अक्षर नचिनेकी शिक्षित आमा

मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिलकी आमा राजकुमारी देवी निरक्षर हुन्, अनिलको भनाइमा अक्षर नचिने पनि आमाको समझ र संस्कार खुंखार पढेका भन्दा कम छैन, उनले जेजस्तो शिक्षा–दीक्षा र संस्कार पाए, त्यो आमाकै देन हो 

चैत्र २०, २०८०

स्वरूप आचार्य

An illiterate educated mother

काठमाडौँ — खानेकुराको मीठो बास्ना आउनेबित्तिकै डा. ओममूर्ति अनिललाई आमा (माई) को याद आइहाल्छ । आमाले उमेर र स्वास्थ्यका कारण पकाउन छाडेको केही वर्ष भइसक्यो । ‘आमाले खुब मीठो मासु पकाउनुहुन्थ्यो । तर, उहाँले मासु खानु हुन्न,’ डा. अनिलले भने । उनले आमाले पकाएको खानाको बयान गरिरहँदा आमा भने सँगै सोफामा बसेर मुस्कुराइरहेकी थिइन् ।

मैथिली मात्रै बोल्ने आमासँग कुराकानी अगाडि बढाउन डा. अनिल आफैं दोभासे बनेका थिए । ‘आमाले कहिल्यै मासु खानु भएन ?’ भन्ने प्रश्नको उत्तर अनिल आफैंले दिन थाले । ‘हैन, हैन । खानुहुन्थ्यो नि । बुबासँग झगडा परेर छोडेको रे,’ उनले हाँस्दै सुनाए ।

अनिलकी माईले मैथिली मात्रै बोले पनि नेपाली बुझ्दै नबुझ्ने पनि होइन रहेछ । मैथिलीमा उनले अनिललाई के भएको थियो भन्ने थप प्रस्ट पारिन्– ‘व्रतको दिन मासु लिएर आएकाले मलाई रिस उठेको थियो । म मासु खान्थें । मन पर्थ्यो । तर, मैले खानै नहुने दिनमा मासु लिएर आएकाले रिस उठ्यो अनि त्यस दिनदेखि खान्न भनेको हो । अनि खाइनँ ।’

मुटु रोग विशेषज्ञ डा. अनिल आमाको रिस साह्रै कडा भएको प्रमाणका रूपमा पनि त्यो घटनालाई लिन्छन् । ‘चुलोचौकामै दिनरात बिताउने आमा चुलो बाहिर हुने क्रियाकलापलाई नियन्त्रणमा राख्न पनि रिसाउनु हुन्थ्यो जस्तो लाग्छ,’ उनले पुराना दिन सम्झिए, ‘बिहानै आमाले घरमा काम गर्नेहरूलाई गाली गर्दै काममा लगाउनुहुन्थ्यो । गाली नै पनि होइन जस्तो लाग्छ । तर, आमाको स्वर नै कडा थियो ।’ 

An illiterate educated mother

छेउमै बसेकी आमाले अलिअलि मुख बिगार्दै आफूतिर हेरेपछि अनिलले आफ्नो भनाइलाई केही सच्याउन खोजे– ‘आमा बोलीमा जति कडा हुनुहुन्थ्यो, व्यवहारमा त्यति नै नरम । कसले के खायो, के खाएन, सन्चो विसन्चो के छ, कसलाई के चाहिएको छ । त्यो सबै आमाकै जिम्मा हुन्थ्यो । उहाँलाई घरभरिका मान्छेको आवश्यकता आफैं थाहा हुन्थ्यो भने पनि हुन्छ ।’

फरक परिवेश र संस्कृतिमा हुर्किए पनि आफ्नो माईले अगाडि बढ्दै गरेको समाजलाई जुन रूपमा बुझे र अँगालिन्, त्यो उनको बढप्पन हो भन्ने अनिललाई लाग्छ । आफ्नो सम्पूर्ण जीवन छोरा र परिवारको अन्नदाताका रूपमा खर्चिएकी माईलाई पछिल्लो समय तीर्थसम्म पनि गराउन नसक्ने हुँदा भने उनी खल्लो महसुस गर्छन् ।

अनिलका अनुसार त्यतिबेला गाउँमा निकै कम व्यक्तिको घरमा मात्रै चिया पाक्थ्यो । चिया खानुपरे बजारमा गएर किनेरै खानुपर्थ्यो । तर, बुबालाई घरमा भेट्न आउने हरेक व्यक्तिलाई आमाले चिया र नास्ता खुवाएको उनी सम्झिन्छन् । ‘स्वभावले कडा भए पनि खुवाउने मामिलामा मेरी आमा निकै उदार । उहाँलाई कहिल्यै अरूलाई खुवाएर सिद्धिन्छ भन्ने लागेन,’ उनले भने, ‘उहाँले आफूले पकाएर खुवाउँदासम्म सधैं मध्य दिनमा मात्रै खानुभयो । बिहानदेखि सबैलाई खुवाएर । फेरि दिउँसोको खाना तयार पारेर खुवाएर अनि मात्रै आफूले खानुहुन्थ्यो ।’

अरूलाई खुवाएर रमाउने आमाको बानी आफूमा पनि सरेको अनिल दाबी गर्छन् । उनलाई पनि खाना पकाएर खुवाउन खुबै रमाइलो लाग्छ । ‘वास्तवमै भन्ने हो भने अरूलाई खुवाएर कहिल्यै भण्डार रित्तिँदैन रहेछ,’ उनले भने ।

An illiterate educated mother

अनिलकी आमा राजकुमारी देवी निरक्षर हुन् । उनले लेखपढ गर्न सिकिनन् । बुबा तेजनारायण सिंहले भने त्यो जमानामा स्नातकसम्मको अध्ययन गरेका थिए । हालको महोत्तरीको बलवा नगरपालिका–१० धमौरामा मात्रै होइन, तराईभर नै उनको बुबा पढेलेखेका गिनेचुनेका मानिसका रूपमा चिनिन्थे । त्यसैले पनि घरमा आउजाउ गर्नेको भीड हुन्थ्यो । उनकी आमा घरमा आउने पाहुनालाई चिया–नास्ताको जोहोमै व्यस्त हुन्थिन् । 

अक्षर नचिने पनि उनको समझ र संस्कार भने खुंखार पढेका भन्दा कम नभएको बुझाइ अनिलको छ । उनी भन्छन्– ‘म आफैंले मुटु रोगमा डीएम गरेको छु । दुवै जना दाइहरूले पनि राम्रो पढ्नु भएको छ । हामीमा जे संस्कार अहिले छ, त्यो आमाकै देन हो ।’ अनिल भारतको दिल्लीस्थित एम्स अस्पतालबाट मुटु रोगमा डीएम अध्ययन गर्ने पहिलो नेपाली हुन् ।

आमाको संस्कारको उदाहरण दिँदै अनिलले एउटा घटना सुनाए । जुन उनले आफ्नो किताब ‘जीवन्त सम्बन्ध’ मा पनि उल्लेख गरेका छन् । एक जना निकै नजिकका आफन्तले उनका बाबुका बारे आलोचना गरिरहन्थे । त्यो पनि उनकै अगाडि । कहिलेकाहीँ त मानिसहरू जम्मा नै पारेर पनि उनले त्यसो गर्थे । एक दिन आमाले अनिललाई बोलाएर भनिन्– ‘आफ्नो बाबुको बारेमा गरेको आलोचना पनि सुन्नुहुन्छ त छोरा ?’

आमाको त्यो वचनपछि उनको मनमा कहिल्यै कसैको निन्दा सुनेर बस्नु हुँदैन भन्ने छाप गढेर बस्यो । ‘मैले त्यसपछि बुबाको निन्दा गर्ने त्यो आफन्तको कुरा कहिल्यै सुनिनँ,’ उनले भने, ‘त्यति मात्रै होइन । कसैको पनि निन्दा गरेर बस्नु हुँदैन भन्ने ज्ञान मिल्यो । अहिलेसम्म मेरो बानी त्यही नै छ ।’

An illiterate educated mother

अनिलका अनुसार आमा भन्ने शब्द सबैका लागि प्रिय हुन्छ । कसैको आमाको तुलना अन्य कोहीको आमासँग हुँदैन । किनभने सबैको आमा महान् नै हुन्छिन् । फरक यत्ति छ, आमाले दिने संस्कार कसले कसरी ग्रहण गर्छ । ‘पढेलेखेको होस् वा अनपढ होस्, कुनै आमाले मेरो बालबच्चा वा परिवारको नराम्रो होस् भनेर सोच्दैनन् । सबैको इच्छा पूरा गर्दागर्दै उनका धेरै इच्छा अधुरै हुन्छ,’ उनले भने, ‘अहिले आएर मलाई त्यस्तै लाग्छ । आमाले सक्ने बेलामा हाम्रा लागि धेरै गर्नुभयो । अहिले सक्नु हुन्न । र, मैले आमाका लागि केही गर्न सकिनँ जस्तो लाग्छ ।’

पढेलेखेको हुनु र नहुनुले आफ्नो अडानलाई कायम राख्न आवश्यक पर्ने तार्किक क्षमतामा भने असर पर्ने अनिलको बुझाइ छ । यो बुझाइ पनि उनले आमाकै भोगाइबाट सिकेका हुन् । जुन घटनाले अहिले पनि अनिलको मनलाई अमिलो बनाउँछ । ‘एक पटक आमा र म मामाघर गएका थियौं । मामाघरमा बेलुका माछा पाकेको थियो । आज सबैले माछा खाने हो भनेर हजुरबुबाले भन्नुभयो,’ उनले सम्झिए, ‘आमाले माछामासु खानु हुन्न भनेर मैले भनें । उहाँले किन नखानु खान्छे भन्नुभयो । तर, आमाले माछामासु खाएको मैले कहिल्यै देखेको थिइनँ । उहाँले त्यस रात हजुरबुबाको कुरा काट्न नसकेर माछा खानुभएछ । मैले पछि थाहा पाएँ ।’

अनिललाई आफ्नी आमाले बुबाको मन राख्नका लागि माछा खाए पनि आफ्नो प्रणका बारेमा तर्क गर्न नसकेको जस्तो लाग्छ । आमाले हजुरबुबाको मन राख्नकै लागि माछा खानुपर्ने अवस्था आउनु हुँदैन थियो भन्ने लाग्छ । उनले आमालाई त सोधेका छैनन् । तर, त्यस दिन आमाले माछा नखाएको भए के हुन्थ्यो भन्ने पनि लाग्छ ।

‘यदि मेरी आमा पढेलेखेको हुनुहुन्थ्यो भने उहाँले म माछा खान्न भन्नुहुन्थ्यो जस्तो लाग्छ । माछा खाएर मात्रै सम्बन्ध वा इज्जत दिएको सावित हुन्छ भन्ने स्थापित हुँदैन भनेर तर्क गर्न सक्नुहुन्थ्यो जस्तो लाग्छ,’ उनले भने, ‘आमाले नपढेकामा मलाई दुःख लागेको यो नै एउटा प्रमुख घटना हो । नभए आमाको विवेक हामी पढेलेखेकाहरूभन्दा धेरै माथि छ ।’

आमाको भोगाइ देखेरै अनिललाई लाग्छ मान्छेको जीवन जिउने सोच, संस्कार र विवेकलाई पढाइको स्तरले मात्रै मापन गरेर भने हुँदैन । ‘घरपरिवार र जीवन भोगाइले पनि मानिसलाई यति परिपक्व बनाउँछ कि उसले गर्ने निर्णयहरू पढेलेखेका मानिसले गर्ने जोडघटाउभन्दा धेरै माथि हुन्छ,’ उनले भने ।

An illiterate educated mother

अनिलकी आमाको उमेर कति भयो, कसैलाई थाहा छैन । तर, उनको विवाह १५ वर्षको हाराहारीमा भएको हो भन्ने लख काट्दा उमेरले ७५ वसन्त पार गरिसकेको छ । उनी आमाबुबाको आठ सन्तान पाँच छोरा र तीन छोरीमध्ये राहिँली (छैटौं) हुन् । त्यसबेला बुबाकी फुपूले ल्याएको प्रस्तावलाई मानेरै बिहे गरेको उनी बताउँछन् ।

‘त्यसबेला तराईमा छिट्टै बिहे गर्ने चलन थियो । मेरो मावली र घरतर्फ पहिलेदेखि नै चिनजान थियो । बुबाको बिहेको प्रस्ताव आएपछि दुवै परिवार सहमत भएर बिहे भयो,’ उनले भने, ‘त्यसमा ठूलो तडकभडक र कथा छैन । तर, बिहे गरेर आएपछि आमाको दैनिकी भने अवश्य नै फेरियो ।’ अनिलको भनाइमा उनको परिवारको प्रमुख पेसा कृषि थियो । उनले थाहा पाउने बेलामा काकाहरूसँग भान्सा छुट्टिए पनि खेतीपाती एउटै थियो । जग्गाजमिन राम्रै भएकाले घरमा काम गर्नेहरूको कमी थिएन । तर, आमाको जीवन भने चुलोमै कटेको उनी बताउँछन् । 

उनले कुरैकुरामा आमाका बारेमा अर्को भेद खोलिदिए । ‘आमा आफ्नो जवानीमा साह्रै रिसाहा हो । अहिले जस्तो शान्त स्वभावको होइन,’ अनिले यति भन्न नपाउँदै उनकी आमाले बीचमै कुरा काटिन् र मसिनो स्वरमा भनिन्, ‘त्यो बेलाको समय नै त्यस्तै थियो ।’ आमाले त्यति भनेपछि अनिलले केही प्रस्ट्याउँदै भने, ‘तर, आफ्नो बुबा र दाइहरूसँग भने निकै नै डराउने । चुप । अहिले पनि दोहोरो कुरा गर्नु हुन्न । त्यो डरभन्दा पनि संस्कार पनि हो भन्छु म ।’

तीन जना सन्तानमध्ये अनिल कान्छा हुन् । अनिलको जेठा दाइभन्दा पनि अघि एक जना छोरा नै थिए, जो नाबालकमै बिते । अनिलले आफ्नो जन्मबारे एउटा रोचक घटना सुनाए– ‘खासमा म इच्छाइएको सन्तान होइन । बुबाआमालाई कान्छोका रूपमा छोरी चाहिएको थियो । कतिसम्म भने बुबाले त गाउँको ब्रह्मस्थानमा छोरी भएमा दुई वटा खसी बलि चढाउँछु भनेर भाकल नै गर्नुभएको थियो रे ।’ अनिलले यो कथाबारे बताइरहँदा सँगै बसेकी उनकी आमाले उनलाई हेर्दै मुस्कुराइरहेकी थिइन् । उनले थपिन्– ‘मलाई पनि छोरी चाहिएको थियो । तिमी भएपछि पनि हामीले बलि भने दियौं । छोरी नै नभए पनि स्वस्थ बच्चा त जन्मियो नि भनेर ।’

अनिलका अनुसार उनका दाजुहरू दुवै जनाले भारत तथा काठमाडौंमा बसेर पढाइ सके पनि उनले भने गाउँकै स्कुलमा कक्षा दससम्मको अध्ययन गरेका थिए । उनी दाइहरूभन्दा धेरै समय घरमै बसेकाले पनि आमाबुबासँग बढी नजिक थिए । ‘म आमासँगै हुर्किए पनि आमाको प्रिय सन्तान त जेठो दाइ नै हो,’ उनले भने । अनिलको कुरा सुनेर आमाले भनिन्– ‘नाइँ, हम्रा लागि सब सन्तान बराबर है ।’

अनिललाई आमाको अर्को महानता आफ्नो अन्तरजातीय बिहेलाई दिएको समर्थन पनि लाग्छ । ‘मनीषा नेवार, म तराईको क्षत्री । हामी गहिरो प्रेममा थियौं । मनीषालाई उनको घरबाट बिहे गर्न निकै दबाब आइरहेको थियो,’ उनले भने, ‘मैले आमालाई सबै कुरा भनेपछि उहाँले ‘हुन्छ, गर’ भन्नुभयो । त्यसपछि हाम्रो प्रेमले पूर्णता पायो ।’ फरक परिवेश र संस्कृतिमा हुर्किए पनि आफ्नो माईले अगाडि बढ्दै गरेको समाजलाई जुन रूपमा बुझेर अँगालिन्, त्यो उनको बढप्पन हो भन्ने अनिललाई लाग्छ । आफ्नो सम्पूर्ण जीवन छोरा र परिवारको अन्नदाताका रूपमा खर्चिएकी माईलाई पछिल्लो समय तीर्थसम्म पनि गराउन नसक्ने हुँदा भने उनी खल्लो महसुस गर्छन् ।

‘आज आएर सोच्दा, आमाले आफ्नो ज्यानले सकेसम्म हामीलाई पकाएरै खुवाउनुभयो । म दिल्लीमा पढ्न जाँदा पनि त्यहाँ के खाएर बस्छ भनेर बुबाआमा सँगै जानुभयो,’ उनले भने, ‘म त्यो मानेमा अरूभन्दा केही भाग्यमानी छु किनभने मैले कहिल्यै आज के खाने भनेर सोच्नुपरेन । तर, मैं पो केही स्वार्थी भएँ कि जस्तो लाग्छ ।’ अनिलका अनुसार आमाले सक्ने हुँदासम्म घुमफिर, तीर्थाटनका बारेमा उनले कहिल्यै सोचेनन् । तर, अहिले आमाले नसक्ने भएपछि त्यो गर्नुपर्ने थियो जस्तो उनलाई लाग्न थालेको छ । ‘आमालाई पछिल्लो समय अयोध्या जान मन छ । तर, शरीरले गर्दा त्यति लामो यात्रा गर्न कठिन छ,’ उनले आमाको स्वास्थ्य अवस्थाबारे बताए, ‘उहाँलाई पार्किन्सन्स छ । लामो समय पिसाब रोक्न सक्नुहुन्न ।’

An illiterate educated mother

कहिलेकाहीँ तीर्थ गएर फर्किएपछि जँचाउन आएको भनेर आउने बिरामी देखेर उनलाई खुसी लाग्छ । उनी त्यस्ता बिरामीहरूलाई ठीक काम गरेको भनेर हौसला दिने गरेको सुनाउँछन् । ‘हरेक कुराको समय हुने रहेछ । तर, आमाका लागि सही समय वा आफ्नो समय भने कहिल्यै नआउने रहेछ,’ उनले भने, ‘अहिले त्यो बुझ्दा ढिला भो कि जस्तो लाग्छ । अनि अरूकै खुसीमा पनि खुसी हुन्छु ।’

अनिललाई समय छँदा आमाले आफ्नोबारेमा पनि सोचेर, आफ्नो स्वास्थ्यका बारेमा सोचेर चुलोबाट बाहिर निस्केको भए हुन्थ्यो भन्ने लाग्छ । ‘आमालाई घण्टौं उभिएर खाना पकाउन केही समस्या नहुने तर हिँड्नुपर्‍यो भने गाह्रो हुने । त्यसैले म सबै आमाहरूलाई अहिले नै हिँड्ने बानी बसाल्नुपर्छ भन्छु,’ उनले भने, ‘उहाँले त्यतिबेलै घुमेको भए वा घुम्ने रहर देखाएको भए घुमिन्थ्यो होला । तर, अहिले त म निरीह भएको छु ।’ सायद अनिलको चित्त दुखेको देखेर होला, माईले सानो स्वरमा अनिललाई ढाडस दिँदै भनिन्– ‘कि जानै छि कि हम्रा एना होतै !’ (मलाई यस्तो हुन्छ भन्ने के थाहा थियो र !) 

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully