विद्यालयको चौरमा घरबाट ल्याएको त्रिपाल टाँगेर क्वारेन्टाइन !

१४ जनालाई ६ वटा मास्क

जेष्ठ ३०, २०७७

भूषण यादव

वीरगन्ज — जेठको चर्को घाम र गर्मीमा विद्यालयको खुल्ला चौरमा बाँसमा टाँगिएको त्रिपालमुनि १४ जना युवा बसिरहेका छन् । पर्साको पर्सागढी गाउँपालिका– ८ हरपुरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा विगत तीन दिनदेखि ती १४ जना खुल्ला आकाशमुनि छन् । 

२५ जना क्षमताको क्वारेन्टाइनमा ४ महिलासहित ४६ जना राखिएको छ । भारतको केरला राज्यमा रोजगारीका लागि गएका उनीहरु कोरोना महामारीमा गाउँ फर्किएका हुन् । पूर्वी नाका काँकरभिट्टाबाट ३४ हजार रुपैयाँ भाडामा माइक्रो रिजर्ब गरेर गाउँमा आएपछि नगरपालिकाले उनीहरुलाई उक्त क्वारेन्टाइन पठाएको थियो । 


त्रिपालमुनि बसिरहेका श्यामबाबु राउत कुर्मीका अनुसार उनीहरुले पहिलो रात खुल्ला चौरको भुइँमै बिताए । घरमा त्रिपाल हुनेहरुले दोस्रो दिन फोन गरेर त्रिपाल मगाएको उनले सुनाए । ‘पहिलो रात नगरपालिकाले दिएको एउटा तन्नामात्र ओछ्यार खुल्ला चौरमा सुत्यौं,’ कान्तिपुरसँग कुर्मीले भने, ‘भोलिपल्ट घरबाट त्रिपाल र बाँस मगाएर टाँग्यौँ । फाटेको त्रिपालले घाम पानी त्यत्ति छेक्दैन ।’ 

जेठको चर्को घाममा दिउँसो त्रिपालमुनि बस्न साह्रै गाह्रो भएको उनी बताउँछन् । क्वारेन्टाइनमा बसेको तेस्रो दिन शुक्रबारमात्र नगरपालिकाले खाट उपलब्ध गराएको छ । ‘दुई रात भुइँमा सुतेपछि शुक्रबारमात्र खाट आएको छ,’ उनले भने, ‘झुल जम्मा ७ वटा दिएका छन् । दुईवटा खाट जोडेर सुत्छौं ।’ उनका अनुसार तीन दिनमा १४ जनालाई प्रयोग गर्न ६ वटामात्र मास्क दिएका छन् । बाँकीले विगत १२ दिनदेखि एउटै मास्क लगाइरहेका छन् । क्वारेन्टाइनमा ६ वटा शौचालय छ । तर, भारतबाट आएका ४६ जनालाई प्रयोग गर्न दुईवटा शौचालय मात्र दिइएको छ । नगरपालिकाका स्वास्थ्यका ४ जना कर्मचारीले चारवटा शौचालय प्रयोग गरेर अन्य समय ताला लगाउँछन् ।


४६ जनाले दुईवटा शोचालयका लामो लाइन लाग्नुपर्छ । ‘कोरोना संक्रमण होला न होला,’ कुर्मी भन्छन्, ‘तर, शौचालयको दुर्गन्धले अरु रोग चाहिँ पक्कै हुन्छ ।’ सरससफाईका सामग्री उपलब्ध गराइएको छैन । क्वारेन्टाइनस्थलमा एउटामात्र चापाकलको व्यवस्था छ । सबैले त्यही प्रयोग गर्छन् । ‘अनेक दुख कष्ट गरेर गाउँ फर्क्यौं,’ क्वारेन्टाइनमा रहेका घनश्याम साह भन्छन्, ‘नेपालको बोर्डर प्रवेश गरेदेखि नै वडा अध्यक्षसँग कुरा भइराख्थ्यो, मेयर साहेबको पनि क्वारेन्टाइनमा सबै व्यवस्था गरेको अन्तरवार्ता सुनेका थियौं । यहाँ आएपछि मन दुखित बन्यो । खुल्ला चौरमा सुतेको ३ दिन भयो ।’

क्वारेन्टाइन रहेको वडाका अध्यक्ष किशुनदेवा यादवले मनवा स्कुलमा क्वारेन्टाइन निर्माण गरि १४ जनालाई सार्ने तैयारी भइरहेको बताउँछन् । पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले चौरमा बसिरहेका १४ जनाको व्यवस्थापनमा लागेको दाबी गर्छन् । ‘चौरमा बसिरहेकाहरुको व्यवस्थापन भइरहेको छ,’ कान्तिपुरसँग उनले फोनमा भने, ‘त्यसमै लागेका छौँ ।’ तीन दिनमा १४ जनालाई ६ वटा मात्र मास्क दिएको विषयमा मेयर यादवले भने, ‘सबै हेर्दै छौँ ।’ 

धोबनीबाट भागेका क्वारेन्टाइनमा फर्किए

पर्साको धोबनी गाउँपालिकाको लगंडीस्थित क्वारेन्टाइनबाट बिहीबार राति एकैपटक भागेका ४६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको छ । भारतबाट आएका उनीहरु विगत २८ दिनदेखि क्वारेन्टाइनमा बसिरहेका थिए । गत साता थ्रोट स्वाब लिइए पनि हालसम्म रिर्पोट नआएको र क्वारेन्टाइन व्यवस्थापन पनि फितलो भएकाले घर फर्किएको उनीहरुले बताएका छन् । 

कोरोना भाइरसलकडाउन

भूषण

Link copied successfully