च्याम्पियन बडिबिल्डर

मोरङको उर्लाबारीका ललित धिमालले माल्दिभ्सको मालेमा हालै भएको १३ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका छन् ।

श्रावण १८, २०८०

पर्वत पोर्तेल

झापा — मोरङको उर्लाबारीका ललित धिमालको सानैदेखिको सपना थियो बडिबिल्डर बन्ने । स्कुले जीवनदेखि नै जिम गरेर बनेको सुगठित ज्यान देखाएर हिँड्ने हुटहुटी थियो उनमा । चाहना, रुचि र झुकावले ललितलाई बडिबिल्डर मात्रै बनाएन,अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा च्याम्पियनको ताज नै पहिर्‍यायो ।

३७ वर्षीय ललित असार २० देखि २४ सम्म माल्दिभ्सको राजधानी मालेमा सम्पन्न १३ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा विभिन्न देशका बडिबिल्डरहरूलाई पाखा लगाउँदै ७५ केजी तौल समूहमा स्वर्ण पदक जिते । यसै वर्षको मिस्टर हिमालय उपाधि विजेता ललितको तौल समूहमा ६ अन्तर्राष्ट्रिय खेलाडीले स्पर्धा गरेका थिए । 

दक्षिण एसियाली शारीरिक सुगठनकै दौरान भएको प्रथम माल्दिभ्स अन्तर्राष्ट्रिय आमन्त्रण शारीरिक सुगठन प्रतियोगितामा भने ललित १० औं स्थानमा रहे । ‘स्कुले जीवनदेखि नै फिटनेसप्रति मेरो चासो थियो,’ ललितले दुई दशकअघिको पल सम्झिए, ‘बडिबिल्डर कसरी बन्न सकिएला भन्ने चिन्ताले सधैं सताइरहन्थ्यो ।’ 

ललित आफ्नो रुचिमा यतिसम्म प्रतिबद्ध थिए कि २०५८ सालतिरै उनले घरेलु सामानको सहारामा घरमै जिमको अभ्यास गर्थे । किनकि शुल्क तिरेर जिमखाना जाने आर्थिक अवस्था उनको थिएन । घरमै जिमका सामान किनेर ल्याउन पनि उनले सक्थेनन् । तर, बडिबिल्डर बन्ने हुटहुटीले उनलाई छोपिसकेको थियो । त्यसैले उनले फलामको रडमा सिमेन्ट जमाएर डम्पबेल बनाएका थिए । घरमै रहेको बेलगाडाको धुरा (रड) प्रयोग गरेर बारबेल रडका रूपमा उपयोग गरेका थिए । ‘८ कक्षामा पढ्दादेखि बडी बनाउने सोख बढेको थियो,’ ललितले भने, ‘मान्छेको चाहना र रुचिलाई कसैले रोकेर रोक्न नसक्ने रहेछ ।’ 

घरमै अलिअलि जिमको अभ्यास गरेपछि ललितलाई जिमखाना जाने हुटुहुटीले सतायो । उनको हुटहुटीलाई पछिल्लो समय परिवारको साथ र सहयोगमा मिल्यो । छिमेकी विकास धिमाल बिहान कलेजबाट आए पछि जिम जाने गरेको थाहा पाए । अनि त विजयको देखासिखीपछि उनी पनि जिमखाना भर्ती भए । संयोग पनि कस्तो भयो भने जतिबेला ललित जिमखाना जान थालेका थिए त्यतिबेला ठट्यौली शैलीमा प्रकाश ओझाले गाएको ‘जाउ कि क्या हो म पनि जिम खाना....’ भन्ने गीत चर्चामा थियो । ललितलाई भने यो गीत आफ्नै लागि गाएझै लाग्थ्यो । 


तीन वर्ष जति जिमखाना धाएपछि उनलाई लाग्यो, ‘अब जिम धाएर मात्रै जिन्दगी बन्ला जस्तो छैन ।’ अनि एक दिन उनी विदेशिने निर्णयमा पुगे । जिमखाना धाउन छाडेर म्यानपावर एजेन्सी धाउन थाले । २०६५ को अन्त्यतिर उनी श्रमिकको रूपमा यूएई उडे । 

अबुधावीमा कन्स्ट्रक्सन कम्पनीमा काम गरी रहँदा उनले कामका अलवा शारीरिक व्यायाम पनि जारी नै राखे । ‘बढी आराम दियो भने शरीर बिग्रिन्छ,’ उनी भन्छन्, ‘शरीरलाई जतिसक्दो धेरै पेलाउनुपर्छ ।’ उनले त्यही गरे । कम्पनीको काम सकेपछि फुर्सद मिलाएर सधैं केही घण्टा शरीरलाई दिए । ‘व्यायाम आफ्ना लागि हो, अर्काका लागि हैन भन्ने लाग्थ्यो,’ ललितले सुनाए, ‘अहिलेको सफलताको एउटा कारण निरन्तरता र मिहिनेत पनि होला ।’ 

दुईवर्षे काम सकेर स्वदेश फर्केपछि पनि उनी जिमखाना धाउन छाडेनन् । अबुधावीबाट दुई वर्षपछि फर्केपछि उनी करिब एक वर्ष घरमै बसे । जिम जारी राखे । अनि फेरि दोस्रो पटक उडे साउदी । घरायसी आर्थिक समस्याले उनी विदेशिन बाध्य थिए । साउदीमा पनि दुई वर्ष बिताएर फर्किएपछि कतार गए । कतारपछि पुनः साउदी । परदेशमा रहँदा जीउको ख्याल राखिनै रहे । पेटमा बोसो पो लाग्यो कि π उनी सधैं चिन्तित भई नै रहे । जीवनका ऊर्जाशील ९ वर्ष खाडीमा श्रमिकका रूपमा बिताएर सन् २०१८ मा फर्किएपछि भने उनी विदेश नजाने निर्णयमा पुगे । विदेशमा आर्जेको केही रकम लगानी गरी साथीसँग मिलेर उनले २०७३ मा बिर्तामोडमा जिमखानामा सुरु गरे । सँगसँगै आफू पनि जिम गर्दै प्रतियोगिताहरूमा सहभागिता जनाउन सुरु गरे । 

बिर्तामोडमा ग्यालेक्सी फिट्नेस नामको जिम खानाका मुख्य प्रशिक्षक ललित भन्छन्, ‘जिम गर्न आउने साथीभाइको सहयोग र मायाले मलाई आज अन्तर्राष्ट्रियस्तरमा च्याम्पियन बन्न सघाउ पुग्यो ।’ ललित थप्छन्, ‘उहाँहरूको सहयोग, हौसला र माया थिएन भने म यो स्थितिमा पुग्ने थिइन सायद ।’

प्रतियोगिता जितेर फर्किएपछि ललितलाई सम्मान र अभिनन्दन थाप्न भ्याइनभ्याई छ । मालेबाट काठमाडौ ओर्लिएलगत्तै उनलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ, काठमाडौं जिल्ला शारीरिक सुगठन संघ, विभिन्न क्लबका प्रतिनिधि, खेलाडी, प्रशिक्षक, शुभचिन्तक लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित भव्य स्वागत गरेका थिए ।

लगत्तै राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयले सम्मान गरेको थियो । झापामा पनि गत ३० गते उनलाई स्थानीय संघसंस्थाको अगुवाइमा अबिर जात्रासहित बिर्तामोड बजार परिक्रममा गरियो । प्रदेश सरकारले २७ हजार २ सय नगरसहित सम्मान गर्‍यो । ‘सबैको सम्मान र मायाले हौसला बढेको छ,’ ग्यालेक्सी फिटनेसमा उनले कान्तिपुरसँग भने, ‘हामी जस्ता खेलाडीका लागि सम्मान र हौसला ठूलो कुरा हो ।’

ललितको अनुभवमा शारीरिक सुगठन खेल ज्यादै महँगो मानिन्छ । उनले यो खेलमा अर्थको ठूलो महत्त्व हुने बताए । आर्थिक कमजोर हुनेहरू चाहँदा– चाहँदै यहाँ टिक्न सक्ने अवस्था हुँदैन । ‘म जस्ता बडिबिल्डरको दैनिक ५ हजारसम्म त डाइटमै खर्च हुन्छ,’ ललित भन्छन्, ‘यो खेलमा टिकाइराख्न र अन्तर्राष्ट्रिय पदकहरू जित्न सक्ने खेलाडी उत्पादनका लागि सरकारले लगानी गर्न जरुरी छ ।’ 

ललित बिहान ४ घण्टा, बेलुका ८ घण्टा जिममा बिताउँछन् । उनले एक दिनमा ६ वटा उसिनेको अण्डा, माछा आधा किलो, एक किलो चिकन ब्रेस्ट खान्छन् । समयानुकूल खाना घटबढ गर्छन् । वर्क आउट अघि पनि कफी लगायतका शक्तिबर्द्धक खान्की खानुपर्छ । ‘माछा, मासु, सप्लिमेन्ट लगायतका डाइटमा मात्रै दैनिक ५ हजार खर्च हुन्छ,’ उनी भन्छन् ।

उनको क्लबमा दैनिक ३–४ सय जना फिट्नेसका लागि आउँछन् । उनीहरूलाई सिकाएबापत प्राप्त तलब डाइटमै सकिन्छ । परिवार चलाउन नर्स श्रीमतीले सघाइरहेकी छन् । बडिबिल्डरहरूप्रति सरकारले चासो लिने हो भने अझै धेरै अन्तर्राष्ट्रिय उपाधि जिताउँदै विदेशमा नेपाललाई चिनाउन सकिने उनको भनाइ छ । ‘आफ्नो खर्चमा देशको नाम राख्नुपर्ने बाध्यता छ,’ ललित दुखेसो पोख्छन्, ‘यो खेललाई बुझिदिनुपर्‍यो राष्ट्रले ।’ 

युवा ग्यालरी

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully