भारत-पाक तनाव निशानामा फिल्म

पाकिस्तानी फिल्म ‘द लिजेन्ड अफ मौला जट्ट’ अक्टोबर २ मा भारतमा रिलिज हुने भएपछि भारतीय अतिवादी संगठनदेखि सत्तासीन दलकै नेताबाट चर्को विरोध, सन् २०१६ देखि भारतमा पाकिस्तानी फिल्म प्रदर्शनीमा रोक लगाइएकामा गत वर्ष भारतीय हाई कोर्टले त्यसलाई खारेज गरिदिएको थियो

आश्विन ९, २०८१

सुशील पौडेल

The film targets Indo-Pak tensions

काठमाडौँ — छिमेकी दुई देश भारत र पाकिस्तानबीच सधैं तनावका सम्बन्ध रहँदै आएको छ । सन् २०१६ मा भारत नियन्त्रित कश्मीरमा रहेको एक सैन्य अखडामा भएको आतंकवादी हमलापछि १८ सैनिक मारिए । भारतले त्यस हमलामा पाकिस्तानलाई दोष लगायो ।

त्यसको जवाफमा पाकिस्तानले भारतीय फिल्ममाथि प्रतिबन्ध लगाउनुका साथै भारतीय टीभी च्यानल प्रसारणमा समेत रोक लगाइदियो । भारतमा पनि पाकिस्तानी कलाकार, संगीतकारदेखि प्राविधिकले काम गर्न नपाउने अवस्था आयो ।

दुई देशबीचको सीमा समस्याका कारण बारम्बार सैनिक संघर्ष चल्दै आएको छ । यसभन्दा पर पनि भारत र पाकिस्तानबीच विगत एक दशकयता अर्को एउटा युद्ध चलिरहेको छ, फिल्मको । सांस्कृतिक हिसाबले यी दुई देशबीच यति धेरै खिचातानी छ, जस्तो भारतीय फिल्ममा आतंकवादी संगठन वा व्यक्तिलाई पाकिस्तानी प्रतिनिधिका रूपमा चित्रण गरिन्छ । जबकि भारतमा नै बसेर फिल्म र संगीत क्षेत्रमा क्रियाशील पाकिस्तानी कलाकार थुप्रै थिए । सन् २०१६ पछि त जनस्तरमै त्यो सम्बन्ध पनि टुटेको छ ।

भारतले आफ्ना देशमा भएका पाकिस्तानी कलाकारलाई निषेध गरिदिएपछि राहत फतेह अली खान, फवाद खान, माहिरा खान, अली जफरजस्ता नामुद पाकिस्तानी कलाकारले भारत छोड्नुपर्‍यो । त्यसो त भारतको ‘इन्डिया मोसन पिक्चर्स प्रोड्युसर एसोसिएसन’ ले सुरक्षा र देशभक्तिको नाममा पाकिस्तानी कलाकारलाई काम गर्न दिन लगाएको रोकलाई गैरकानुनी भन्दै भारतकै हाई कोर्टले २०२३ अक्टोबरमा खारेज गरिदिएको छ । हाई कोर्टले यस्तो रोक लगाउनुलाई सांस्कृतिक सद्भाव, एकता र शान्तिका लागि प्रतिकूल भन्दै हटाइदिए पनि व्यावहारिक रूपमा भने अवस्था अझै सहज छैन ।

त्यसो त पाकिस्तानले पनि अधिकांश भारतीय फिल्मलाई आफ्नो देशमा प्रदर्शनमा रोक लगाउँदै आएको छ । सन् १९६५ को युद्धपछि पाकिस्तानले झन्डै चार दशक भारतीय फिल्मको प्रदर्शनमा प्रतिबन्ध लगाएको थियो । सन् २००८ मा प्रतिबन्ध हटाएको भए पनि ८ वर्ष नबित्दै पुनः रोक लगाउन थाल्यो । ‘जोली एलएलबी २’, ‘नाम शबाना’, ‘बेगम जान’, ‘एक था टाइगर’, ‘बेबी’, ‘डर्टी पिक्चर’, ‘रांझणा’, ‘दंगल’, ‘ए दिल है मुस्किल’ जस्ता फिल्मले पाकिस्तानमा प्रदर्शन अनुमति नै पाएनन् । जबकि कुनै समय बलिउड फिल्मको पाकिस्तानमा यति ठूलो प्रभाव थियो कि त्यहाँको फिल्म उद्योग नै धराशायी बन्न पुगेको थियो । बलिउड फिल्मले मात्रै पाकिस्तानी फिल्म उद्योगको ६० प्रतिशत हिस्सा ओगटेको ‘अल पाकिस्तान फिल्म एग्जिबिटर्स एसोसिएसन’ कै रिपोर्टमा उल्लेख छ ।

भारतीय फिल्मको आंशिक रोकले पछिल्लो दशक पाकिस्तानी फिल्म उद्योग पुनः जुर्मुराउन थालेको छ । २०२२ अक्टोबर १३ मा रिलिज भएको फिल्म ‘द लिजेन्ड अफ मौला जट्टा’ पाकिस्तानी फिल्म इतिहासमै सर्वाधिक कमाइ गर्ने फिल्म बन्यो । यस फिल्मका मुख्य कलाकार उनै छन्, जो भारतबाट ८ वर्षअघि खेदिनुपरेको थियो, फवादखान र माहिरा खान ।

यतिबेला सोही फिल्मका निर्माताले गान्धी जयन्तीका अवसर पारेर अक्टोबर २ मा भारत प्रदर्शनको घोषणा गरिदिएपछि भारतमा हंगामा मच्चिएको छ । भारतीय हाई कोर्टले बाटो खोलिदिए पनि त्यहाँका शिव सेना, महाराष्ट्र नवनिर्माण सेना (मनसे) जस्ता अतिवादी संगठनदेखि राजनीतिक दलसम्मले चर्को विरोध मात्रै गरेका छैनन्, उक्त फिल्म लगाउने फिल्म हल नै तोडफोड गरिदिने धम्की दिइरहेका छन् । मनसेका फिल्म विभाग अध्यक्ष अमेय खोपकरले ‘द लिजेन्ड अफ मौला जट्टा’ लाई भारतमा रिलिज हुन नदिने खुलमखुला चुनौती नै दिएका छन् ।

त्यति मात्रै हैन, खोपकरले उक्त फिल्मका कलाकार प्रचारप्रसारका लागि भारत आएको खण्डमा हातखुट्टा भाँचिदिनेसम्मको धम्की दिएका छन् । भन्छन्, ‘हाम्रो देशमा पाकिस्तानले लगातार हमला गर्दै आइरहेको छ, गत साताअघि मात्रै पनि हमला गरेको छ । त्यसमा परी हाम्रा सैनिक जवानहरू सहिद भए ।

अनि यस्तो अवस्थामा हामीलाई चाहिँ पाकिस्तानको फिल्म किन चाहियो ? के हाम्रो देशमा कलाकार छैनन् खोपकरले महाराष्ट्रमा कुनै पनि हालतमा पाकिस्तानी फिल्म प्रदर्शन गर्न नदिने अडान राख्दै अन्य सहरमा पनि अवरोध गर्न भारतीय जनतासँग अपिल गरेका छन् । एक अन्तर्वार्तामा खोपकरले भनेका छन्, ‘कला र राजनीति दुई अलग चिज पक्कै हो तर त्यही कला हाम्रो देशमाथि धावा बोल्नेहरूको हो भने तिनीहरूको कला चाहिएन । कलाको आडमा हामीमाथि नै हमला गर्नेहरू कदापि सह्य हुने छैन ।’

त्यसो त भारतीय फिल्म नेपालमा पनि निर्बाध प्रदर्शन भइरहँदा नेपालकै फिल्मले भारतमा प्रदर्शनी पाउनै कठिन छ । पछिल्लो समय ‘प्रेमगीत ३’ हिन्दी डब गरेर मात्रै भारतमा प्रदर्शन अनुमति पाएको थियो । नेपाली फिल्मकर्मीहरू भारतीय सेन्सर बोर्डले विभिन्न झमेला दिएर नेपाली फिल्मलाई नजानिँदो गरी प्रदर्शनीको बाटो बन्द गरिरहेको आरोप लगाउँछन् । जबकि भारतमा नेपालीभाषीको ठूलो संख्या रहेकाले पनि यहाँको फिल्मका लागि भारत ठूलो बजार हो ।

मनसेकै प्रमुख राज ठाकरेले पनि ‘द लिजेन्ड अफ मौला जट्ट’ को भारत प्रदर्शनीलाई लिएर निकै आपत्ति जनाएका छन् । उनले दुई देशबीच चलिरहेको तनावपूर्ण सम्बन्धकै अवस्थामा सांस्कृतिक आदानप्रदानका नाममा पाकिस्तानी फिल्मलाई स्वागत गर्न नसकिने भन्दै महाराष्ट्रमा चलाएको खण्डमा नतिजा राम्रो नहुने कडा चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन्, ‘पाकिस्तानी कलाकारको फिल्मलाई भारतमा प्रदर्शनीको अनुमति किन दिइयो ? भारतलाई घृणा गरेर अलग भएको देशका कलाकारलाई यहाँ ल्याएर नचाउने र तिनका फिल्म चलाएर के गर्न खोजिएको हो ? सरकारले यस्ता फिल्मलाई देशभर नै रोक लगाउनुपर्छ । अन्यथा यो फिल्म लगाउने हलले पनि महँगो मूल्य चुकाउनुपर्ने हुन सक्छ ।’

उद्धव ठाकरेको शिव सेनाले पनि यस्तै चेतावनी दिएको छ । यसका नेता आनन्द दुबेले त ठाडै भनेका छन्, ‘हामी हाम्रो मिहिनेतको कमाइ किन पाकिस्तानी फिल्मका लागि खर्च गर्ने ? जबकि त्यो पैसा उनीहरूले भारतविरुद्ध नै आतंकवाद फैलाउन प्रयोग गरिरहेका छन् भने ?’

त्यसो त फवाद र माहिराको फ्यानफलोइङ भारतमा पनि ठूलो छ । फवाद पछिल्लो पटक भारतीय फिल्म ‘कपुर एन्ड सन्स’ मा देखिएका थिए भने माहिरा पनि शाहरूख खान स्टारर ‘रइस’ मा मुख्य भूमिकामा थिइन् । ‘द लिजेन्ड अफ मौला जट्ट’ को भारत प्रदर्शनलाई लिएर अतिवादी संगठनहरूले धम्की दिइरहँदा जनस्तरबाट यसको स्वागत पनि भइरहेको छ । भारतीय सञ्चारमाध्यम ‘इन्डिया टीभी’ ले झन्डै १० वर्षपछि भारतमा चल्न लागेको पाकिस्तानी फिल्मलाई लिएर भारतीय दर्शक निकै उत्साहित रहेको बताएको छ ।

‘द लिजेन्ड अफ मौला जट्ट’ यसअघि सन् १९७९ मा बनेको फिल्म ‘मौला जट्ट’ को रिमेक भर्सन हो । पुरानो फिल्मका निर्मातासँगको कपीराइट झमेलामा फसेर केही वर्ष पाकिस्तानमै पनि प्रदर्शन हुन नसकेको यो फिल्म अन्ततः २०२२ मा रिलिज भएको थियो ।

फिल्मले पाकिस्तानमै डेढ सय करोडभन्दा बढीको कमाइ गरेको थियो भने विश्वभरबाट ४ सय करोड उठाइसकेको छ । भारतमा भने उक्त फिल्मलाई जी स्टुडियोले वितरण अधिकार लिएको हो । भारतीय जनता पार्टीका महाराष्ट्र प्रमुख आशुतोष दुवेले पनि पाकिस्तानी फिल्मलाई भारतमा प्रदर्शनका लागि जी स्टुडियो कसरी अग्रसर हुन सक्यो भन्दै सवाल उठाएका छन् । उनले ‘एक्स’ मा ‘ब्वाइकट जी स्टुडियोज’ ह्यासट्याग चलाउँदै फिल्मको सम्भावित प्रदर्शनीलाई लिएर चर्को विरोध गरेका छन् ।

(एजेन्सीको सहयोगमा)

युवा ग्यालरी

सुशील

Link copied successfully