पर्दामा पनि छोराको पराजय देख्न नसक्ने विजयकी आमा

आफ्ना लागि कहिल्यै सपना देख्न नपाएकी आमाका मसिना सपनाहरू पूरा गर्नु छ विजयलाई, चिनादेवीलाई छोराले काठमाडौंमा ठड्याएको घरमा छोराबुहारी र नातिसँगै बस्नु छ, मन लागेका ठाउँहरूमा घुम्न जानु छ, सन्तानका थप उन्नति हेर्नु छ । ‘पूर्णबहादुरको सारङ्गी’ मा जिम्मेवार बा बनेका विजय यतिबेला प्रतिबद्ध छोराका रूपमा प्रस्तुत हुन खोजिरहेका छन् ।

असार १७, २०८२

समर्पण श्री

Vijay's mother who could not see her son's defeat even on screen

काठमाडौँ — फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ नेपालभरबाट १७ लाखभन्दा बढी दर्शकहरूले हेरे । फिल्म हेरेर थुप्रै बा–आमाहरू परेलाभित्र टिल्पिलाएका आँसु पुछ्दै हलबाट निस्किए । सन्तानहरू बाका त्याग सम्झँदै भावविह्वल भए ।

कहिल्यै हलसम्म नटेक्नेहरू पनि पहिलो पटक हलमा छिरे । तर त्यही फिल्मको पूर्णबहादुर पात्र बाँचेका अभिनेता विजय बरालकी आमा चिनादेवीले भने फिल्म हेरिनन् । कारण थियो, अरूले सुनाएको कथाअनुसार चिनादेवीले फिल्मको अन्त्यमा छोरा खेलेको पात्रको मृत्यु हुने थाहा पाइन् अनि सोही दृश्य कल्पेर उनको मन त्यसै–त्यसै चिसो भएछ । 

मोबाइलबाटै फिल्मको गीत ‘इस्टकोट काटी आफ्नै’ हेरिन् । तर त्यहाँ पनि छोरा रोएको सहन सकिनन्, हेर्दाहेर्दै भक्कानिइन् । विजयले आमाको मन चोरे, ‘रियल हो र, रिलमा पो मरेको त ।’ चिनादेवीले भनिन्, ‘एक्टिङ नै गरे पनि छोरा त तैं होस् नि ।’ चिनादेवीले सामाजिक सञ्जालमा जताततै छोराका भिडियो र फोटोहरू देखिन् । फिल्मका कतिपय क्लिपहरूमा पूर्णबहादुरको मृत्युका दृश्य देखेरै चिनादेवी असिनपसिन भइन् । ‘मलाई त तेरो फोटो हेर्नेबित्तिकै रुन मन लाग्छ । तेरो लास लिएर गएको, मरेको सिन हालेको कुरा कसरी हेर्नु ?,’ उनले द्रवित मुद्रामा छोरालाई भनेकी थिइन् । बा नवराज भने विजयका कुनै फिल्म हेर्न छुटाउन्नन् । यो फिल्म पनि हेरे । विजयले सोधे, ‘रुनु भयो ?’ बाले टाउको हल्लाउँदै भने, ‘अहँ ।’ लगत्तै बाको भिजेका आँखाबाट विजयले झूट पकडिहाले ।

फिल्म नहेरे पनि चिनादेवीले यसपालि छोराको प्रभाव महसुस गरिन् । कहिल्यै नसोध्नेहरूले पटक–पटक सोध्न थाले, ‘विजय कहिले आउँछ ?’ टोल, छिमेक जताततै छोराको चर्चा हुँदा उनी दंग परिन् । सर्लाहीमा ‘हल भिजिट’ गरेर विजयले फिल्म टोलीलाई लालबन्दीस्थित घर लगे । घर पुग्दा सारा गाउँले आँगन ढाकेर बसेका थिए । उनले वरैबाट देखिन्, छोरालाई र्‍याली गरेर भीडको माझबाट घरतर्फ ल्याइँदै गरेको, छिमेकीहरूले फोटो, भिडियो खिच्न तँछाडमछाड गरेको । पहिलो पटक देखेको यो माहोलले चिनादेवीलाई भावुक बनायो । हर्षका आँसु निकाल्दै छोरालाई अँगालो मारिन् र भनिन्, ‘तिमी यति ठूलो मान्छे भएछौ, मलाई त थाहै थिएन ।’ आमा–छोराको यो दृश्यले अन्यको पनि आँखा रसाए । 

आमाले मात्र हैन, यस पटक बाले पनि छोराका कारण आफ्नै ‘शक्ति’ बढेको महसुस गरे । अरू बेला फिल्म हेर्न जाँदा कहिल्यै नचिन्ने हलले यस पटक त नवराजलाई सम्मान गर्‍यो । यसअघि पनि विजयले काम गरेका धेरै फिल्म हिट भएका छन् । उनका पात्र चरित्र चर्चित भएका छन् । तर यस पटक विजय नै ‘हिट’ भए । फिल्म यति लामो समयसम्म चल्यो कि विजय देशका सबैजसो हल पुगे । हलवालाहरू खुसी हुँदै उनलाई सुनाउँथे, ‘भाइ, तिम्रो फिल्म चलेर हामीले हलको ऋण तिर्न सक्यौं ।’ फिल्म हेरेर हलबाट रुँदै आएका दर्शकहरूसँग विजय साक्षात्कार गर्थे । ‘म मरेको छैन, जीवित छु भन्दा पनि रुन छाड्दैनथे,’ उनी सुनाउँछन् । विजयसँगै गाउँमा बा पनि ‘हिट’ भए । पसलमा चिया खान निस्कँदा पनि मान्छेहरूले विजयका बा भनेर सम्बोधन गर्न थाले । अनि फोटो खिच्नेहरूको लर्को लाग्थ्यो । ‘बाका लागि पनि छोराको प्रगति सबैभन्दा गर्वको कुरा हुँदो रहेछ,’ विजय हर्षित सुनिए ।

Vijay's mother who could not see her son's defeat even on screen

केही दिनअघि मात्र चिनादेवीको जन्मदिन थियो । आमालाई आफू जन्मेको साल थाहा छैन । तर जन्मदिनको अघिल्लो दिन उनी छोरालाई फोन गरेर भन्छिन्, ‘भोलि मेरो फोटो फेसबुकमा हाल्देऊ है, सबैले देख्छन् ।’ उनी आमाले भनेझैं गर्छन् । ‘एक पटक आमाले एकाबिहानै फोन गरेर आज मेरो जन्मदिन, फोटो हाल है भन्नुभयो । फोटो हेर्छु, मैले त ममीसँग यौटा पनि फोटो खिचेको रहेनछु,’ विजय सम्झन्छन् । उनले आमालाई शुभकामना दिँदै तस्बिर राखे । आमा त्यो देखेर खुसी भइन् । आजकल फेसबुकमा सबैले जन्मदिनको शुभकामना हालेको देख्दा चिनादेवीलाई पनि लाग्दो रहेछ, ‘मेरो पनि हाल्नुपर्छ ।’ 

चिनादेवी उमेरले ५० कटिसकिन् । तर विजयलाई आफ्नी आमाको बालसुलभ गुण असाध्यै प्यारो लाग्छ । ‘ममी धेरै इनोसेन्ट हुनुहुन्छ, त्यो नखानु भन्दा नखाने, त्यो नगर्नु भन्दा नगर्ने । धेरै तनाव लिइरहेको बेला नलिनु भन्दा नलिने । शान्त भइरहने, तर सानो कुरामा रोइहाल्ने,’ विजय आमाका स्वभाव खोतल्छन् । चिनादेवी बेलाबेला काठमाडौंमा नाति हेर्न आउँछिन् । नातिसँग रमाउँछिन् । मीठो–मीठो पकाएर खुवाउँछिन् । र, काठमाडौं आएका बेला राति सुत्ने बेला छोरालाई जहिल्यै सोध्छिन्, ‘ढाड दुख्यो होला, तेल लगाइदिऊँ !’ आमाको यो व्यवहारलाई लिएर विजय अनौठो मान्दै भन्छन्, ‘उहाँलाई कति दुख्यो होला ! दुख्यो कहिल्यै भन्नुहुन्न । तर हाम्रो दुखाइसँग धेरै मतलब छ ।’

चिनादेवीको बिहे २०४४ मा भएको थियो । विजयकी हजुरआमाले उनलाई सुधा नामले बोलाउँथिन् । सुधाले २०४५ मा पहिलो सन्तानका रूपमा विजयलाई जन्म दिइन् । २०४८ मा विजयका भाइ विनय र २०५५ मा बहिनी बिनु जन्मिइन् । विनय काठमाडौंमा विजयसँगै बस्छन् । बहिनी बिनुको बिहे भइसक्यो । सन्तानहरू 

आ–आफ्नो काममा व्यस्त छन् । हुर्केर ठूलो भइसकेपछि बेलाबेला पुराना दिनहरूको याद आउँदो रहेछ । विजयलाई बेलाबेलामा आफू जन्मेको क्षण र बाल्यकालबारे बुझ्न मनलाग्दो रहेछ । आमालाई आफू जन्मेको क्षण सोधिहाल्छन् । तर चिनादेवी भन्छिन्, ‘मलाई यादै छैन ।’ विजयलाई लाग्दो रहेछ, ‘सायद आमाले दुःखलाई याद नगरेको हो कि !’ तर विजय सोध्न छाड्दैनन्, ‘चिना बनाउनुपर्‍यो, म कुन बेला जन्मेको हो, भन्नु न ।’ आमालाई विजय जन्मेको साल, महिना र दिन सबै थाहा छ, तर समय थाहा छैन । भन्छिन्, ‘खै, बिहान हो कि साँझ !’

बराल परिवारको घर लालबन्दीको सडकछेउ थियो । बा राष्ट्र बैंकका जागिरे थिए । जागिरकै सिलसिलामा उनी भालुवाङ थिए । तीन सन्तानलाई हजुरआमा र आमाले हुर्काएका हुन् । विजय अहिले पनि एउटा फोटो नियालिरहन्छन् । फोटोमा भाइ विनय, बहिनी बिनु र उनी एउटै रंग र कपडाका कट्टु र सर्टमा देखिएका छन् । त्यही फोटो हेरेर उनी आफ्ना बाल्यकाल सम्झने प्रयास गर्छन् ।

‘एक पटक भारी बोकेर ममी र म मिल गएका थियौं । मेरो कारण मिलमा ममीको टाउकोमा ढकले लागेछ । घाउ भयो । म पुलिस आउँछ भनेर डराएर भागेछु । पछि डराइ–डराइ घर पुगें । तर उहाँ रिसाउनुभएन,’ विजय बाल्यकालीन स्मृतिमा प्रवेश गर्छन् । चोट लाग्दा मात्र हैन, अरू बेला पनि चिनादेवीले कहिल्यै सन्तानलाई ठूलो स्वर गरिनन् । बरु सन्तानहरू आफूसँग रिसाउँदा चित्त दुखाउँथिन्, सन्तानलाई कसैले गाली गर्दा मन दुखाउँथिन् । आफू भने कहिल्यै कसैसँग रिसाइनन् ।

आफूहरूलाई हुर्काउन उतिबेला आमाले कतिसम्म कठिनाइ भोगिन् होला ? विजय अहिले जीवनसाथी प्रमिला खनाललाई हेरेर अनुमान गर्छन् । प्रमिला र विजयको एक छोरा छन् । प्रमिला पनि कुशल कलाकार हुन् । अहिले सानो छोरा हुर्काइरहेकी प्रमिलालाई हेरेपछि विजय गम्छन्, ‘आमाहरूलाई शारीरिक मात्र हैन, मानसिक दुःख पनि उत्तिकै हुँदो रहेछ । तर उनीहरूले लुकाउँदा रहेछन् ।’ प्रमिला पनि कहिलेकाहीं शरीरको दुखाइ लुकाउँछिन् । ‘उनी त लुकाउँछिन् भने आमाले कति लुकाउनुभयो होला !’ विजय महसुस गर्छन् ।

शरीर मात्र हैन, आमाहरूका मन पनि त दुख्दो हो ! तर त्यो दुखाइको ख्याल कसले गर्‍यो होला र ? विजय गम्छन्, ‘ममीलाई शरीर दुख्यो भनेर सोधियो होला तर मन दुख्यो भनेर कहिल्यै सोधियो ?’ छोरा जन्मिएपछि प्रमिलाकै छँदाखाँदाको करिअरमा पनि अहिले अवरोध आएको छ । विजय करिअरको योजना बनाउन उनलाई सुझाउँछन् । तर विजयकी आमाले घर र सन्तानभन्दा बढी त कहिल्यै सोच्नै पाइनन्, सपना बुन्नै पाइनन् ।

आफूले जन्माएर हुर्काएका सन्तानहरू कहाँ–कहाँ पुग्छन्, आमा तिनै सन्तानको बाटो पर्खेर दिन बिताइरहन्छिन् । ‘हिजो स्कुलबाट घर फर्कंदा नि टिफिनमा खाजा राखेर आमा छोराछोरी आउने बाटो हेरिबस्थिन् । अहिले पनि त्यो बानी कायमै छ,’ विजय सम्झन्छन् । जब विजयहरू सर्लाही घर आउने जानकारी दिन्छन्, तब आउने दिन उनी घरमाथिको बाटो पर्खिबस्छिन् । जुन गाडी आए पनि छोराछोरी बोकेर ल्याएझैं लाग्छ । तल ओर्लन्छिन्, हेर्छिन् । नदेखेपछि खिन्न हुन्छिन् । अहिले पनि चोकबाट छोराछोरी आउने दिन हेरिबस्छिन् । ‘आमा त्यसरी बस्दा सबैलाई थाहा भइसक्छ कि छोरा आउँदै छ,’ विजय गाडीबाट ओर्लंदा सबैभन्दा खुसी देखिने आमाको त्यो क्षणको अनुहार सम्झँदै भन्छन् । जब विजय गाडीबाट ओर्लन्छन्, आमा दौडेर बसस्टपनिर पुग्छिन् । अनि गह्रुँगा झोलाहरू बोक्न थाल्छिन् । ‘आमालाई हामी आउँदा भरोसा हुन्छ, आँट हुन्छ,’ विजय सुनाउँछन् । आमा धेरै कुरा सन्तानलाई सुनाउन साँचेर राखेकी हुन्छिन् । ‘तर हामी पनि घर पुगेपछि व्यस्त भइदिन्छौं । आमाहरू आफ्नो कुरा छोराछोरीलाई सुनाउँछु भन्दाभन्दै जीवन सकाउँछन्,’ विजय आत्मालोचनासहित भन्छन् ।

गाउँ पुगेको क्षण विजयसँग पुराना स्मृतिहरू पनि यात्रा गर्न खोज्छन् । तर ती धमिला छन्, सङ्लाउन खोज्छन् । स्कुले जीवनमा विजय पढाइमा तीक्ष्ण थिए । २०६१ को एसएलसीमा उनले ७७ प्रतिशत अंक ल्याए । सोच्थे, ‘काठमाडौं गएर डाक्टर पढ्ने हो ।’ तर उनको योजनालाई आफ्नै सपनाले जित्यो, कलाकारितामा लागे । आमालाई लाग्थ्यो, ‘छोराले जागिर खाओस् ।’ तर विजयले जागिरे जीवन पनि रोजेनन् । सपनाको बाटो हिँड्न सहज थिएन । स्नातक पढ्दाताका सुरुमा बानेश्वरको एक इन्स्टिच्युटमा काम गरे उनले । नाटक गर्न थालेपछि त्यो काम छाडे । पछि उनी मण्डला थिएटरका पूर्णकालीन सदस्य भए, अनि त्यहीं बस्न थाले । 

चार वर्षअघि विजयको परिवारलाई ठूलो ऋणको भारीले थिच्यो । त्यतिबेला विजय र भाइ विनयले थाहा पाए, ‘घरमा करिब ९० लाख जतिको ऋण रहेछ ।’ त्यो ऋणबारे बाले कहिल्यै उनीहरूलाई सेयर गरेनन् । ‘दसैंका बेलामा फोन आयो, बुबाले घर बन्धकी राखेर लोन लिनुभएको रहेछ । भाइ र मैले अनेक संघर्ष गरेर तिर्‍यौं,’ विजय भन्छन्, ‘खासमा बाले पनि त आफ्नो सपनाका लागि भन्दा पनि घरायसी खर्चका लागि नै त ऋण लिनुभएको थियो । हामीले पनि त बाहरूलाई कसरी चलिरहनुभएको छ भनेर कहिल्यै सोध्दैनौं नि ।’ त्यो घटनाबाट विजयले नयाँ पाठ सिके, ‘हामी आफ्नो सपना देख्दै गर्दा परिवारको अवस्थाबारे पनि बुझिरहनुपर्दो रहेछ ।’

Vijay's mother who could not see her son's defeat even on screen

आफूहरू सपनाको यात्रामा हिँडिरहँदा आमाले त्यो अभावको सामना कसरी गरिन् होला ? दुःखलाई कसरी भित्रभित्रै लुकाएर राख्न सकिन् होला ! उनी सम्झेर खिन्न हुन्छन् । फर्केर हेर्दा विजयले आमाबाट सिकेको सबैभन्दा ठूलो ज्ञान नै धीरता हो । नाटक गर्दाताका यस्ता दिनहरू पनि आए कि अब कहिल्यै नफर्किने गरी गाउँ जाऊँ । तर धैर्य राखे, ‘पर्खनुपर्छ, अवसरहरू नजिक छन् ।’ त्यही पर्खाइ ६ महिनाअघिसम्म पनि थियो । जब ‘पूर्णबहादुरको सारङ्गी’ चल्यो, उनको जीवनमा एकाएक धेरै बदलाब आए । समाजले उनीप्रति हेर्ने दृष्टिकोण र व्यवहारमा नै बदलाब आएको विजयले महसुस गरे । उनको आर्थिक हैसियतमा पनि उछाल आयो । सायद कठिन दिनहरूमा गरेको कडा मिहिनेत र प्रतीक्षाको मीठो फल थियो यो । 

अब विजयलाई कहिल्यै सपना देख्न नपाएकी आमाका मसिना सपनाहरू पूरा गर्नुछ । जस्तो कि चिनादेवीलाई काठमाडौंमा छोराले घर ठड्याएको हेर्नु छ । त्यो घरमा छोराबुहारी र नातिसँगै बस्नुछ । घुम्न मन लागेका ठाउँहरूमा जानुछ, सन्तानका थप उन्नतिहरू हेर्नुछ । यो आमा र बाको संयुक्त सपना हो । ‘अब आफ्नो मात्र हैन, बा र आमाको सपनालाई पनि सँगसँगै लैजानुछ,’ फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा जिम्मेवार बा बनेका विजय यतिबेला प्रतिबद्ध छोराका रूपमा प्रस्तुत भइरहेका छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully