गिद्ध ‘गोठाला’

अर्घाखाँचीको भूमिकास्थान–३ का कृष्णप्रसाद भुसाल लामो समयदेखि गिद्धको अध्ययनमा तल्लीन छन् । उनले अहिलेसम्म २ सय ५० भन्दा बढी गिद्धको उद्धार र उपचार गरिसकेका छन् ।

आश्विन २३, २०८०

मनोज पौडेल

कपिलवस्तु — जीउडाल आकर्षक लाग्दैन । सुन्दर पन्छीमा गणना हुँदैन । चुच्चो ठुण, नाङ्गो र लामो गर्धन । कतिपयलाई गिद्ध हिंस्रक लाग्न सक्छ । तर, ३८ वर्षे कृष्णप्रसाद भुसाल गिद्ध भनेपछि हुरुक्क हुन्छन् । आकाशमा गिद्ध उडेको देख्नासाथ उनको ध्यान पुगिहाल्छ । फुरुङ्ग पर्छन् । आनन्दित हुन्छन् । उनी गिद्धको हाउभाउ पढ्न थाल्छन् । यस पन्छीको खुसी र पीडा सजिलै बुझ्न सक्छन् ।

भुसालले लामो समयदेखि गिद्धको अध्ययन गरिरहेका छन् । उनले गिद्ध मरेपछि दाहसंस्कार गरे । घाइतेको उद्धार र उपचार गरे । अनुसन्धानका लागि नियन्त्रणमा लिए । उनले गिद्ध समातेको देखेर छोइछिटो गर्ने पनि थिए । कतिले गिज्याए । कतिपयको उनलाई हेर्ने दृष्टिकोण बदलियो । व्यवहार परिवर्तन गरे । जस्तोसुकै व्यवहार सहनुपरे पनि भुसालले गिद्धको पिछा गर्न छाडेका छैनन् । गिद्ध संरक्षणप्रति उनको लगाव झन् बढिरहेको छ । अहिले उनी मुलुकका स्थापित गिद्ध विशेषज्ञमा दरिएका छन् । आईयूसीएनअन्तर्गत गिद्ध विज्ञ समूह नेपालका सदस्य पनि छन् उनी ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–३, अर्घाका बासिन्दाको घर नजिकै गिद्धको बासस्थान थियो । सेतो, हिमाली र हाडफोड गिद्ध अवलोकन गरेर आनन्द बटुल्थे । गिद्धको आनीबानी नौलो लाग्थ्यो । सानैदेखि उनी गिद्धसित हेलमेल भए । नजिकिए । सोधखोज गर्न थाले । अध्ययन गरे । उनले प्राणीशास्त्रमा स्नातकोत्तर गरेका छन् । थेसिस (शोधपत्र) पनि गिद्धमै लेखे । ‘यसले गिद्धसँग भावनात्मक लगाव बढ्यो,’ उनले भने, ‘निरन्तर गिद्ध संरक्षणमा छु ।’

२००९ देखि गिद्ध संरक्षणको काम गर्दै आएको उनले बताए । पन्छी संरक्षण संघ (बीसीएन) मा १० वर्ष गिद्ध संरक्षण अधिकृतका रूपमा काम गरेको उनले सुनाए । २०२२ देखि स्वतन्त्र रूपमा काम गरिरहेका छन् । ‘बाह्र वर्ष राजमार्ग गिद्ध ट्रान्सेक्ट सर्वेक्षण गरे,’ उनले भने, ‘मसहितको टोलीले हरेक वर्ष पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको नारायणगढबाट सुरु गरी कञ्चनपुरको गड्डाचौकीसम्म करिब ५ सय ६० किमि राजमार्ग सर्भे गर्दै आएको थियो ।’ 

त्यसक्रममा पश्चिमी पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुला पनि गिद्ध सर्भे गर्दै पुगेको उनले बताए । दाङ, सल्यान, प्यूठान, रोल्पा, अर्घाखाँची, गुल्मी, कास्की, पाल्पा, स्याङ्जा र तनहुँमा पनि गिद्ध अनुगमन गरेको उनले बताए । यसक्रममा गिद्ध बढी पाइन क्षेत्रमा अध्ययन गरेर उनी मुलुकको गिद्धको अवस्था पत्ता लगाएको उनले बताए । २० किमि प्रतिघण्टाको गतिमा गाडीमा बसेर उनी गिद्ध सर्वेक्षण गर्छन् । यही सर्वेक्षणबाट मुलुकले गिद्ध संरक्षणमा अपनाउनुपर्ने नीति र रणनीति बनाउन उनले योगदान गरे । तराईको समथर फाँटदेखि हिमालको चुचुरोसम्मै गुँड खोज्दै पुग्छन् । माउ बचेराको अनुगमन गर्छन् । प्रजाति छुट्याउँछन् । गिद्धको तस्बिर लिन्छन् । लोप हुनुको कारण पत्ता लगाउँछन् । अनुसन्धान गर्छन् । संख्या अनुगमन गर्छन् । आहारको खोजबिन गरेका छन् । कस्तो रूखमा गिद्ध बस्न रुचाउँछ ? अध्ययन गरेका छन् । अहिले पनि उनी गिद्ध पछ्याउँदै फिल्डमा छन् । ‘गिद्धसँगै आनन्द लाग्छ,’ उनले भने, ‘उसकै साथी बनेर बस्छु ।’ भर्खर उनले लेखेको ‘गिद्ध प्रकृतिका कुचिकार’ पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा गिद्धको उत्पत्ति, विकासक्रम, गिद्धको आहार, प्रजनन र बानी व्यहोरा, गिद्धको पारिस्थितिकीय महत्त्व, गिद्धको सामाजिक, धार्मिक र सांस्कृतिक सम्बन्धलगायतका विषय समेटिएका छन् । पुस्तकको आम्दानी पनि गिद्ध संरक्षणमै खर्च गर्ने बताउँछन् । 

भुसाल संलग्न टिमले गिद्धबारे विश्वमै पहिलो पटक नेपालमा नयाँ काम गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरास्थित ‘भल्चर ब्रिडिङ सेन्टर’ मा हुर्काइएका ६ गिद्धका पखेटामा ‘स्याटेलाइट ट्रान्समिटर’ जोडेर नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट क्षेत्रको अस्थायी ठूलो खोरमा सारिए । उक्त काममा पन्छी संरक्षण संघ नेपाल (बीसीएन) कै देवेन्द्र चापागाईं, रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्ड्स (आरएसबीपी) का वैज्ञानिक टोबी हेथ ग्यालिगान, पशु चिकित्सक डा. अमिर सडौला संलग्न थिए । ‘डंगर प्रजातिका गिद्धलाई प्रजनन केन्द्रमा हुर्काएर बाहिर छोडिएको विश्वमै यो पहिलो पटक हो,’ भुसाल भन्छन्, ‘पखेटामा जोडिएको स्याटेलाइटले गिद्धको गतिविधि, उसको आहारालगायतका गतिविधिको सूचना दिन्छ ।’ स्याटेलाइटले दिएको सन्देश डाउनलोड गरेर भुसालले गिद्धका गतिविधि अध्ययन गरेका थिए । सन् २०१५ देखि २०२१ सम्म करिब सय वटा सुन गिद्ध र डंगर गिद्धमा स्याटेलाइट ट्रान्समिटर जोड्न उनी सक्रिय थिए । प्रजनन केन्द्रमा हुकाईएका डंगर गिद्ध प्राकृतिक बासस्थानमा बाँच्न सक्छन् कि सक्दैनन् भनेर हेर्न यिनका पखेटामा स्याटेलाइट ट्रान्समिटर जोडिएको हो । भुसालका अनुसार खोरमा हुर्किएका गिद्धका बच्चा प्रकृतिमा कसरी एडप्ट हुन्छन्, अनुकूलित हुन सक्छन् सक्दैनन् । तिनको मुभमेन्ट कस्तो हुन्छ भनेर अध्ययन गर्न स्याटेलाइट ट्रान्समिटरले सहयोग गर्छ । त्यस्तै ट्याग लगाएका जंगलीगिद्ध पनि कसरी मुभमेन्ट गर्छन् भनेर अध्ययन गर्ने काम पनि उनले गर्दै आएका छन् । 

सन् २०१७ को अन्त्यमा ढाडमा स्याटेलाइट जोडेको जंगली विश्वमै दुर्लभ डंगर गिद्ध पूर्वी नवलपरासीको पिठ्यौलीबाट भारत पाकिस्तान सीमा जम्मु कस्मिरमा छ । ट्याग लगाएको गिद्ध १ हजार १ सय किमि पार गर्दै जोडी खोज्दै त्यहाँ पुगेको उनले बताए । ‘अहिले उक्त गिद्ध पाकिस्तानी सीमाको १५ किमिभित्रतिर छ,’ उनले भने । उनी दैनिक त्यसैको अनुगमन गर्दै बसेका छन् ।

अहिलेसम्म उनले २ सय ५० भन्दा बढी गिद्धको उपचार र उद्धार गरिसकेका छन् । सिनो खादा गिद्ध बिरामी पर्छन् । रोग निको गर्न जनावरलाई सुई लगाइन्छ । उक्त सुई गिद्धका लागि विषाक्त बन्छ । त्यसले बिरामी पर्छन् । त्यस्तै चिसोका बेला हिमाली गिद्ध तराई झर्छन् । त्यसबेला बाटो थाहा नहुँदा पहाड र पहरामा ठोक्किएर घाइते बन्छन् । तराईमा गिद्ध उड्ने बेला अग्ला पोल र बिजुलीका तारमा छोइएर घाइते बन्छन् । ‘सूचना आउना साथ पुग्छु,’ उनले भने, ‘अधिकांशले नयाँ जीवन पाएका छन् ।’ गिद्ध अनुगमन, संरक्षण र उपचारका लागि भुसाल ६८ जिल्ला पुगिसकेका छन् । समुदायको पहलमा नेपालमा भइरहेको गिद्ध संरक्षण काम विश्वमै नमुना बनेको छ । त्यसैले कथा सुनाउन उनी बंगलादेशदेखि बेलायत र अमेरिकासम्म पनि पुगेका छन् । 

गिद्ध ठूला मांसाहारी पन्छी हो । सिकारी चरा समूहअन्तर्गत पर्छ । यसले आफैं सिकार गर्दैन । मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहर पदार्थ खाई प्रदूषण दुर्गन्ध र रोगमुक्त बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । त्यसैले गिद्धलाई ‘प्रकृतिको कुचिकार’ भनिन्छ । यस्ले रेविज, प्लेग, हैजा, आउँ, झाडापखाला, एन्थ्रेक्स्, ब्रुसेलोसिस् र क्षयरोग (टीबी) जस्ता सरुवा घातक रोग फैलिनबाट रोक्छ । पर्यावरणीय चक्र, जैविक विविधता र मानव जातिलाई स्वस्थ राख्नका लागि गिद्धको महत्त्व उत्तिकै छ । 

हिन्दु धर्ममा गिद्धलाई शनि देवताको बहानाको रूपमा पुजिन्छ । प्रसिद्ध धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लंका लैजाँदा सीतालाई जोगाउन गिद्ध अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ । नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्बतीयन मूलका लामा समुदायले गिद्धलाई शव खुवाउँछन् । गिद्धले राम्ररी शव खाएको व्यक्ति धार्मिक र स्वर्ग जाने विश्वास रहेको छ । गिद्ध खाद्यशृंखलाको माथिल्लो शृंखलामा बस्छ । यसले वातावरणीय सन्तुलन र जैविक विविधताको संरक्षणमा महत्त्वपूर्ण योगदान गरेको छ । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully