स्काइवाक भित्र्याउने आकर्षण

गोरखामा जन्मिएका ३५ वर्षीय आकर्षणले विकसित देशमा पढ्ने र काम गर्ने थुप्रै अवसर पाए । तर नेपालमै केही गर्ने सोचले नेपाल फर्किएका उनको नेतृत्वमा काठमाडौंको कमलादीमा ‘स्काइवाक भ्यु टावर’ सञ्चालनमा आएको हो ।

आश्विन १९, २०८०

सीमा तामाङ

करिब सात वर्षअघि दक्षिणपश्चिम चीनको छोङछिङको पर्यटकलाई लक्षित गरी १ सय २० मिटर अग्लो ‘स्काइवाक’ सञ्चालनमा आयो ।

एक पटककमा ३० जनासम्म हिँड्न मिल्ने स्काइवाकमा स्थानीय तथा विदेशी पर्यटकले रमाइरहेका भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भए । स्काइवाकका भिडियो हेरेर रमाउने र भिडियोहरू सेयर गर्ने नेपालीको संख्या पनि उल्लेख्य थियो । तर नेपालमै त्यस्तो संरचना बनाउनेतर्फ भने लामो समयसम्म कसैले सोचेनन् ।

गोरखामा जन्मिएका ३५ वर्षीय आकर्षण पोखरेललाई भने ती दृश्यले फरक तरिकाले सोच्न बाध्य बनाइदिए । फलस्वरूप उनी आफैंले नेपालमा त्यस्तै प्रकृतिको संरचना निर्माण गर्ने सोच बनाए । सिसामा हिँड्न मिल्ने एड्भेन्चर बनाउनकै लागि चेक रिपब्लिक र अमेरिकाका डिजाइनरहरूलाई भेटे । प्रोजेक्टबारे छलफल गरे । ‘ज्यासफर नेसनल पार्क’ निर्माण गरेको क्यानेडियन आर्किटेक्चर कम्पनीका प्रतिनिधिलाई त नेपालमै ल्याएर विभिन्न स्थान देखाए । 

‘काठमाडौंदेखि नारायणघाट मात्र होइन, कर्णालीका विभिन्न ठाउँहरू हेर्‍यौं,’ उनले भने । तर काठमाडौंको कमलादीस्थित हाल ‘स्काइवाक भ्यु टावर’ रहेको जग्गा हेरिसकेपछि भने उनको मनमा एउटा कुरा खेल्यो । ‘काठमाडौंमा पनि एउटा ल्यान्डमार्क टावर जरुरी छ,’ आकर्षणले भने, ‘खासमा काठमाडौंमा एउटा परम्परागत धरहरा छँदै छ । त्यस्तै अर्को आधुनिक चाहिन्छ भन्ने लाग्यो ।’ त्यसपछि हो, उनले स्काइवाक टावर बनाउने निधो गरेको । इनिसियल कन्सेपच्युअल डिजाइनदेखि सबैमा क्यानिडियन कम्पनीकै सहयोगमा खडा भएको हो उक्त टावर । 


७८.५ मिटर अग्लो स्काइवाक गत असारबाट सर्वसाधारणका लागि खुला गरिएको हो । उक्त संरचना दक्षिण एसियाकै अग्लो भएको सञ्चालक कम्पनी वन्डर्स नेपालको दाबी छ । कम्पनीका अनुसार २०७६ मंसिरदेखि नै सुरुवात भए पनि कोभिड महामारीलगायतका कारण सर्वसाधारणका लागि खुला गर्न केही ढिलाइ भएको हो । स्काइवाकबाट ३६० डिग्रीमा काठमाडौं उपत्यकाको दृश्य अवलोकन गर्न मिल्छ । ‘टावर सञ्चालनमा आएसँगै स्काइवाकको मजा लिनकै लागि विदेश धाउनुपर्ने अवस्था अन्त्य भएको’ कम्पनीको भनाइ छ । ‘वरिपरिका दृश्यहरू हेर्दै सिसामा हिँड्न पाइने र रोमाञ्चक महसुस हुनेछ,’ कम्पनीले उल्लेख गरेको छ । यसमा ब्रिटिस स्ट्यान्डर्डका ३३ एमएम मोटाइका सिसा प्रयोग गरिएको छ । करिब २ अर्ब लगानीमा पहिलो चरणको प्रोजेक्ट सकिएको बताउँछन् आकर्षण । 

गोरखामा जन्मिएका ३५ वर्षीय आकर्षण पोखरेल एसएलसी दिइसकेपछि पढाइकै लागि काठमाडौं भित्रिए । काठमाडौं विश्वविद्यालयबाट आईएस्सी गरेका आकर्षणले एक्मी इन्जिनियरिङ कलेजबाट इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा इन्जिनियरिङ सकाए । थप अध्ययनका लागि जापानको रिक्यु विश्वविद्यालय पुगे । त्यहाँ दुई वर्षको अध्ययनपछि नेपाल फर्के । कोही विदेश पुगेर नेपाल फर्कन्छन् भने कोही विदेश जानकै लागि लालयित छन् । आकर्षणकै परिवारले पनि उनलाई विदेशमा बस्न सुझाएका थिए । तर देशको मायाले फर्किए । नेपालमै बसिरहेका बेला २०१५ मा संयुक्त राष्ट्रसंघको इन्टरनेसनल योङ लिडर एसेम्बलीमा अमेरिका जाने निम्तो पाए उनले । त्यसपछि अमेरिका पुगेका उनलाई साथीभाइ, परिवार सबैले उतै ‘सेटल’ हुन सुझाव दिएका थिए । तर झन्डै एक साताको कार्यक्रम सकाएर उनी नेपाल फर्किहाले । 


जापानमा अध्ययन र अमेरिकामा भ्रमणका क्रममा उनले विकास के रहेछ भन्नेबारे प्रशस्तै बुझ्ने मौका पाएका थिए । उनी जहाँ जान्थे,आफ्नो देश र त्यहाँको अवस्थाबारे तुलना गरिहाल्थे । अमेरिका पुग्दा पनि उनको ध्यान त्यसैमा जान्थ्यो । तर उनले गर्ने विकास र संरचनाको तुलना फरक हुन्थ्यो । ‘मेरो ध्यान अमेरिकाबाट नेपालमा केही चीज लैजान सकिन्छ कि भन्नेमा हुन्थ्यो,’ उनले उतिबेलाको कुरा सम्झिए । कार्यक्रम सकेर नेपाल फर्केका उनी नेपालमा केही नौलो गर्न सकिन्छ भनेर अध्ययनकै लागि फेरि अमेरिका पुगे । 

‘धेरै समय बाहिर बस्नै सकिन, मान्छेहरू दशकौंसम्म विदेशमा बसेको देख्छु । तर म त कहिले नेपाल जाउँला भनेर बस्थें,’ उनले भने, ‘भौतिक खुसीले मात्रै चित्त बुझ्दो रहेनछ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे नेपाल नै उनलाई मन पर्छ ।’ धूलै नउड्ने, हिलो नै नहुने सहरमा आफू अटाउन नसकेको बताउँछन् आकर्षण । सोही क्रममा अमेरिकामा बस्दै उनले साथीको सहयोगमा काठमाडौंमा ‘वन्डर्स नेपाल’ नामक कम्पनी दर्ता गरेका हुन् । 

नेपाल आफैंमा वन्डरफुल भएकाले पनि कम्पनीको नाम ‘वन्डर्स नेपाल’ राखेको उनले बताए । कम्पनी दर्ता गरे पनि एक समय उनलाई क्यानडामा बस्ने सोच पनि आएको थियो । पढाइ, बसाइ र काम मिलेपछि उनले क्यानडा सर्ने योजनासमेत बुनेका थिए । तर तीन वर्ष अन्य मुलुकमा बस्दा पनि उनी हरेक दुई/तीन महिना नबित्दै नेपाल उत्रन्थे । त्यसैले हो स्थायी रूपमै क्यानडा बस्न छाडेर २०१८ मा नेपाल फर्केको । विभिन्न देशमा सेटल हुने मौका छाडेर नेपाल फर्कंदा भने उनलाई साथीहरूले नै गाली गरेका थिए । 


‘अध्ययन र रोजगारीका सिलसिलामा युरोप, अमेरिका, क्यानडा र जापानलगायत विभिन्न मुलुक घुमें,’ आकर्षण भन्छन्, ‘सिसाका संरचनामा कैयौं मिटर माथि हिँड्दा आफूले लिएको रोमाञ्चक अनुभव आफ्नो योजनामा नेपालीलाई गराउन पाउँदा भने निकै सन्तुष्टि मिल्छ ।’ तर पछिल्लो समय नेपालीहरूले फरक काम गर्नेभन्दा पनि अरूको नक्कल गर्ने प्रचलन बढेकामा भने चिन्तित छन् उनी । ‘आफैं नयाँ केही गर्छु भन्ने अभाव छ,’ आकर्षणले भने, ‘त्यसकारण पनि म फरक किसिमका व्यवसायमा संलग्न भएको हुँ ।’

उनकै अगुवाइमा धरानस्थित भेडेटारमा पीपीपी मोडलमा क्यान्टी लिभर ब्रिज बनाउने काम सुरु भइसकेको छ । इलामको कन्याममा पनि त्यस्तै संरचना निर्माण गरी सञ्चालनमा आइसकेको छ । कन्याममा वन्डर्स नेपालकै लगानीकर्ताका श्रीमतीको समूहले व्यवस्थापनको काम गरिरहेको छ । लुक्लादेखि छेदिङमासम्म केबलकारको डीपीआर पनि तयार पारिसकेको छ उनको कम्पनीले । छेदिङमाको टपमा ५० वटा लक्जरियस भिल्ला बनाउने योजना रहेको आकर्षणले बताए । योजना सकिँदासम्म हजारौं नेपालीले रोजगारी पाउने भएकाले पनि आफूलाई निकै खुसी मिल्ने उनको भनाइ छ । ‘म विदेशमै बसेको भए आफ्नै लागि काम खोज्दै हिँड्नुपर्थ्यो । तर आज अरूलाई रोजगारीको अवसर दिन सक्ने भएको छु,’ उनले भने ।

युवा ग्यालरी

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Link copied successfully