‘स्टार्ट अप’ मा नयाँ पुस्ता

सन्जु पौडेल

लुम्बिनी — काठमाडौंको नागार्जुन–३ का २७ वर्षीय निशान्त मरासिनीले क्रिसा डटकम ‘एप्लिकेसन’ चलाइरहेका छन् । डेढ वर्षदेखि ‘कस्टमर क्यान अफर प्राइस’ उद्देश्यमार्फत एप्लिकेसन (एप) सञ्चालन गरिरहेको उनले बताए ।

‘स्टार्ट अप’ मा नयाँ पुस्ता

‘एपमार्फत ग्राहकसमक्ष विभिन्न वस्तु पस्किरहेका हुन्छौं,’ उनले भने, ‘ग्राहकले रोजाइको वस्तुको मूल्य यतिसम्म भए किन्छौं भनेर एपमै अपलोड गर्नुहुन्छ, यदि उक्त रेटमा बिक्री गर्न मिल्ने भए ग्राहकलाई सामान उपलब्ध गराउँछौं ।’ ग्राहकको घरसम्म सामान पुर्‍याउन मुलुकका विभिन्न सहरका डिलरसित सम्झौता गरिएको उनले बताए ।

एफमार्फत सुरुआत गरिएको व्यापारले जीविकोपार्जनमा सहयोग मिलिरहेको उनले बताए । ‘यसैमा निर्भर हुने अवस्था त बनिसकेको छैन,’ उनले भने, ‘स्टार्टअपले धेरथोर सहयोग मिलेको छ ।’ संघीय राजधानीबाट रूपन्देहीको तिलोत्तमामा तीन दिन सञ्चालन भएको बुट क्याम्पमा सहभागी हुन आएका थिए । क्याम्पमा मुलुकका विभिन्न सहरबाट २७ जना युवा उद्यमीे सहभागी थिए । स्नातकोत्तर अध्ययन पूरा गरेपछि कुन व्यवसाय सुरु गर्ने भनेर द्विविधामा परेको मरासिनीले सुनाए । ‘एपमार्फत सामान बिक्री गर्न थाले,’ उनले भने, ‘अहिले अनुभव हासिल गर्दै छु ।’ समाजमा एप हेरेर सामान अर्डर गर्ने बढेकाले सजिलो भएको उनले बताए । व्यवसायलाई कसरी चुस्तदुरुस्त रूपमा अगाडि बढाउन सकिन्छ भनेर घोत्लिने गरेको उनले बताए । आफ्नो व्यवसायलाई उकास्न तालिममा सहभागी भएको उनको भनाइ छ ।

‘बुट क्याम्पबाट मिलेका आइडियाले व्यापारमा भ्यालु एड हुने विश्वास लिएको छु,’ उनले भने, ‘मुलुकमै बसेर केही गर्न सके हुन्थ्यो भन्ने लागेको छ ।’ तर, युवालाई मुलुकभित्र टिकाउने नियम/कानुन नभएको उनले गुनासो गरे । व्यवसाय दर्तादेखि यसलाई अगाडि बढाउने क्रममा धेरै झमेला बेहोर्नुपरेको उनले बताए । ‘मुलुकमै केही गर्न चाहनेलाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने, ‘सरकारी झमेलाले विदेश पलायनका लागि ढोका खोल्ने गरेको पाए ।’ उनका पिता शिक्षक र आमा गृहिणी हुन् । अभिभावकले आफूलाई विदेश गइदिइहुन्छ जस्तो भाव देखाइरहने उनले बताए । ‘अहिले मेरो काममा सघाइरहनुभएको छ,’ उनले भने, ‘यसको भविष्यप्रति ढुक्क हुनुहुन्न ।’ धेरै पटक विदेशिने अवसर पाएर पनि नगएका मरासिनीले देशमा यस्तै अवस्था रहिरहे पलायनको विकल्प नहुने बताए ।

रूपन्देहीको सैनामैना–१ की कविता खड्काले खेर गएका र पुराना कपडाको रि–डिजाइन गर्ने सोचअनुसार तयारीमा लागेको बताइन् । एक पटक लगाइसकेका लुगालाई नयाँ डिजाइनअनुसार तयार गरेर बजारमा ल्याउन सकिन्छ कि भनेर साथीसित सल्लाह गरिरहेको उनले बताइन् । ‘फ्याँकिएका लुगालाई नयाँ डिजाइन गरेर फेसनमा ल्याउने हो,’ उनले भनिन्, ‘कपडाको पुनःप्रयोगलाई जोड दिएकी हुँ ।’ एक पटक लगाएपछि धेरै कपडा दराजमा थन्किने गर्छन् । त्यस्ता कपडालाई नयाँ फेसनअनुसार तयार गर्न सकिए पुनः प्रयोग हुने उनको भनाइ छ ।

यही सोचअनुसार ‘स्टार्टअप’ व्यवसाय अगाडि बढाउन उनले विभिन्न तालिममा सहभागी भइरहेको बताइन् । सात महिनादेखि नेपलिज योङ इन्टरप्रिनियर्स फोरम (एनवाईईएफ) जिल्ला शाखाका गतिविधि र कार्यक्रममा सहभागी भएर हौसला बटुलिरहेको उनले बताइन् । ‘मेरो सर्कललाई व्यवसाय गर्न प्रेरित गरिरहेकी छु,’ उनले भने, ‘मेरो आइडियालाई स्थापित उद्योगी र व्यावसायिक संस्थाले साथ दिइरहेका छन् ।’ साइकल मर्मत पसल सञ्चालन गरिरहेका बुवाले मुलुकमै केही गर्न प्रेरणा दिने गरेको उनले बताइन् । ‘कपडाको रि–डिजाइन व्यवसायमा थोरै लगानी र धेरै मिहिनेत लाग्ने देखेकी छु,’ उनले भनिन्, ‘प्रतिफल राम्रो हुन्छ ।’ अहिले स्थानीयदेखि संघीय सरकारले युवालाई मुलुकमै रोक्ने खालका कार्यक्रमलाई प्राथमिकता नदिएको उनले बताइन् । ‘भएका कार्यक्रममा पहुँचवालाले अवसर पाउँछन्,’ उनले भनिन्, ‘हामी केही गरौं भन्ने चाहिँ रनभुल्ल हुन्छौं ।’ थोरै लगानीबाट थालेर बिस्तारै व्यवसाय अगाडि बढाउने उनले बताइन् ।

कास्कीको पोखरास्थित नन्दीपुरका २० वर्षीय आदित्यदेव प्रजु बीबीए अध्ययनरत छन् । उनको पारिवारिक व्यवसाय चौथो पुस्तामा हस्तान्तरण भइसकेको छ । समय मिलाएर व्यवसाय हेर्ने गरेको उनले बताए । हुलास, सेलो तेल, वाग्मती प्लास्टिक, धोनी साबुनको बिक्री गर्छन् । व्यावसायिक घरानामा हुर्किएकाले व्यापार प्रक्रिया बुझ्न समस्या नभएको उनले बताए । ‘तर, पुरानो शैलीमै व्यापार गरिरहेका छौं,’ उनले भने, ‘समयअनुसार ग्राहक र व्यापारका तरिका बदलिएका छन् । म व्यवसायलाई आधुनिक शैलीबाट अगाडि बढाउन खोजिरहेको छु ।’ यहाँ सञ्चालन भएको बुट क्याम्पमा व्यापारका नयाँ तरिकाबारे उनले जिज्ञासा राखेका थिए । ‘हजुरबुवा र बुवाले अपनाइरहेको शैलीबाट म अगाडि बढ्न सक्दिनँ,’ उनले भने, ‘समय बदलियो, ग्राहक बदलिँदै छन्, उपाय बदल्न आवश्यक छ ।’

प्रविधिको प्रयोगबाट व्यापार भइरहेकाले आफूलाई अपडेट गर्न जरुरी रहेको उनले बताए । ‘व्यवसाय गर्न सक्छु भन्ने आत्मविश्वास छ,’ उनले भने, ‘बुवाआमाले विदेश गएर पढ्न भनिरहनुभएको छ । तर, मैले यहीं नयाँ गर्नुपर्छ भनिरहेको छु ।’ स्नातकसम्म यहीं अध्ययन गरिरहेको र व्यवसाय बुझेकाले आफ्ना लागि शून्य अवस्था नरहेको उनले बताए । ‘युवामैत्री नीति नियम र तिनको कार्यान्वयन पक्ष सुधार नभएकाले मुलुकलाई घाटा भएको छ,’ उनले भने, ‘युवा विदेशिनु देशलाई घाटा हो ।’ नाफाघाटा रुपैयाँमा मात्र हेर्न नहुने उनले बताए । युवा मुलुकमा नटिक्ने हो भने त्यसको असर राज्यका हरेक निकायमा पर्ने हुँदा सरकार सचेत हुनुपर्ने उनले बताए । युवा पलायन रोक्न हरेक निकायमा उनीहरूका लागि सहज वातावरण हुनुपर्ने उनले बताए ।

बुटवल–१३ की करुणा पुनलाई कृषिमा आधारिक व्यवसाय गर्न मन छ । आधुनिक शैलीबाट कृषि उत्पादनलाई घरघर पुर्‍याउने सोच बनाएको उनले बताइन् । यही अवधारणाअनुसार व्यवसाय सञ्चालन योजना बनाइरहेको उनको भनाइ छ । लुम्बिनी वाणिज्य क्याम्पसमा स्नातक अध्ययन गरिरहेकी छन् । ‘स्टार्टअप’ व्यवसाय सञ्चालनका लागि कसरी तयारी गर्न सकिन्छ भन्ने जानकारी हासिल गर्न बुट क्याम्पमा सहभागी भएको उनले बताइन् । ‘बुट क्याम्पमा नयाँ र पुराना पुस्ताको अनुभव सुन्ने अवसर मिल्यो,’ उनले भनिन्, ‘प्रशिक्षकले स्टार्टअप सफल तुल्याउने आइडिया दिनुभएको छ ।’ सामूहिक कार्यबाट सफलता मिल्ने र नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्न सकिए मात्र युवा पलायन रोकिने उनले बताइन् । उनलाई ‘हस्पिटालिटी’ क्षेत्रमा काम गरेको अनुभव छ ।

थप सीप सिकेर मुलुकमै केही गर्नुपर्छ भनेर अभिभावकले सल्लाह दिइरहेकाले कृषि उत्पादनको बजारीकरणमा लगानी गर्न खोजेको उनले बताइन् । ‘सरकार स्थिर छ, न त आर्थिक स्थिरता,’ उनले भनिन्, ‘यस्तो बेला नयाँ व्यवसाय सुरु गर्न चुनौती नै छ । त्यसैले लगानीकर्ताका लागि सहयोग मिल्ने वातावरण तयार गरिदिए हुन्थ्यो जस्तो लाग्छ ।’ युवाको सोचलाई सुन्ने, सघाउने सरकार आवश्यक रहेको उनले बताइन् । युवा पलायनबाट रोक्न र उनीहरूलाई उद्यममा आकर्षित गर्न ‘बुट क्याम्प’ सञ्चालन गरिएको एनवाईईएफ रूपन्देही शाखाका अध्यक्ष सन्देश श्रेष्ठले बताए । क्याम्पमा मुलुकभरबाट विद्यार्थी, विभिन्न उद्यम गरिरहेका युवा र नयाँ लगानी सोच भएका युवा सहभागी भएको उनले बताए । ‘युवालाई उद्यमसम्बन्धी ज्ञानका साथै मुलुकमै स्वरोजगार कार्यक्रममा सहभागी हुन उत्प्रेरणा प्रदान गर्ने उद्देश्य हो,’ उनले भने, ‘कसरी युवालाई मुलुकमा रोक्न सकिन्छ भन्ने सोचले तालिम कार्यक्रम गरेका हौं ।’ कार्यक्रममा प्रशिक्षकले युवाको ‘स्टार्टअप’ व्यवसाय तयारी बुझेपछि उनीहरूलाई व्यावसायिक रूपमा कसरी अगाडि बढाउन सकिन्छ भने ज्ञान प्रदान गरेको उनले बताए ।

प्रकाशित : आश्विन २, २०८० १२:२२
प्रतिक्रिया
पठाउनुहोस्