‘आँखा’ को विशेष प्रदर्शनी

आश्विन ९, २०८१

कान्तिपुर संवाददाता

A special exhibition of 'Eyes'

काठमाडौँ — सहरी गरिबी र सुकुम्बासीको कथा बोकेको फिल्म ‘आँखा’ को मंगलबार काठमाडौंको सुन्धारास्थित ‘सिने डी सेफ सिनेमाज’ मा विशेष प्रदर्शनी गरिएको छ । फेसबुकको फिल्म सम्बद्धको समूह ‘मुभी लभर्स’ ले स्थापनाको १० औं वर्षगाँठको अवसर पारेर उक्त फिल्मको ‘टिकट शो’ गरेको हो ।

जौन योञ्जनको निर्देशन रहेको फिल्मको मुख्य भूमिकामा स्मिता लामिछाने र आरके मेहतासहित विजय बराल, निशा अधिकारीलगायतको अभिनय रहेको छ । 

मूलधारका सूत्रबद्ध फिल्मभन्दा फरक कथावस्तुमा बनेका फिल्मलाई आम दर्शकसामु पुर्‍याएर स्वस्थ बहस गर्ने अभिप्रायले विशेष प्रदर्शनीमा ‘आँखा’ लाई छानिएको ‘मुभी लभर्स’ ले जनाएको छ । ‘राम्रा नेपाली फिल्मलाई माया गरौं भन्ने हाम्रो आवाजलाई थप बल दिन यो स्क्रिनिङ गर्न लागेका हौं,’ मुभी लभर्सले आफ्नो फेसबुक पेजमा लेखेको छ, ‘हाम्रो दसौं वार्षिकोत्सव ‘आँखा’ सँगै मिलेर मनाउँदै छौं । हाम्रा लागि यो ठूलो सफलता र गौरवको कुरा हो ।’ प्रदर्शनका क्रममा रहेको फिल्मको सार्वजनिक ट्रेलरले ‘आँखा’ लाई प्रतीक्षित बनाएको छ ।

निर्देशक योञ्जनले मानवता, सामाजिक दबाब, नैतिकता र गरिबीजस्ता जटिल विषयवस्तुहरू अन्वेषण हुन जरुरी रहेको धारणा राख्दै ‘आँखा’ आधुनिक समाजमा आर्थिक रूपले विपन्नका दुःख र बाँच्नका लागि मान्छेले गर्ने संघर्षको मार्मिक दृष्टिकोण रहेको दाबी गरे । भने, ‘दुःख पनि एक्लोपन जत्तिकै भयानक र त्रासद हुन्छ भनेर दर्शाउन ‘आँखा’ को कथा तयार पारिएको हो ।’ 

‘मुभी लभर्स’ ले यसअघि पनि ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘आचार्य’, ‘डाकिनी’, ‘म अलप हुन चाहन्छु’ जस्ता फिल्म र वृत्तचित्रको विशेष प्रदर्शनीसहित फिल्मकर्मीसँग अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो ।

युवा ग्यालरी

कान्तिपुर

Link copied successfully