सात दशकमा पनि उस्तै सक्रिय

कलाकार मदनकृष्ण श्रेष्ठ पछिल्लो समय शारीरिक रूपमा कमजोर छन् । तर, मन र इच्छाका रूपमा भने निकै सक्रिय । काठमाडौंमा आयोजित ‘मदनकृष्ण नाट्यशाला’ कार्यक्रममा उनले गीत मात्र सुनाएनन्, दर्शकलाई पनि मजाले हँसाए ।

आश्विन २१, २०८०

मधु शाही

काठमाडौँ — मह जस्तै गुलियो मुस्कान छर्दै मदनकृष्ण श्रेष्ठले दर्शकदीर्घामा आसीन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीतिर हेरे । ‘अचेल केपी बाले हँसाउनुहुन्छ, उखानटुक्का फ्याँकेर,’ मदनले मञ्चबाट कुरा थप्दै गए, ‘हुन त उहाँ मभन्दा एक वर्षले जेठो हुनुहुन्छ । जोक्स मिठा छन् ।’

 मञ्चमा चारैतिर हाँसो गुन्जियो । हँसाउँदिनँ भन्दै पनि मदनकृष्णले दर्शकलाई मजाले हँसाइरहेका थिए । यति मात्रै होइन, गीत सुनाएर पनि दर्शकलाई आफ्नो जीवनप्रति नोस्टाल्जिक बनाइरहेका थिए । 

राजधानीमा शुक्रबार आयोजित ‘मदनकृष्ण नाट्यशाला’ कार्यक्रममा मदनकृष्णले आफ्नो जीवनी, कलाकारिता र विगतका रमाइला क्षण दर्शकमाझ प्रस्तुत गरेका हुन् । छोरा यमन र छोरी सरनाले मदनको सिर्जनामा साथ दिएका थिए ।

सिस्नोपानीले गरेको नाट्यशालामा मदनकृष्णले गीत गाए । मदन पछिल्लो समय शारीरिक रूपमा अशक्त छन् । तर, मन र इच्छाका रूपमा भने सक्रिय छन् । ‘म शरीरले साथ दिँदासम्म सिर्जनशील भइरहन्छु’, उनी भन्दै थिए । 


कार्यक्रमको सुरुवातमा उनले पत्नी (यशोधा सुवेदी) सम्झिए । त्यो सम्झना पनि सिर्जना थियो । पत्नीकै स्मरणमा उनले केही शब्द लेखेका रहेछन् । उनको धेरै याद आउँछ भन्दै भावुक भए । ‘तिमी जुन जस्तै लाग्छौ प्यारो...’, मदनकृष्णले लेखेको गीतलाई छोरी सरनाले गाइन् । मञ्चमा गीत गाउने, हँसाउने र रुवाउने काम भइरहेको थियो । पूर्वप्रधानमन्त्री ओली र बाबुराम भट्टराई, हिसिला यमी, गगन थापालगायत थुप्रै नेता तथा कलाकार उपस्थित थिए । मञ्च फूलै फूलले भरिएको थियो । सबै पूरा भएर पनि केही नभएजस्तो थियो । कारण मह जोडीका ‘ह’ थिएनन् । मदनकृष्णको कार्यक्रममा हरिवंश आचार्य नदेखिँदा दर्शकले अपूरो र खल्लो महसुस गरेका थिए । मदनले यो कौतुहलतालाई मञ्चमै स्पष्ट पारे । ‘हरिवंश सुटिङ भएकाले आउन भ्याएन,’ उनले भने, ‘म जहाँ छु, हरिवंश त्यहीं छ भनेर सम्झिनुस् ।’ 

चार दशकअघिको कलाकारिता यात्रा सम्झिँदै मदनकृष्णले गायक र अभिनयको संघर्ष सम्झिए । खासमा उनी गायक बन्ने सोचमा थिए । केही गीत गाए । नाकमा समस्या देखिएपछि उनले केही समय कलाबाट विश्राम लिएका थिए । ‘यत्तिकैमा फ्याट्ट हरिवंश भेटियो,’ उनी भन्छन्, ‘त्यसपछि उसैको दौंतरी भएर यहाँसम्म आयौं ।’ हरिवंश र मदनकृष्ण पर्यायवाची हुन् । मदनकृष्णले श्रीमतीपछिको गहकिलो प्रेम हरिवंश रहेको बताए । ‘खै, त्यो मान्छेसँग मेरो के साइनो छ ?’, उनी भन्छन्, ‘मह जस्तै मिठो र गहिरो छ ।’ 

मित्रता र सम्बन्ध बलियो बनाउने सूत्र मदनले मञ्चमै खोल्दै गए । म भावबाट उठेर हामीको सोच राख्न सकियो भने सम्बन्ध सधैं गनिलो हुने उनले बताए । पछिल्लो समय कलाकारितामा चर्चाको लोभ बढी हुन्छ । दर्शक बढाउने । मदनकृष्णका अनुसार मह जोडी कहिल्यै भ्युअर्स बटुल्न लागेन । समाज रूपान्तरण गर्न र राज्यमा लोकतन्त्र स्थापित गर्न मह जोडीले कलाको अस्त्र प्रयोग गरेको मदन बताउँछन् । ‘लोकतन्त्र विधिको शासन हो,’ उनी भन्दै गए, ‘हामीले जहिले लोकतन्त्रका लागि कलात्मक कार्य गर्‍यौं ।’


मदनकृष्णको भावनामा साक्षी बन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हाँस्नकै लागि हँसाउने भन्दा पनि चेतना जगाउन हँसाउने कलाकार मह जोडी रहेको बताए । ‘धेरै कलाकार हँसाएर मात्रै बस्छन्,’ ओली भन्छन्, ‘मह जोडीले चेतनासहित हँसाउँछन् ।’ राज्यलाई पञ्चायती व्यवस्थादेखि लोकतान्त्रिक शासन स्थापित गर्न मह जोडीको सांस्कृतिक भूमिका महत्त्वपूर्ण रहेको बताए । 

मदनकृष्णले ‘अर्बौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे...’, ‘खोला वारि खोला पारि पीपलु र वर...’, ‘एउटा सपना छ...’ गीत गए । त्यस्तै, छोरा यमनले ‘सेल्फी....’, ‘एउटै लक्ष्यको बाटोमा...’, र छोरी सरनाले ‘एकतर्फी माया हो मेरो...’ गाइन् । मदनकृष्णले दुई छोराछोरीबीच गाएका थिए । उनलाई उत्साहित बनाउँदै छोराछोरीले गायनमा साथ दिए । पत्नी बितेपछि एक्लै महसुस हुन नदिन छोरा यमन अमेरिका छाडेर घरमै बसेका छन् । छोरी बेलाबखत भेट्न आउँछिन् । 


बुढेसकालमा छोराछोरीको मायाले अझै सिर्जनशील बनाउन प्रेरणा मिलेको मदनले सुनाए । उनले पछिल्लो समय युवापुस्ताको मन छुने गीत ‘फूलबुट्टे सारी सपक्कै पारी...’ गाए । जुन लोकप्रिय छ । पाको पुस्तादेखि युवापुस्तासम्मै मह जोडीको सिर्जनामा रमाउँछन् । त्यसैले कलाकारिताको उच्चतम शिखरका रूपमा मदन र हरिवंशको जोडी रहेको कांग्रेस नेता गगन थापाले बताए । ‘उहाँ तीन पुस्ताकै लोकप्रिय कलाकार हुनुहुन्छ,’ उनी भन्छन्, ‘जुन कमै कलाकारमा यो क्षमता पाइन्छ ।’ 

सिस्नोपानी नेपालले गरेको यो कार्यक्रममा नेता, राजनीति, देशको विकृति र विसंगतिमाथि व्यंग्य गरिएको थियो । करिब दुई घण्टाको कार्यक्रममा मदनकृष्णका शब्द, स्वर गुन्जिए । पत्नीको सम्झनामा गाएर सुरु गरिएको कार्यक्रम देशभक्ति गीत ‘सय थरी बाजा एउटै ताल...’ मा टुंगिएको थियो । मदनकृष्ण, सरना र यमन तीनै जना मिलेर सामूहिक रूपमा गीत गाए । कार्यक्रम पारिवारिक प्रेमसँगै राष्ट्रप्रेममा पुगेर टुंगिएको थियो । मदनकृष्णले हरेक क्षण भन्दै थिए, ‘प्रेम हुनुपर्छ सबै ठिक हुन्छ,’ आफ्नै परिवार र दर्शककै प्रेमले बाँचेको बताए । ‘बिनाप्रेम केही छैन,’ उनी भन्दै थिए ।

युवा ग्यालरी

मधु

Link copied successfully