कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सुविन भट्टराईको लकडाउन डायरी

सुविन भट्टराई

काठमाडौँ — उसै पनि घरलाई नै अफिस बनाएर काम गर्न बानी परेको मान्छेलाई ‘लकडाउन’ ले ‘लक’ गरेर दिक्क बनाइ त हालेको छैन ।

सुविन भट्टराईको लकडाउन डायरी

तर, संसारभरै फैलिएको आतंकले मेरो मनभित्र पनि अलिकति ठाउँ त ओगटेकै छ । डर छ । र, त्यही डरले त चेतनाको पर्दा उघारिदिएको छ ।


जस्तोसुकै विषम परिस्थितमा पनि आफूलाई सम्हाल्न सक्नुपर्छ भनेर धेरै पुस्तक र सिनेमाले सिकाएका छन् । धेरै मानिसका भोगाइ र जीवनले बुझाएका छन् । तिनलाई हेरेर, बुझेर अलिकति त जानिएकै छ ।


लकडाउनको आज तेस्रो दिन पुगिसकेको छ । त्यसो त पाँच दिन भैसक्यो होला घरको गेट खोलेर पनि बाहिर निस्किइएको छैन । झन्, दिमागमा के परिसक्यो भने, गेट खोल्नेबित्तिकै मानौँ एम्बुस थापिएको छ । मानौँ बम फट्नेछ । यसरी आफूलाई तर्साइएको छ । नभए त मन मात्तिन के बेर !

दिनमा डेढ घण्टा डाँडातिर सल्लाको जँगल भएको बाटो हिँड्ने बानी परेको मलाई यति एउटा कुरामा भने लकडाउनले गहिरो प्रभाव पारेको छ ।


आजकालका बिहान बडो अद्भूतका छन् । सधैँ बाइकको टाँटटाँटटुँटटुँट, अझ बुलेटको घट्ट्ट्टटट, गाडीका पिँपपिँपहरुले अनि मान्छेका होहल्लाले निद्रा ब्यूँझन्थ्यो । केही दिनदेखि चराहरुको चिरबिरले ब्यूँझाउन थालेको छ । झ्यालबाट खुसुक्क छिरेको ताजा हावाको स्पर्शले ब्यूँझाउन थालेको छ । आफ्ना नित्यकर्महरु सकेर चियाको टेबलमा बसिरहँदा कोठाबाट बाहिर देखिने दृश्यले बडो लोभ्याएको छ ।


पचास मिटर पर पनि धुलोले धमिलो देखिने दृष्य दूर–दूरसम्म स्पष्ट छ । आकाश सफा छ । झन् त्यहाँमाथि वसन्त ऋतु । हर एक बिरुवामा पलाएको पालुवाले मन आनन्दित बनाएको छ ।


साँच्चै एभोकादोको रुखमा कत्ति चराहरु बस्न आएका रैछन् । मेरो घर वरपर यति धेरै चराहरु गीत गाउँदै नाचेको जीवनमै पहिलोपल्ट सुनिरहेछु/देखिरहेछु । कुनै राष्ट्रिय निकुञ्जभित्र बसेँझैं महसुस भइरहेछ । दिनैभरि, कुनै आवाज छैन । धुलो छैन । मान्छे छैनन् । हल्ला छैन । आधा घण्टाजतिमा एउटा बाइक वा गाडी पास हुन्छ । यत्ति !


नभए यति शान्त माहौल छ कि पचास मिटर पर बोलेका मान्छेहरु, आफ्नै घरको गेटअघिल्तिर बोलिरहेझैँ प्रतीत हुन्छ ।


लाग्छ, सन्नाटाजस्तो श्रुतिमधुर चीज संसारमा सायद अर्थोक छैन ।

तर यी सन्नाटाहरु, यो प्रदुषणरहित मौषम, यो ऐकान्तिक माहौलको आनन्दले मात्र पेट भरिन्न । नीलो आकाश हेरेर भोकले अँध्यारो पारेको अनुहारलाई कति राहत दिन्छ ? सडकमा गाडी नकुदे पनि मनमा डरका एम्बुलेन्सहरु तीखो साइरन बजाउँदै कुद्छन् ।


जोहो गरेका खानेकुराले केही दिनका केही छाकहरु त टारिदेला, त्यसपछि के ? छिटै हरेक नागरिकका पेटले प्रश्न गर्न थाल्नेछन् । के सरकार समाधान दिने तयारीमा जुटिसक्यो ? कोभिडको महामारीमा भीड बिनाको बजारको दृश्यको कल्पना सरकारले कसरी गरेको छ ? जनताले कसरी गरेका छन् ? कोरोनाको त्रास र भोली, पर्सीका अनिश्चित छाक सम्झेर अहिलेदेखि नै कतिको मन अमिलो हुँदो हो । ज्यलादारी मजदुरका मजबुरीलाई सरकारको संवेदनाले छुन्छ कि छुँदैन ? प्रश्नैप्रश्न छन् । अन्यौलै अन्यौल छन् ।

आंतंकहरु एकपटकमा एउटा मात्रै कहाँ आउँछन् र ? ती जन्तीको लर्कोझैं लाइन लागेर आउँछन् ।

.....


भय आफ्नो ठाउँमा छ । जिन्दगीको लय आफ्नै ठाउँमा छ । चित्त बुझाउनै पर्छ । धेरै समस्याहरु बितेर गए । यो पनि बितेरै जानेछ ।


दसजनाको परिवार छ । तीनजना केटाकेटी छन् । आज बिहान आँगनमा गएर एकएक फूल हेर्दै, तिनमा आएका पालुवा हेर्दै रमाउँदै, अनि आँपको बोट नियाल्दै एभोकादोको पात सुम्सुम्याउँदै वरपर डुलियो ।


अनि त्यसपछि उनीहरुसँग चुङ्गी खेलेर केही समय बित्यो । अलिकति भए पनि पसिना आयो । त्योभन्दा पनि बढी केटाकेटीसित हाँसो ठट्टामा बित्ने समयले संसारको धेरै दुःख र सन्ताप भुलाउने सामर्थ्य राख्दोरैछ ।


थाकेर फर्केपछि सबैले साबुन पानीले मिचिमिचि हात धोयौँ । थाहा छैन महामारीले त्रसित बनाएको हो कि ओभर कन्सियस, (या कन्सियस) केही नयाँ चीजमा हात पर्‍यो कि धोइहाल्न पर्ने ।


खाना खाँदा टेबलमा खानासँगै अलिअलि गफ कोरोनाका पनि हुन्छन् । सामाजिक सञ्जालमा हामी धेरै जो अल्मलिएका छौँ ।


खाना खाइसकेपछिको समय बडो अल्छीलाग्दो हुन्छ । तर, त्यै समयमा हो फिल्म, सिरिज हेर्ने । मूड चल्दा पहिलो ड्राफ्ट लेखेर सकाइसकेको पुस्तकमा काम गर्छु । कुनै बेला बुकसेल्फबाट कविताको कुनै किताब निकाल्छु र एक दुइवटा कविता पढ्छु ।


हिजोदेखि सुरु गरेको नेटफ्ल्क्सि सिरिज ‘सेक्स एडुकेसन’ करीब करीब सकिनै लागेको छ । रमाइलै छ । यस्तो बेला हरर र थ्रीलरभन्दा कमेडी र इन्सपायरिङ सिनेमा/सिरिजहरुले मूड राम्रो बनाउँछ । त्योभन्दा अघि हेरेको ‘असुर’ ले खल्बल्याएको दिमाग यो सिरिजले ठीक ठाउँमा ल्याइदियो ।


सानो छोरा सुतेको बेला, ऊ वरपर परिवारका अरु सदस्यसित खेल्न गएका बेला फुत्त निस्किएको समयलाई सदुपयोग गर्दै केही हेरिन्छ । नभए छोराको ध्यान राख्दा, ऊसित खेल्दा नै कति समय बितिसकेको हुन्छ पत्तै हुन्न ।


यो निश्चय पनि हो कि शरीरलाई घरभित्र थुनिएको छ । तर मन कहीँ थुनिएको छैन । दिमाग कुनै हालतमा थुनिन मान्दैन । रहरहरु अटेरी छन् । तिनलाई दिनुस्, घरको गेट खोलेर बाहिर निस्कनलाई । तिनलाई छाडिदिनुस् उदात्त, उन्मुक्त भइ सडक, गल्ली, चोक, पब अनि खुल्ला मैदानमा । तिनलाई चढाइदिनुस्, बस, प्लेन अनि पानीजहाजमा, जाऊन् कहाँ जान्छन् । गरुन् जे गर्छन् । निस्फीक्री छाडिदिनुस् ।

बस् ! शरीरलाई मात्र रोक्नुस् र राख्नुस् घरभित्र । र देखिरहनुस् सपना । हुर्काइरहनुस् योजना । तिखारिरहनुस् क्षमता । भोलि जब चलायमान हुनेछ संसार, पँखेटा फिँजाएर उडौँला नि !

प्रकाशित : चैत्र १३, २०७६ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?