कोरोनाकालमा उपचारमा खटिएका एक चिकित्सकको तितो अनुभव

वैशाख २३, २०७७

फातिमा बानु

काठमाडौँ — नेपालमा कोभिड १९ को संक्रमण देखिएको चार महिना बित्यो । संक्रमणको सुरुवाती दिनदेखि बिरामी उपचारमा खटिएका चिकित्सक हुन् डा. श्रवणकुमार मण्डल । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आकस्मिक कक्षमा खटिएका उनी शंकास्पद र संक्रमित बिरामी हेर्छन् । कोरोनाको हाहाकार नेपाल प्रवेश गरेसँगै उनले कसरी काम गरे, अस्पतालमा के भोगे भन्ने आफ्नो अनुभव कान्तिपुरसँग साटेका छन् ।

चार महिनाअघि नेपालमा कोरोना भाइरस संक्रमण भर्खरै भित्रिएको थियो । सुरुवाती दिनमा म एयरपोर्टको डियूटीमा खटिएको थिएँ । त्यहाँ स्क्रिनिङको काम हुन्थ्यो । चीनबाट आउने सबैको ज्वरो नाप्नुपर्थ्यो । त्यतिखेर मास्कको भरमा काम गरको हो । रोग पनि नयाँ थियो । पीपीईको त्यति चर्चा पनि थिएन । यसको गम्भिर्यता र जोखिमबारे धेरै हामीलाई थाहा थिएन । जे जानियो त्यसरी नै काम गरियो ।


डा. श्रवणकुमार मण्डल

संक्रमण बढ्न थालेपछि भने आकस्मिक कक्षमा खटिन थालें । धेरै शंकास्पद बिरामी आए । सुरुवाती दिनमा अस्पतालको गेटदेखि आकस्मिक कक्षसम्म एम्बुलेन्सका लाइन हुन्थे । रोगको भ्रम र त्रास भएर पनि होला शंकास्पदभन्दा फोबियाग्रस्त भएर बढी मानिसहरु आउँथे । उपचारभन्दा पनि परामर्शमा हामीले काम गर्नुपरेको थियो । यस बीचमा रोग र बिरामीभन्दा बढी मानवता र समाजको अध्ययन गर्न पाए जस्तो महशुस गर्छु ।

लक्षण र ट्राभल हिस्ट्री हुँदैन, तैपनि मान्छेहरु कोरोना टेस्ट गरिदिनुपर्‍यो भन्दै आउँथे । कसैलाई घरबेटी र समुदायले नै टेस्ट गर्न ल्याउँथे, पठाउँथे । हामीले टेस्ट आवश्यक छैन भन्दा नमान्ने । आफ्नै जिद्दी । हामीलाई गाली गर्ने अनि थर्काउने गर्थे ।

कति केस व्यस्थापन गर्न सुरक्षामीकै सहयोग लिनुपरेको थियो। रोगबारे अज्ञानता र भ्रमले गर्दा सामाजिक विभेद बढेको देखेको छु । विभेदकै कारण मानवता हराएको जस्तो लाग्छ । नत्र घरबेटीले कोठामा बस्नेलाई कोरोना टेस्ट बिना घर छिर्न नदिने, निकाल्ने किन गर्थे र ? कति स्वास्थ्यकर्मीलाई नै पनि कोठा छाड्ने दबाब आइरहेको साथीहरुले सुनाउँँछन् ।

चिकित्सकले दिनरात नभनी जोखिम मोलेर बिरामी हेरिरहेका छन् । समुदायले यसलाई कदर गर्नुको साटो रोग सार्छन् भनेर विभेद गरेको सुन्दा, देख्दा नराम्रो लाग्छ । अस्पतालमा खटिँदा केही घटना बिर्सनै नसक्ने खालका छन् । ती मध्ये केही घटना साट्न चाहन्छु ।

घटना : १
एकदिन अस्पतालमै बसिरहँदा एकजना प्रहरीको मोबाइलमा एउटा भिडियो हेरें । काठमाडौं नजिकको जिल्लाका एकजना व्यक्ति भर्खरै दक्षिण कोरियाबाट नेपाल फर्किएका रहेछन् । विदेशबाट रोग बोकेर आएको टेस्ट गर्नुपर्छ भन्दै जनप्रतिनिधीले ती व्यक्तिलाई अनावश्यक दु:ख दिइरहेका थिए । टेस्टको नाममा ती व्यक्तिलाई सय मिटर परसम्म दौडिन लगाइरहेका थिए ।

जनप्रतिनिधिले कोरोना भनेको छातीसम्बन्धी रोग हो भन्ने बुझेका रहेछन् । त्यसैले दौडिँदा श्वास बढेर बीचैमा ढल्यो भने कोरोना रोग प्रमाणित हुन्छ भन्ने लागेछ उनलाई । तर उनले बुझेजस्तो दौडिँदा ती व्यक्ति ढलेनन् । त्यति दुख दिइसकेपछि पनि जनप्रतिनिधि ढुक्क हुन सकेनन् । ती व्यक्तिलाई कोरोना नभएको रिर्पोट लिएर मात्रै गाउँ फर्किनु भन्दै अस्पताल पठाए । जनप्रतिनिधि जस्तो मान्छेले बिना कारण त्यसरी कसैलाई दु:ख दिनु कहाँको मानवता हो ? भिडियो हेरेर म स्तब्ध भएँ ।

घटना : २
वीर अस्पतालमा एकजना कोरोनाको संक्रमण भएको शंका गरिएकी महिलाको मृत्यु भयो भन्ने मिडियामार्फत सुनियो । महिलाको मृत्यु भएको दिन साँझ उनका श्रीमान् आत्तिँदै हाम्रो आकस्मिक कक्षमा आए । श्रीमतीको दाहसंस्कार गरेर पशुपतिबाट सिधै अस्पताल आएका रहेछन् । उनको कोरोना टेस्ट गरिदिन आग्रह गरे । किन टेस्ट गर्ने, भनेर सोध्दा उनले साह्रै दुखद कुरा सुनाए ।

श्रीमतीको दाहसंस्कार गरेर फर्किंदा उनले फेसबुकमा वडा जनप्रतिनिधिको पोस्ट हेरेका रहेछन् । पोस्टमा वडाध्यक्षले उनको श्रीमतीको कोरोना संक्रमणका कारण मृत्यु भएकोले उनलाई पनि कोरोना लागेको हुनसक्ने उल्लेख गरेका रहेछन् । साथै यस्ता व्यक्तिलाई बहिष्कार गर्नुपर्छ, गाउँ छिर्न दिनु हुँदैन भनेर पनि लेखेका रहेछन् ।

लकडाउनका कारण उनी पशुपतिबाट हिँडेर सिधै अस्पताल आएका थिए । अस्पताल आइपुग्दा उनको मानसिक सन्तुलन नै गुमेजस्तो देखिन्थ्यो । ‘मलाई गाउँलेले निकाल्ने भए, म सक्किने भएँ,’ भनेर बर्बराउँदै थिए । ‘मेरो टेस्ट गरिदिनैपर्‍यो । टेस्ट नगरेसम्म म खाँदा पनि खान्न, यहाँबाट जाँदै जाँन्न,’ भनेर उनले भने ।

भोली श्रीमतीको रिर्पोट पोजिटिभ आयो भने टेस्ट गरौंला भनेर हामीले सम्झाउन खोज्यौं । तर उनी सम्झिने पक्षमा थिएनन् । ‘जाने मान्छे गैहाल्यो, मेरो रिर्पोट निकाल्दे,’ भनेर जिद्दी गरे ।

हामीले सम्झाउन नसकेपछि सुरक्षाकर्मी बोलायौं ।  प्रहरीले जनप्रतिनिधिको नम्बर पत्ता लगाएर फोन गरिदिए । पोस्टमा लेखे जस्तो व्यवहार नगर्नु भनेर सम्झाइदिए । फेसबुकबाट पोस्ट पनि हटाउन लगाए ।

भोलिपल्ट उनको श्रीमतीको रिर्पोट नेगेटिभ आयो । ती व्यक्ति कहाँ गए हामीले फलोअप गर्न भ्याएनौं । तर, जनप्रतिनिधि जस्तो जिम्मेवार व्यक्तिले जनतालाई त्यसरी दु:ख दिनुहुन्न थियो ।

घटना : ३
एकदिन सर्पले टोक्यो भन्दै धादिङबाट एकजना पुरुष उपचार गर्न आएका थिए । काठमाडौंको कुनै निजी अस्पतालले बिरामी यहाँ रिफर गरेको रहेछ । हाम्रो अस्पतालमा कोरोनाको मात्रै उपचार गर्ने भनेर सरकारले घोषणा गरेको थियो । हामी कोरोनाको लागि मात्रै तयार थियौं । हामीले बिरामी पक्षलाई त्यही भन्यौं, तर उनीहरु उपचार गर्नैपर्छ भनेर जिद्दी गर्न थाले ।

मैले हात जोडेर बिन्ती गरें । तर, मान्दै मानेनन् । सर्पले टोकेको बिरामी २४ घण्टा राखेर अब्जर्भेसन गर्नुपर्छ । हामीले भ्याउँदैनौं भन्दा पनि मानेनन् । उल्टै गाली गर्न थाले । ‘तिमीहरु सरकारको पैसा खाने, जनताको उपचार नगर्ने, तिमीहरुको पर्दाफास गर्छु’ भन्दै भिडियो खिच्न थाले ।

गालीको वर्षा रोकिएन । झन्डै हाता हालाहालको अवस्था आएपछि हामीले सुरक्षाकर्मी बोलाएर अवस्था शान्त पार्नुपर्‍यो । स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीले ती बिरामी पक्षलाई थानामा लगे ।

घटना : ४
भर्खरभर्खर कोरोनाको सन्त्रास फैलिएको थियो । हामी कोरोनासम्बन्धी कक्षा र तालिम लिइरहेका थियौं । एकदिन वीर अस्पतालका विशेषज्ञ चिकित्सक कोरोनाका बिरामीको आईसीयूमा कसरी व्यवस्थापन गर्ने भनेर सिकाउन आएका थिए । भेन्टिलेटर सम्बन्धी ज्ञान लिँदै थियौं हामी ।

त्यस दिन कक्षा अलि लामो भयो । धेरै कुरा सिक्नु थियो, हामीले विशेषज्ञलाई अलि बढी नै प्रश्न गरेर सिकिरहेका थियौं । विशेषज्ञ आएको दिन सिकिहालौं, फेरि यस्तो मौका पाइएला, नपाइला भन्ने जस्तो लागेको थियो ।

कक्षाबाट फर्किंदा आकस्मिक कक्षमा हल्लाखल्ला सुनियो । दुईजना मान्छे उपचारमा ढिलो भयो भन्दै पारामेडिक्सलाई कराइरहेका थिए । मैले उनीहरुको हिस्ट्री लिन्छु भनेर अघि बढ्न नपाउँदै बिरामीपक्ष आक्रोशित भए । ‘किन ढिला आएको, यस्तो लापरबाही गर्ने ? तिमीहरुको इथिक्स छैन, कुनै जिम्मेवारी छैन ?’ भने । मैले कक्षा विशेष थियो अलि त्यसैले ढिलो भयो भनेर सम्झाउन खोजेँ । कुरै नसुनी उनीहरु अझै गाली गर्न थाले, ‘तिमीहरु पढ्न बसेको कि बिरामी हेर्न ?’

हामी त केही काम नपाएर मात्रै बिरामी हेर्न बसे जस्तो गरे, नीच व्यवहार गरे । मन्त्रीको पावर लगाएर हामीलाई कारबाही गर्न लगाउने सम्म धम्की दिन थाले । हामीले उनीहरुको टेस्ट नै नगर्ने भनेको पनि थिएनौं । त्यतिबेला टेस्ट धेरै हुँदैन थियो । बिहान बेलुका गरेर दिनमा दुईपटक हुन्थ्यो । दिनभरि नमूना संकलन गरेर चार बजेपछि सबै एकैपटक टेस्ट गर्ने गरिएको थियो । आए पिच्छे सबैको टेस्ट तुरुन्तै गर्दा पीपीई र जनशक्ति धेरै खर्च हुन्थ्यो । त्यसैले सामान जोगाउन हामीले त्यसो गरेका थियौं ।

उनीहरु दिउँसो १२ बजेपछि आएका थिए । चार बजेपछि अर्को चरणमा टेस्ट गरौंला भनेको त रिसाउन थाले । ‘तँ तँ’ भनेर कुरा गरे । जे जे मुखमा आयो त्यही भने । उपाय थिएन, हामीले उनीहरुले भनेजस्तो गर्न सकेनौं । त्यत्रो मिहिनेत र खर्च गरेर चिकित्साशिक्षा पढेको यस्तै बिरामीको गाली खान रहेछ जस्तो लाग्यो ।

घटना : ५
एकदिन एकजना शंकास्पद व्यक्तिलाई एयरपोर्टबाटै यहाँ ल्याइएको थियो । नेदरल्याण्डबाट आएको रे भन्दै थिए । बिहान आठ बजे अस्पताल आइपुगेका थिए । म आकस्मिक कक्षमा खटिएको थिएँ । ती व्यक्तिले अस्पताल छिर्नासाथ टेस्ट गरेर रिर्पाट दिहाल्नुपर्‍यो भन्न थाले ।

अस्पतालको आफ्नै नियम थियो । आउने बित्तिकै टेस्ट गरेर रिर्पोट दिहाल्न सम्भव थिएन । १० बजेपछि टेस्ट गर्ने भनिएको थियो । विदेशमा पढेर आएको रे, व्यवहार भने अत्यन्तै तुच्छ देखाए ।

भन्नासाथ टेस्ट गरेनौं भनेर गाली गर्न थाले । ‘नेपालका डाक्टर नक्कली हुन् । यिनीहरुले सर्टिफिकेट किनेका हुन्छन् । अनि के हेर्थे त बिरामी,’ भने । हाम्रो योग्यता र पेशाप्रति नै यस्तो प्रश्न गर्न थालेपछि डियुटीमा खटिएका हामी सबै चिकित्सक रीसले रन्थिनियौं । तर गाली सुनेर बस्यौं, केही गर्न सकेनौं । बिरामीको चाप थियो । हामी गालीको प्रतिक्रिया दिनु कि बिरामी हेर्नु जस्तो अवस्था थियो ।

ती व्यक्तिको मुख बन्द भएन, ‘यो अस्पताल पनि गोठजस्तो छ, यहाँका डाक्टरलाई घाँस हाल्नुपर्छ ।’ उनले हेपेर बोल्ने कुनै शब्द बाँकी राखेनन् । चिकित्सकले आफूलाई नियन्त्रण नगरेको भए त्यस दिन हात हालाहाल हुने स्थिति आउँथ्यो होला ।

घटना : ६
लकडाउनको घोषणा भइसकेको थियो । बिरामी जति एम्बुलेन्समा आउन थाले । एम्बुलेन्सले बिरामी ल्याउने र छोड्ने । फिर्ता नलैजाने गर्न थाले । सबै बिरामी टेस्ट र भर्ना गर्नैपर्ने खालका हुन्थेनन् ।

एम्बुलेन्सहरु एकै छिन पनि कुर्दैनन् थिए । सार्वजनिक गाडी नचल्दा बिरामीलाई घर फर्कन गाह्रो हुन्थ्यो । यस्तो संकटको बेलामा पनि एम्बुलेन्सलाई भने फाइदा नै चाहिएको थियो । बिरामीको उपचार सकिन्जेल कुर्नुभन्दा अन्यत्र बिरामी बोकेर पैसा कमाउने खालका मात्रै । बिरामी अलपत्र पर्न थालेपछि हामीले अस्पतालभित्र छिर्ने एम्बुलेन्सले जुन बिरामी ल्याएको उसलाई फिर्ता नलगे निस्किनै नमिल्ने नियम लगायौं । केही दिन यो समस्या सल्टियो । तर, पछि एम्बुलेन्स चालक बाठा भए । बिरामी अस्पताल बाहिर छोडेर जान थाले । भर्ना भएका बिरामी डिस्चार्ज भएर घर जान एम्बुलेन्स नभएर  रातभरि अस्पतालमै राख्नुपर्ने स्थिति पनि आयो ।
(शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकुमा कार्यरत डा. श्रवणकुमार मण्डलसँग कान्तिपुरकर्मी फातिमा बानुले गरेको कुराकानीमा आधारित ।)

कोरोना भाइरस

फातिमा

Link copied successfully