२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

प्रगतिपथमा प्रगति

रुकुम पश्चिमको जिपु गाउँकी प्रगति भलिबल खेलमा जोडिनकै लागि १४ वर्षको उमेरमा घर छाडेर काठमाडौं पसेकी थिइन् । उनले १७ वर्षको उमेरमा सेटरका रूपमा राष्ट्रिय टिममा स्थान बनाएकी हुन् । 
महेश केसी

रुकुम पश्चिम — पहाडी जिल्ला रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–२ मा पर्छ जिपु गाउँ । यही गाउँमा जन्मिएकी प्रगति नाथलाई सानै उमेरदेखि भलिबलमा निकै रुचि थियो । तर खेलसँग जोडिने मौका भने मिलिरहेको थिएन ।

प्रगतिपथमा प्रगति

न्यु डाइमन्ड युथ स्पोर्ट्स क्लबका प्रशिक्षक कुमार राई भ्रमणका क्रममा रुकुम आइपुगेका थिए । करिब साढे तीन वर्ष जति भयो, क्लबकी टिम कप्तान थिइन्, ललिता नाथ । संयोग नै मान्नुपर्छ, त्यही बेला राईसँग भेट भयो प्रगतिको ।

‘कुमार सर रुकुम आउनुभएको बेला ललिता दिदीको घर आउनुभएको थियो । त्यही बेला उहाँसँग भेट भयो,’ त्यति बेलाको पल सम्झँदै प्रगति भन्छिन्, ‘कुमार सरले तिमी हाइटी छौं । भलिबल खेल्न काठमाडौं जाऊँ भन्नुभयो । सर र ललिता दिदीले घरपरिवारलाई मनाउनुभयो । अनि म काठमाडौं आएँ ।’ तीनै प्रगति हुन्, हाल काठमाडौंमा भइरहेको एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालको प्रतिनिधित्व गर्दै खोलिरहेकी । १७ वर्षको कलिलो उमेरमा अन्तर्राष्ट्रिय स्पर्धाका लागि मैदानमा उत्रिएकी उनी रुकुमकी पहिलो खेलाडी हुन् ।

हाल नेपालको महिला भलिबल राष्ट्रिय टिमबाट खेल्ने ललिताकी काकाकी छोरी हुन् प्रगति । उनलाई यहाँसम्म ल्याइपुर्‍याउने श्रेय भने ललिता र प्रशिक्षक राईलाई जान्छ । पहाडी गाउँमा जन्मेर यहींको धूलो–माटोसँगै हुर्किएकी भए पनि उनले बाल्यकालमा खेल्न पाइनन् । ‘भलिबलमा सानैदेखि रुचि थियो । तर मौका मिलिरहेको थिएन,’ उनी भन्छिन् । गाउँकै जनकल्याण माध्यमिक विद्यालयमा पढिरहेकी उनले आफ्ना लागि प्रशिक्षक राईसँगको भेट अविस्मरणीय भएको बताउँछिन् ।

गाउँ छोडेर कहिल्यै टाढा नगएकी प्रगतिका लागि त्यो नै सबैभन्दा टाढाको र काठमाडौंको पहिलो यात्रा थियो । उनकी दिदी ललिता र प्रशिक्षक कुमारसँग पहिलोपल्ट काठमाडौंमा पाइला राखेकी प्रगतिका लागि बितेको साढे तीन वर्ष गतिवान रहे । गाउँ छोड्दा कक्षा १० मा पढिरहेकी प्रगतिले आफू काठमाडौं आएर न्यु डायमन्ड एकेडेमीमा भर्ना भएको बताइन् । ‘त्यो बेला म १४ वर्षकी थिएँ । काठमाडौं आएको केही महिनामै कोरोना कहर सुरु भयो । सबै गाउँ फर्किए, म चाहिँ न्यु डाइमन्ड युथ स्पोर्ट्स क्लबमा आबद्ध भएर भलिबल अभ्यासमा केन्द्रित भएँ,’ उनले भनिन्, ‘कोरोनाकाल भएका कारण मैले दुई वर्ष पढाइभन्दा खेललाई प्राथमिकतामा राखेर अघि बढ्न पाएँ ।’


तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

दुई वर्ष खेल अभ्यासमै बिताएकी प्रगतिले हालसालै मात्र न्यु डायमन्ड एकेडेमीबाट एसईई परीक्षा दिइन् । ‘उमेर पनि थियो । अनि खेलमा फोकस भएर थप प्रगति गर्न मन लागेर दुई वर्ष १० कक्षामै कायम रहें,’ उनले भनिन् । काठमाडौं उक्लिएर भलिबल अभ्यासमा जमेको पहिलो वर्षपछि प्रगतिले करिब दुई वर्ष स्पाइकरमा रूपमा खेलिन् । २०७८ पुसमा भएको टाइगर कपमा भने प्रगतिलाई सेटरमा खेल्ने अवसर जुर्‍यो । न्यु डायमन्डका प्रशिक्षक कुमार राई भन्छन्, ‘त्यसअघिकी सेटर अरुणा शाहीले टाइगर ग्रुपबाट खेल्ने र अर्की सेटर प्रतीक्षा गुरुङले परीक्षाका बेला नखेल्ने भएपछि मैले प्रगतिलाई सेटरका रूपमा अघि सारे ।’ एक महिना सेटरको प्रशिक्षण लिएर पुसमा टाइगर कपमार्फत सेटरमा रूपमा डेभ्यु गरिन् ।

सेटरका रूपमा खेल्न थालेको करिब १५ महिनापछि प्रगतिको गति यसरी द्रुत बन्यो कि उनी अहिले नेपाली राष्ट्रिय टिममा आबद्ध भएर देशको प्रतिनिधित्व गर्दै खेलिरहेकी छन् । ‘सेटरका रूपमा खेल्न पाउनु नै मेरा लागि सबैभन्दा ठूलो अवसर भयो । यसकारण नै म अहिले यो ठाउँमा छु,’ प्रगति भन्छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गतका विभिन्न प्रतिस्पर्धामा भाग लिइरहेकी प्रगतिसँग कान्तिपुर दैनिकका लागि संवाद गर्नुअघि उनी खेलको तयारीमा व्यस्त थिइन् । सेमिफाइनलमा काजकिस्तानसँग पराजित भए पनि उनको टिमले आइतबार उज्वेकिस्तानलाई हराउँदै तेस्रो स्थान हासिल गरेको छ ।

सेमिफाइनमा सोचेजस्तो नतिजा ल्याउन नसकेपछि प्रतियोगिताका खेलले ऊर्जा थपेको बताउँछिन् उनी । ‘हामीले सकेको गर्‍यौं । आफ्नो खेलप्रति हामी सन्तुष्ट छौं । केही सिक्ने अवसर पनि पाएका छौं,’ उनले भनिन् । गाउँमा घाँस–दाउरा र मेलापात गर्दै पढिरहेकी प्रगतिले करिब साढे तीन वर्षमा शून्यबाट सुरु गरेको खेल यात्रा राष्ट्रिय टिमसम्म आइपुग्नु आफैंमा लोभलाग्दो प्रगति हो । यसका लागि उनी स्वयम्को लगनशीलता र मिहिनेत नै प्रमुख रहेको क्लबका प्रशिक्षक राई बताउँछन् । ‘प्रगतिको गाउँ पुगेका बेला उनको शरीरको उचाइ हेरेर टपक्क टिपेर काठमाडौं ल्याएको हुँ । मेरो सपना उनले पूरा गर्दै छिन् । साथसाथै घरपरिवारको विश्वास पनि जितेकी छन्,’ राईले भने ।


सुरुमा अलराउन्डर स्पाइकर बनाउने योजनाका साथ प्रशिक्षण केन्द्रमा भर्ना गरेको बताउँछन् राई । तर अब भने प्रगति सेटरमै जम्नेमा ढुक्क छन् उनी । मिहिनेत गरे प्रगतिको खेलमा अझै धेरै निखारता ल्याउन सकिने उनको भनाइ छ । ‘उनी राष्ट्रिय टिममा परिन् भनेर हामी मख्ख परेर बसेका छैनौं । उनको खेल करिअरले आगामी दिनमा अझै उचाइ लिन्छ । त्यसका लागि हामी थप मिहिनेत गर्नेछौं ।’ आफ्नी बहिनीको प्रगतिमा निकै खुसी छिन् डायमन्ड क्लबकी कप्तान ललिता । भलिबलको सामान्य नियम पनि थाहा नपाएकी प्रगतिले खेलप्रतिको लगाब, अनुशासन र मिहिनेतले उचाइतर्फको यात्रा तय गरेकी उनको बुझाइ छ । ‘करिब एक दशकदेखि डायमन्ड क्लबमा आबद्ध भएको मलाई यो टिमको कप्तानको अवसर मिलेको छ । सँगसँगै मेरो बहिनीले आज देशका तर्फबाट खेलिरहेको कुराले झन् खुसी मिलेको छ,’ उनले भनिन् ।


प्रशिक्षक कुमार राईले सुरुमा छोरीलाई काठमाडौं लैजान्छु भन्दा अलमल्ल परेका प्रगतिका आमाबुबा पनि अहिले भने दंग छन् । हाल वैदेशिक रोगजारमा रहेका उनका बुबा वीरजितले छोरीले देशका तर्फबाट खेल्दै छे भन्ने थाहा पाउँदा सपना जस्तो लागेको बताए । ‘म घर खर्च धान्न परदेशमा छु । मेरी छोरी देशको इज्जत धान्न मैदानमा छे । मलाई त यो सबै सपना जस्तो लाग्छ,’ उनले भने । बाल्यकालमा रमाइरहेकी छोरीलाई भारी मनले बिरानो सहरका लागि बिदा गरेकी थिइन्, आमा खिमकुमारीले । तर भलिबल खेलेर छोरीले राखेको नामले भने खुसी छिन् । ‘बल त छोरा मान्छेले मात्रै खेल्ने हो भन्ने लाग्थ्यो । तर आज आफ्नै छोरीले देशका लागि खेल्दै छे भन्ने कुराले म त कति खुसी, खुसी,’ उनले भनिन्, ‘छोरीको खेल टीभीमा हेर्छु । आफैं जुरुक–जुरुक हुन्छु । छोरीको यो प्रगति देखेर गाउँभरिका मान्छेले मलाई बधाई दिन्छन् ।’


चार भाइबहिनीमध्ये प्रगति जेठी हुन् । भाइबहिनी गाउँमै आमासँग रहेर पढाइ गरिरहेका छन् । प्रगतिले आफ्नो बाल्यकालतिर फर्किएर भनिन्, ‘कुमार सरले यहाँ नल्याउनुभएको भए म पनि गाउँमै हुन्थे होला । तर ललिता दिदीको मार्ग पछ्याउँदै यहाँसम्म आएँ । अझै धेरै गर्नुछ, त्यसका लागि सकेको कोसिस गर्नेछु ।’ आफूलाई घरपरिवारको राम्रो साथ सहयोग रहेको बताउँदै प्रगतिले रुकुममा अरू पनि धेरै सम्भावना बोकेका खेलाडीहरू भएको जनाइन् । अहिले पढाइसँगै खेल करिअरलाई पनि अघि बढाउनुपर्ने भएकाले केही गाह्रो हुने उनको भनाइ छ । ‘मेरो खेल जीवन त भर्खर सुरु भयो ।

आफ्ना लागि मात्रै होइन, घरपरिवार र देशका लागि धेरै गर्नुछ,’ प्रगतिले भनिन् ।

प्रकाशित : जेष्ठ १५, २०८० ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?