काठमाडौँ — ‘प्रेमगीत ३’ फिल्म ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज भएको छ । यो फिल्म २०७९ सालको दसैंमा नेपाली र हिन्दी भाषामा नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको थियो ।
फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनीष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनील थापा, सन्तोष सेन, माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त निर्देशन गरेका छन् । फिल्ममा खजाग राज्यका कान्छा राजकुमार ‘प्रेम’ र उनकी प्रेमिका ‘गीत’ को कथा छ ।
यो फिल्म रिलिजसँगै सिनेमाघर एपले नयाँ अपडेट ल्याएको छ । यसअघि एन्ड्रोइड र आईओएस मोबाइल तथा स्मार्ट टीभी प्लेटफर्महरूमा सेवा दिँदै आएको सिनेमाघर एपले अब फिल्महरू ल्यापटप र डेस्कटपमा वेब ब्राउजरमार्फत पनि हेर्न सकिने जानकारी दिएको छ । फोनपे क्यूआर कोडमार्फत नेपाल र भारतबाट सजिलै भुक्तानी गर्न मिल्ने सुविधा पनि उपलब्ध हुनेछ ।
