३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लकडाउनमा घरबाटै हेर्नुस् नाटक

काठमाडौँ —  ‘लकडाउन’को समयमा थिएटर मल–कीर्तिपुर रंगमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)ले भर्चुअल ‘रंगमञ्च महोत्सव’ आयोजना गर्ने भएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिमका कारण दर्शक घरभित्र  लकडाउन छन् ।

लकडाउनमा घरबाटै हेर्नुस् नाटक

रंगमञ्चका दर्शकसँग निरन्तर सम्बन्धमा रहन महत्सव सुरु गरेको महोत्सव निर्देशक केदार श्रेष्ठ बताउँछन् । ‘तर यो महोत्सव भर्चुअल हुनेछ । हरेक दिन फेसबुक पेजबाट नाटक लाइभ स्ट्रिमिङ हुनेछ । घरमै बसेर नाटक हेर्न सकिनेछ, प्रतिक्रिया दिन सकिनेछ,’ उनले भने ।

थिएटर मलको अफिसियल पेज फेसबुकबाट हरेक साँझ ठिक ५ बजे नाटक मञ्चन हुनेछ । महोत्सवको पहिलो दिन विश्व रंगमञ्च दिवसको सन्देश वाचन गरिने बताइएको छ ।

रंगप्रेमीहरूलाई दैनिक जीवनयापन सहज बनाउन र मानसिक रूपमा साथ दिन भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो फेसबुकको भित्तामा प्रस्तुत गरिने श्रेष्ठ बताउँछन् । महोत्सवलाई ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव–२०७६’ अर्थात ‘क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल २०२०’ नाम दिइएको छ । विश्व रंगमञ्च दिवस अर्थात २७ मार्चकै दिन सुरू हुने महोत्सवको पहिलो चरण सात दिनसम्म चल्नेछ । महोत्सवको स्लोगन ‘क्वारेन्टाइन, इट्स योर टाइम’ तय भएको छ भने सबस्लोगन ‘फाइभ पीएम, इट्स थिएटर टाइम’ रहनेछ ।

लाइभ स्ट्रिमिङमा विभिन्न समय र स्थानमा मञ्चन भएका नाटक प्रस्तुत गरिनेछ । उत्सवको पहिलो दिन श्रेष्ठद्वारा लिखित तथा निर्देशित नाटक ‘मान भर्सेस मती’ प्रस्तुत गरिनेछ । लाइभ स्ट्रिमिङ थिएटर टाइम जस्तै ठीक समयमा हुनेछ उनी बताउँछन । थिएटरकै नियमहरू लागू हुनेछन् । लाइभ स्ट्रिमिङ पछि नाटक पुनः हेर्न पाइने छैन ।

फेस्टिभल संयोजक सञ्जिता पराजुलीका अनुसार लाइभ स्ट्रिमिङ भएका नाटकको भिडियो डाउनलोड गर्न र मोबाइल वा क्यामेराले खिच्न निषेध छ । त्यसो गरिएको पाइएमा सर्वाधिकार र साइबर कानुनअनुसार कारबाही हुने उनले बताइन् ।

फेस्टिभलको लाइभ स्ट्रिमिङ संयोजन रमेश भट्टराईले गर्दैछन् । अन्य बेलाको महोत्सवमा जस्तै यसमा पनि नाटक सुरु हुनुअघि उद्घोषण हुने उनले बताए । उनी भन्छन्, ‘त्यस अवधिमा ‘कोरोना (कोभिड १९) बारे सामान्य जानकारी र क्वारेन्टाइन बस्दाका नियमहरू समेत उद्घोषण गरिनेछ ।’

नाटकको समयावधि १ घण्टादेखि २ घण्टासम्मको हुने र लाइभ स्ट्रिमिङ भिडियो सार्वजनिक रूपमा शेयर गर्न सकिने उनले जानकारी दिए । लाइभ स्ट्रिमिङपछि थिएटर मलकै फेसबुक पेजमा अन्तरक्रिया गर्न सकिनेछ ।

प्रकाशित : चैत्र १३, २०७६ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?