कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोभिड–१९ ले नछेकेको यूएन मिसन

इथोपिया, रुवान्डा र बंगलादेशपछि नेपाल सबैभन्दा धेरै शान्ति सैनिक पठाउने मुलुकमा पर्छ ।
जगदीश्वर पाण्डे

काठमाडौँ — कोरोना महामारीले सिंगो विश्वलाई प्रभावित बनाएको छ । कोभिड-१९ संक्रमणको डरले अन्तर्राष्ट्रिय उडानहरु बन्द हुँदा हवाइ उद्योग ठप्प प्रायः छ ।

कोभिड–१९ ले नछेकेको यूएन मिसन

संयुक्त राष्ट्र संघ(यूएन) अन्तर्गत रहेका शान्ति स्थापनार्थ विश्‍वका विभिन्‍न मुलुकहरुमा भूमिका खेलिरहेको नेपाली सेनालाई भने कोरोनाले छेकेको छैन । सेनाले आफ्‍नो यूएन मिसन जारी राखेको छ । ‘स्वास्थ्यको मापदण्डलाई अपनाएर आवश्यकता अनुसार नेपाली सैनिकहरु शान्ति स्थापनार्थ जाने र आउने काम भइरहेको छ,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेल भन्छन् ।

सैनिकहरुले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उड्नु भन्दा ७२ घन्टा अघिको कोभिड–१९ परीक्षणको नतिजा हातमा लिएर जानुपर्ने हुन्छ । नत्र अन्य मुलुकले स्वीकार गर्दैनन् । कुनै कारणवस विमानको उडान ढिलो भयो भने फेरि परीक्षण गर्नुपर्छ । ‘दुई सयभन्दा बढी सैनिकहरुलाई एकै दिन परीक्षण गरेर पठाउन सहज छैन,’ पौडेलले भने,‘त्यसमाथि उनीहरुलाई १४ दिन अघिदेखि नै क्वारेन्टाइनमा राख्ने काम पनि गरिरहेको छौं ।’

साउन १३ गते कालीध्वज गणको १० औं डफ्फाको पहिलो टोली दक्षिण सुडानको लागि उडेको थियो । जसमा गणपति प्रमुख सेनानी सुजनबहादुर मल्लको नेतृत्वमा २३४ जना सैनिक थिए । भदौ २१ मा कंगो (डेमोक्र्याटिक रिपब्लिक) मा सेनाको अर्को टोली उड्ने तयारीमा छ । यसअघि सेन्ट्रल अफ्रिका रिपब्लिक (कार) र मालीमा पनि असार ३१ गते नेपाली सैनिक उडेका थिए ।

साउन २ गते मिनुस्का मिसन कार र मिनुस्मा मिसन मालीमा रहेको गुल्महरु आफ्नो कार्यकाल पूरा गरी आएका थिए । कारमा गणपति प्रमुख एवं सेनानी भेषबहादुर थापा र मालीमा नारायण तुम्बाहाम्बेले नेतृत्व गरेका थिए । मिसनबाट आएका ३७६ जनालाई विभिन्‍न ९ स्थानका क्वारेन्टाइनमा राखिएको छ । जसमा ३०१ घर क्वारेन्टाइन पूरा गरी निस्किसकेका छन् ।

सामान्य अवस्थामा यूएनले नै पठाएको विमानमा आवत–जावत गर्ने नेपाली सैनिकहरु यस पटक नेपालकै विमानलाई प्रयोग गरे । विमान प्रयोग गरेबापतको खर्च यूएनले नै व्यहोर्छ ।

सन् १९५५ मा यूएनको सदस्यता लिएको नेपालले त्यसपछि विश्वमा शान्ति स्थापनाको लागि भूमिका निर्वाह गर्दै आइरहेको छ । शीतयुद्ध कालीन समयमा असंलग्‍न आन्दोलनमा रहेको नेपालले सन् १९५८ मा सैनिक परिवेक्षक रुपमा लेबनानबाट शान्ति स्थापनाको लागि भूमिका खेल्न थालेको हो । त्यसपछि सन् १९७४ मा इजिप्टमा पहिलो पटक पुरानो गोर्खा बटालियनलाई खटाउँदै नेपाली सेनाले निलो हेलमेट लगाउन थालेका हुन् ।

हालसम्म नेपाली सेनाका एक लाख ३० हजार ३६० सैनिकहरुले शान्ति स्थापनार्थ भाग लिइसकेका छन् । जस मध्ये ६८ जनाको ज्यान गएको छ भने ६६ जना घाइते भएका छन् ।

अगस्त ९ सम्मको तथ्यांक अनुसार विभिन्न १२ मिसनहरुमा नेपाली सेनाका ५ हजार १२४ ले जना शान्ति स्थापनार्थ काम गरिरहेका छन् । जसमा १७८ जना महिला सैनिक छन् । सेनाले यूएनको चाहना अनुसार वर्षमा १० हजार नेपाली सेनालाई शान्ति स्थापनार्थ पठाउन सक्ने जनाइसकेको छ । इथोपिया, रुवान्डा र बंगलादेशपछि नेपाल सबैभन्दा धेरै शान्ति सैनिक पठाउने मुलुकमा पर्छ ।

‘विश्व शान्तिमा सहयोग गर्न नेपाली सेना कुनै पनि हालतमा चुक्दैन भन्ने कुरा पनि हाम्रो गतिविधिले प्रष्ट पार्छ,’ सैनिक प्रवक्ता पौडेलले भने । उनका अनुसार शान्ति स्थापनाका लागि नेपाली सेनाले पाएको जिम्मेवारीलाई ध्यानमा लिएर संगठनका अभ्यास अनुसार सैनिकहरु आउने र जाने काम भएको बताए ।

नेपालबाट शान्ति स्थापनाको लागि पहिले ६/६ महिनामा नेपाली सैनिकहरु आउने जाने गर्थे । तर ५ वर्ष अघि यूएनले त्यसलाई परिवर्तन गरेर १/१ वर्ष बनाइदियो । त्यसको मतलब एक वर्षमा फर्किएमात्र यूएनले रकम खर्च गर्छ । छोटो समयमा मिसनमा रहेका सैनिकहरुलाई परिवर्तन गर्नु परे सम्बन्धित मुलुकले आफैं रकम खर्च गर्नु पर्ने हुन्छ ।

धनी मुलुकहरुले आफ्नो इच्छा अनुसार मिसनमा सैनिकहरुको अदल–बदल गर्छन् । तर नेपालले भने १–१ वर्षमा गर्दै आएको छ ।

यूएन मिसनमा भूमिका निर्वाह गर्नु चुनौतिपूर्ण भए पनि नेपाली सैनिकहरुलाई आर्थिक हिसाबमा राम्रो हुने गर्छ । त्यसले नेपाली सैनिकहरु सेनामा भर्ना हुनको लागि आकर्षक क्षेत्रको रुपमा यूएन मिसनलाई पनि लिन्छन् । ‘यस्तो मिसनमा एक जनालाई मात्र बढी प्राथमिकता दिएर हुँदैन । सबैलाई समान रुपमा प्राथमिकता दिनु पर्छ । त्यसैले अवधि अनुसार फेरबदल हुने गर्छ,’ एक उच्च सैनिक अधिकारीले भने ।

प्रकाशित : भाद्र १०, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?