्नुपर्छ । लडीबुडी खेलेको त्यो माटो छाड्नुपर्छ ।’ त्यसपछि उनले आफ्नो सोच बदले । उनी झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनलाई आफ्नो माटोले यस पटक न्यानो स्वागत गर्यो ।
२०२७ मा जन्मेका विश्वप्रकाश तेस्रो सन्तान, उनीमाथि दिदी र दाइ । ‘म जन्मेपछि ७ दिनसम्म रोएँ रे,’ उनले बुझ्ने भएपछि सुनेका प्रसंग सुनाउँछन्, ‘मलाई दूध नपुगेको रहेछ । त्यही समयमा निराजलाई जन्म दिएकी आमा देउकुमारीको प्रशस्त दूध आउँदो रहेछ । उहाँले मलाई डेढ वर्ष लगातार खुवाएर बलियो बनाउनुभयो ।’
उनी सावित्रीगुणा मात्र गएनन्, देउकुमारीको गुण पनि लिए । उनलाई थाहा छ, ‘दूधको अदृश्य प्रभाव कतिसम्म हुन्छ !’ उनी नरम हुनुपरेमा सावित्रीजत्तिकै र कठोर बन्नुपरेमा देउकुमारीजत्तिकै बन्न सक्छन् । ‘जुन आमाको दूध खाएँ, एक–एक थोपा नै मेरा लागि अनमोल थियो,’ उनी सुनाउँछन्, ‘मलाई खुसी छ कि मेरो शरीरमा खस आमाको रगत बगिरहेको छ भने जनजाति आमाको दूध ।’
पूर्वप्रधानमन्त्री तथा कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको निधन हुँदा विश्वप्रकाश झापामा थिए । साथी–सहकर्मीले उनलाई त्यति बेला काठमाडौं बोलाए । तर उनी अर्को ठूलो शोकमा डुबिरहेका थिए । आमा देउकुमारीको निधन भएको दसौं दिन भएको थियो । अरू दाजुभाइले झैं उनले पनि कपाल मुन्डन गरेर किरिया कर्ममा सामेल भइरहेका बेलामा उनले साथीहरूलाई भने, ‘म आमाको १० दिनको काम छाडेर आउन सक्दिनँ । मेरोतर्फबाट उहाँलाई फूल चढाइदिनू ।’ देउकुमारी आमा बितेपछि विश्वप्रकाशको सम्झनामा खुब आइन् । उनलाई देउकुमारी आमा र परिवारको उत्तिकै महत्त्व थियो । त्यो परिवारले पनि विश्वप्रकाशलाई कहिल्यै बाहिरको ठानेन । अझ देउकुमारी त आफ्ना सन्तानहरूको सूचीमा विश्वप्रकाशको नाम जहिल्यै जोड्थिन् । विश्वप्रकाशलाई आमा सावित्रीको काखजत्तिकै प्यारो थियो, देउकुमारीको काख पनि ।
आमा सावित्रीले जीवनको ३५ वर्ष धुलाबारी माध्यमिक विद्यालयमा बिताइन् । स्कुलको अन्तिम समयतिर उनी प्रधानाध्यापक बनिन् । प्रअ भएदेखि सावित्रीलाई उनको स्वास्थ्यले साथ दिएन । २०६० मा अवकाश लिनुअघि उनले भनिन्, ‘शिक्षक बिरामी भए, कक्षाकोठा बिरामी हुन्छ । प्रअ बिरामी भयो भने पूरै स्कुल बिरामी हुन्छ । मेरा कारण स्कुललाई अप्ठ्यारो हुनुहुन्न ।’ त्यसपछि उनले राजीनामा दिइन् । आमा जुन स्कुल पढाउँथिन्, विश्वप्रकाश त्यहीँ पढ्थे । उनी अंग्रेजी र भूगोल पढाउँथिन् । कक्षाकोठामा आमाको प्रवेश हुँदा अरू साथीहरू डराउँथे । तर विश्वप्रकाशले आमालाई कहिल्यै गुरुआमा देखेनन्, आमा नै देखे ।
विश्वप्रकाशको परिवार मध्यमवर्गीय थियो । आमा र बाले बीए पढ्ने अवसर सजिलै पाएका थिए । बाले त दार्जिलिङको खर्साङमा पढेका थिए । पछि दाइलाई पनि त्यहीँ लगियो । विश्वप्रकाशलाई कक्षा ३ पछि खर्साङ लैजाने कुरा भयो । खर्साङको स्कुलमा प्रिन्सिपलले विश्वप्रकाशको मौखिक परीक्षा लिए । उनको तेजिलो दिमाग देखेर प्रिन्सिपलले भने, ‘ब्रिलियन्ट छ ।’ तर अघिल्लो दिन जुन घरमा बसे, त्यहाँ आइरहने कोइलाको गन्ध, धमिलो पानी त्यसमाथि बाआमाबाट टाढा हुने कुराले साह्रै चिन्तित बनायो । भोलिपल्टको प्रवेश परीक्षा उनले जानाजानी बिगारे । ‘त्यस्तो ब्रिलियन्ट मान्छेले कसरी बिगार्यो ?’ प्रिन्सिपल छक्क परे । बाले रिसाउँदै गाली गरे । आमाले स्नेहपूर्वक सोधिन्, ‘तैंले जानीजानी बिगारेको हो ?’ विश्वप्रकाशले ‘हो’ आशयमा टाउको हल्लाए ।
सावित्री सामाजिक काममा पनि सक्रिय थिइन् । समाजमा कसैलाई दुःख पर्दा सहयोग गर्ने, कमजोरहरूका आवाज बोलिदिने, सचेतना जगाउनेजस्ता काममा रुचि राख्थिन् । उनी स्कुलबाहेक घरमा पनि विद्यार्थीलाई निःशुल्क ट्युसन पढाउँथिन् । उनी माउथ हार्मोनिक बजाउँथिन् । आमाले गुनगुनाएका गीत र निकालेका संगीत अहिले पनि विश्वप्रकाशको कानमा गुन्जिरहन्छ । अहिले सम्झँदा विश्वप्रकाशलाई एउटा अभाव खड्किरहन्छ । ‘आमाले गुनगुनाएका गीत, माउथ हार्मोनिकका धुन र उहाँका आवाज रेकर्ड छैन,’ विश्वप्रकाश सम्झन्छन् । विश्वप्रकाशलाई संगीतमा भने आमाबाट रुचि र दाइ टीका भण्डारीबाट ज्ञान प्राप्त भयो । राजनीतिमा बा र काकाहरूको प्रभाव रह्यो ।
सावित्री जतन गर्नमा माहिर थिइन् । उनले विश्वप्रकाशले कखरा लेख्न सिकेका कापीहरू पछिसम्मै जतनले राखेकी थिइन् । विवाहका बेलामा छापेका कार्डहरू र उबेलाका चिठीहरू सुरक्षित थिए । सावित्रीले सन्तानलाई अनावश्यक खर्च गर्न कहिल्यै दिइनन् । खुत्रुके किनिदिएकी थिइन्, हरेक सन्तानले खुत्रुकेमा पैसा जम्मा गर्थे । लक्ष्मीपूजाको दिन खुत्रुके फुटाउने चलन थियो । ‘त्यति बेला आमाले जसको जति छ, त्यति नै थपेर बैंकमा जम्मा गराइदिनुहुन्थ्यो,’ विश्वप्रकाश सम्झन्छन् ।
विश्वप्रकाश २०४० देखि राजनीतिमा सक्रिय भए । मेची बहुमुखी क्याम्पस पढ्दा उनले भद्रपुरमा डेरा लिएर बसे । त्यति बेला उनलाई बा र आमाबाट पढाइमा मात्र नभई राजनीतिमा पनि सहयोग थियो । ‘म हरेक शुक्रबार घर आउँथें, बेलुका खाना खाएपछि बुबा, आमा र म बसेर समीक्षा गर्थ्यौं,’ विश्वप्रकाश सम्झन्छन् । उनलाई बा र आमाले पढाइमा पहिलो हुन कहिल्यै दबाब दिएनन् । आमाको मत थियो, ‘सफलभन्दा पहिले असल बन्नुपर्छ ।’ विश्वप्रकाश अहिले आफ्ना छोराछोरीलाई पनि यही भन्छन्, ‘फर्स्ट हुन जरुरी छैन, बेस्ट हुनु । मलाई फर्स्ट मार्क्स चाहिन्नँ, केवल तिम्रोबारेमा प्रश्न उठ्नु हुन्न ।’
शुक्रबारे बैठकको निरन्तरता अहिले उनले आफ्नो परिवारभित्र पनि कायम राखेका छन् । हरेक साता बैठकमा श्रीमती, छोरा, छोरी र विश्वप्रकाश हुन्छन् । बैठकमा घरायसी बजेट र गतिविधिको समीक्षा गरिन्छ । छोरी अध्यक्ष छिन् भने छोरा सचिव । श्रीमती र उनी सदस्य । ‘मलाई त अध्यक्ष बन्ने अवसर अहिलेसम्म आएको छैन,’ उनी हाँस्दै सुनाउँछन् । आमाले विश्वप्रकाशलाई सिकाइरहने अर्को कुरा थियो, ‘हार्न पनि सिक्नुपर्छ, सहन पनि सिक्नुपर्छ, अभाव पनि सिक्नुपर्छ ।’ राजनीतिक जीवनमा उनले यो मन्त्र प्रयोग गरिरहे ।
२०४५ मा विश्वप्रकाश क्याम्पसमा नेविसंघका सभापति थिए । त्यसअघि स्ववियु चुनावमा नेविसंघ हार्दा अखिललाई कुट्ने चलन थियो । यो हरेक पटक दोहोरिरहन्थ्यो । उनको कार्यकालमा भने त्यो परिस्थिति बदलियो । ‘हामीले २०४५ सालमा अखिलले जित्दा कुटपिट हैन, लाइन लागेर उनीहरूलाई सम्मान गरेका थियौं,’ उनी सम्झिन्छन् ।
आमाले जहिल्यै भनिरहन्थिन्, ‘लोभ कहिल्यै गर्नु हुँदैन । अनावश्यक लोभमा फस्यो भने मान्छे गलत बाटोमा पुग्छ ।’ आमाले बा पर्शुरामकै उदाहरण दिन्थिन् । २०४६ को परिवर्तनपछि त्यसअघि जेल बसेकालाई वर्षका आधारमा पैसा छुट्याइएको थियो । पर्शुरामले त्यति बेला ५० हजार पाउने थिए । ‘तर उहाँले म जेल बसेको भाडा लिन्न भन्नुभयो,’ आमा सुनाउँथिन् ।
२०५७ मा बाको निधनपछि उनले आफ्नो भागको सबै जमिन दाजुकै नाममा गरिदिए । दाजुप्रतिको भरोसा र विश्वास देखेर आमा बिछट्टै खुसी थिइन् । ‘यसले लोभ गरेन । राजनीतिमा पनि कहिल्यै लोभ गर्दैन,’ आमाले दृढ विश्वासका साथ भनेकी थिइन् । सावित्रीको स्वास्थ्यमा २०५६ देखि विभिन्न समस्या देखा पर्न थाले । मुटु, फोक्सो, पाठेघरलगायत विभिन्न समस्या थपिँदै गए । बा गुमाएपछि आमाको स्वास्थ्यमा झन् असर परेको राज्यप्रकाश सुनाउँछन् । ‘आमा मसँगै बस्नुहुन्थ्यो, बुबा बितेपछि उहाँलाई थप गाह्रो हुन थाल्यो । त्यो घाउ बढ्दै गयो । रोगले झन् च्याप्दै गयो,’ उनी भन्छन् ।
लामो जीवन स्कुलमा व्यतीत गरेकी उनलाई त्यसपछिका दिन झन् पीडामय हुन थाले । २०६४ मा स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई २८ दिन काठमाडौंको चाबहिलस्थित मेडिकेयर अस्पतालमा राखियो । त्यो २८ दिन सावित्रीका लागि निकै पीडादायक रहे । २२ दिन विश्वप्रकाश नियमित अस्पताल बसे । जीवनसंगिनी कविता भने २८ दिन नै अनिँदा आँखा लिएर आमाको स्वास्थ्यलाभको प्रार्थना गर्दै बसिन् । आमा झन्–झन् गल्दै थिइन् ।
अस्पतालबाट डिस्चार्ज भएर डेरामा सार्ने बेलामा कोठामा पनि आमालाई अक्सिजन चलाइएको थियो । विश्वका आँखामा आमाको अन्तिम दिनका केही झझल्कोहरू आइरहन्छन् । लक्ष्मीपूजाको दिन छोरा–बुहारीको सहारामा आमाले बत्ती बालेकी थिइन् । त्यसपछि आमा निभिन् । आमाको अन्तिम दाहसंस्कार झापाको निन्दा नदी किनारमा भयो । अहिले पनि निन्दा नदीको किनारमा बसेर बा र आमा जलेको हेरिरहेको दृश्यले गम्भीर बनाउँछ विश्वप्रकाशलाई । यद्यपि, विश्वप्रकाशले एउटा सत्यलाई अन्तरहृदयबाटै बुझ्ने प्रयास गरेका छन्, ‘मृत्यु स्वाभाविक हो ।’ तर मृत्युपछिको रिक्तता ?
जीवनमा हारेको वा जितेको क्षण उनले कहिल्यै नगरेको अनुभूत गरेका थिए । पार्टीको जिल्ला सभापति हार्दा होस् वा दुई पटक सांसद हारेर फर्किएको क्षण आँगनमा ५० साथीभाइ जरुर पर्खिरहेका थिए । तर त्यो भीडमा न आमा थिए, न बा । ‘त्यो भीडमा पनि बाबु हारेर आइस्, केही छैन जित्ने दिन आउँछ भनेर भन्ने आमाको काख, थपथपाउने बाको हात नहुँदा सन्नाटा लाग्दो रहेछ,’ विश्वप्रकाश गहिरो भावमा सुनिए । जितेर आएको क्षणमा पनि यदि आमा भएको भए भन्थिन्, ‘मैले भनेको थिएँ नि एक दिन जित्छस् भनेर ।’ जीवनमा जित्दा वा हार्दाको पल कुनै रिक्तता अनुभूत हुन्छ भने त्यो बाआमा सम्झेर नै हुन्छ । तर एकमनले सोच्छ पनि, ‘भौतिक रूपमा त को कहिलेसम्म हुन्छ त ? उहाँहरू जानुभयो, एक दिन म पनि जान्छु ।’
तर जानुअघि पनि त गर्नुपर्ने थुप्रै काम छन् । जुन माटोसँग जोडिएका छन्, भावनासँग जोडिएका छन् । जीवनसँग जोडिएका छन् । आमाले सोचेको असल छोरा हुन त असल कामहरू गरिरहनुपर्यो । असल व्यवहार गरिरहनुपर्यो । जीवनमा गलत बाटो नहिँडोस् भन्ने आमाका प्रार्थनाले पनि विश्वप्रकाश सत्मार्ग हिँडिरहन्छन् । ‘र, त्यो मार्गमा हिँड्दा म बा र आमा (हरू) लाई साथै लिएर हिँडिरहेको हुन्छ,’ विश्वप्रकाश दृढ सुनिन्छन् ।
