दाङ — रूख रोपौं, वन जोगाऔं हजुरहरियो वनमा नाच्ने छन् मजुरआगो बल्ने सलाई, चुरोट वनमा फाल्न हुन्नडढेलोले वनै जल्दा कसको मन रुन्नवनको चरी वनमै रमाउँछहरियो वनले संसारै रमाउँछ ।
बाँकेको कोहलपुर नगरपालिकाका–११ गन्धर्व बस्तीका दिलबहादुर गन्धर्व यी गीत गुन्जाउँदै गाउँसहर पसिरहेका छन् । उनले वन, वातावरण संरक्षणका लागि सारंगी अभियान सुरु गरेका हुन् । प्राकृतिक स्रोतसाधनको अत्यधिक दोहन भई वातावरणमा प्रतिकूल प्रभाव परेको थाहा पाएपछि आफूले सारंगीको भाकामा गीत गाउँदै चेतना जगाउने अभियान सुरु गरेको उनले बताए ।
जलवायु परिवर्तनको प्रभावले समयमा पानी नपर्ने, सुक्खा र खडेरी हुने, अनावश्यक समयमा बढी पानी पर्ने जस्ता समस्यालाई मध्यनजर गर्दै उनले एक महिनाअघि वातावरण संरक्षणको अभियान थालेका हुन् । बर्दिया, बाँके हुँदै उनले अहिले दाङमा सारंगीमार्फत वातावरण संरक्षणका गीत सुनाइरहेका छन् । विद्यालय, क्याम्पस, सार्वजनिक स्थल र विभिन्न समूहमा पुगेर उनले सारंगीका साथ चेतनामूलक गीत गाइरहेका छन् ।
सारंगी बजाउनु उनको पुर्ख्यौली पेसा हो । १५ वर्षको उमेरदेखि उनले सारंगी बजाउन थालेका हुन् । बुवाआमासँग हिँड्दाहिँड्दै उनले बुवाको सारंगी बजाउने पेसालाई निरन्तरता दिए । उनी सारंगी बजाउँदै बुवाआमासँग दाङबाट सल्यान, रुकुम, रोल्पा र प्यूठानसम्म पुग्थे । उनका बुवाआमा दाङको घोराही उपमहानगरपालिका–११ नयाँबस्तीमा बस्थे ।
बुवाआमाको मृत्युपछि उनी कोहलपुर गएर बसे । आफ्नो दर्ता जग्गा नभएपछि उनी जीविका चलाउने अवसर खोज्दै कोहलपुर गएका हुन् । ‘पहिले जग्गाको महत्त्व थाहा भएन । एक ठाउँ स्थायी बसाइँ पनि भएन,’ उनले भने, ‘गाउँदै हिँड्दै गर्दा आफ्नो घरजग्गा कतै भएन । जता ज्यान पाल्न सजिलो हुन्छ, त्यतै हिँड्ने गरियो ।’ कोहलपुरको लोकनगर गन्धर्व बस्तीमा २७ घरपरिवार गन्धर्व छन्, जसलाई स्थायी घरजग्गाको चिन्ता छ ।
उनका तीन छोरा र पाँच छोरीमध्ये कसैले पनि सारंगी बजाउँदैनन् । उनी मात्रै एक्लै सारंगी बजाउँदै हिँड्छन् । ‘म मरेपछि मेरो परिवारमा सारंगी पनि मर्छ । अबको पुस्ताले सारंगी बजाउने मन गरेन,’ उनले भने, ‘म वातावरण संरक्षणसँगै सारंगी जीवित छ भन्ने सन्देश पनि दिन चाहन्छु ।’ वन, वातावरण बाँचे मात्रै मान्छे बाँच्छ भन्ने बुझेपछि सारंगीमार्फत वातावरण संरक्षणको अभियानमा लागेको उनले बताए । ‘त्यत्तिकै भनेर मानिसले मान्दैनन्, गीतमार्फत सन्देश दिए बुझाउन सजिलो होला भनेर हिँडेको छु,’ उनले भने, ‘सबैतिरबाट राम्रो प्रतिक्रिया आएको छ । गीत सुनेपछि वनजंगल बचाउनुपर्छ भन्ने महसुस हुने गरेको छ ।’
सारंगीसँग गन्धर्व जातिको पहिचान र इतिहास जोडिए पनि यसलाई समाजले हेयको दृष्टिले हेर्ने गरेको उनले गुनासो गरे । यही कारणले नयाँ पुस्ता सारंगीबाट टाढिएको उनको अनुभव छ । ‘सारंगी बजाउँदै गाउँगाउँमा सूचना र सन्देश दिएर हिँड्ने हाम्रो परम्परा हो । यसलाई पहिलेपहिले सबैले चलन मानेर स्विकार्थे,’ उनले भने, ‘अहिले सारंगी बोकेर हिँड्नेलाई मागी खान हिँडेको भन्छन् । दुर्वचन लगाउँछन्, दुर्व्यवहार गर्छन् । यस्तो देखेपछि छोराछोरीको मन सारंगीमा बस्न सकेन ।’
वातावरण जस्तै सारंगी पनि संकटमा परिरहेको उनले बताए । ‘वन र सारंगी बचाउन साह्रै गाह्रो छ । सबैले आफ्नो स्वार्थ हेर्न थाले,’ उनले भने, ‘मान्छेमा संस्कार हरायो । नयाँ पुस्तालाई ज्ञान होस् भनेर स्कुल, कलेजमा बढी गीत सुनाउने गरेको छु ।’ यो अभियानले नागरिकको वन, वातावरण र सारंगीप्रतिको दृष्टिकोणमा केही परिवर्तन आउने उनले अपेक्षा गरेका छन् । यो अभियान विभिन्न जिल्लामा विस्तार गर्दै जाने योजना रहेको पनि उनले बताए ।
