कमेडी गीतका गम्भीर सर्जक
Highlights
- दुई दशकअघि चर्चित ‘भत्काइदिन्छु बाख्राको खोर पनि’, ‘ए बाउ भात खान आऊ,’ जस्ता गीतका सर्जक डम्बर बिकेल भन्छन्, ‘गीत मेरा लागि संसारकै ठूलो खुसीको स्रोत हो’
विराटनगर — दुई दशकअघि गायक प्रकाश ओझाका कमेडी गीत ‘हिट’ थिए । गीतसँगै उनको लोकप्रियता पनि बढ्दो थियो । तर, दर्शकले रुचाएका ओझाका अधिकांश गीतका सर्जक डम्बर बिकेल भने सधैं ‘लो प्रोफाइल’ मा रहे । ‘खासमा गीतकारहरू सधैं पर्दा पछाडि नै हुन्छन्,’ सर्जक डम्बरले सुनाए, ‘गीतकारहरू पर्दा पछाडिका हिरो हुन् ।’
उनी ‘भत्काइदिन्छु बाख्राको खोर पनि’, ‘ए बाउ भात खान आऊ,’ ‘ए मेरी तीते करेली’, ‘तालुमा आलु फलेन’ जस्ता दर्जनौं चर्चित कमेडी गीतका सर्जक हुन् । ‘प्रकाश ओझाले गाएका प्रायः सबै हँसाउने गीत मेरै सिर्जना हुन्,’ डम्बरले भने, ‘एक समय कमेडी गीत निकै चलनचल्तीमा थिए । तर, अहिले समय फेरियो ।’ डम्बरको पहिलो गीत हो, ए है मेरी तीते करेली । २०५९ मा रेकर्ड भएको यो गीत दर्शकले साह्रै रुचाए । त्यसपछि लगत्तै लेखे, ‘भत्काइदिन्छु बाख्राको खोर पनि’ । त्यो पनि उस्तै चल्यो । ‘ए बाउ भात खान आऊ’ ले त तहल्का नै पिट्यो ।
‘ए है मेरी तीते करेली’ प्रयोगवादी गीत भएको उनको भनाइ छ । चलनचल्तीको गीतभन्दा त्यो फरक धारमा लेखिएको थियो । सर्जकहरूले फूल, जून, तारा, सुनचाँदीजस्ता बिम्ब प्रयोग गरेर बढीजसो गीत सिर्जना गर्छन् । तर, डम्बरले चाहिँ आफ्नी प्रेमिकालाई करेलासँग दाँजेर गीत लेखेका थिए । विभिन्न खालका तरकारीलाई बिम्ब बनाएर लेखिएको गीत त्यो समयमा धेरै रुचाइयो ।
‘परम्परागतभन्दा फरक शैलीका कारण त्यो गीत धेरैको मुखैमा झुन्डिएको थियो,’ डम्बरको अनुभव छ, ‘कुनै पनि काम फरक ढंगले गर्दा चर्चा हुने पक्का छ ।’ गीतहरू निरन्तर हिट हुँदै गए । गायक ओझाले ‘नेम फेम’ दुवै आर्जन गरे । सर्जक डम्बरलाई भने त्यो बेला हत्तपत्त कसैले चिनेनन् । ‘गीतकारहरूलाई दर्शकले हत्तपत्त चिन्दैनन्,’ डम्बर गुनासो गर्छन्, ‘पहिला त गायकलाई चिन्छन् । त्यसपछि संगीतकार, बल्ल गीतकारको पालो आउँछ ।’
खासमा डम्बर सुरुआती दिनमा चुट्किला लेख्थे । २०४० को दशकको अन्त्यतिर उनले लेखेका चुट्किला काठमाडौंको भुँडीपुराण प्रकाशनमा छापिन्थ्यो । त्यसपछि कविता पनि लेख्न थाले । २०५२ सालतिर अरुण भन्ने पत्रिकामा पहिलो पटक ‘मेरो प्यारो झुपडी’ शीर्षकको कविता प्रकाशित नै भयो । कविताप्रति आम मान्छेको चासो देखेनन् । अन्ततः उनले विधा फेरे । कविताबाट हानिए, गीत लेखनतिर ।
‘गीत सबैले बुझ्छन् अनि सुन्छन् जस्तो लाग्यो,’ उनले सुनाए, ‘कविता कम बुझ्ने, पढ्ने विधा रहेछ । कविता छाडेर गीत लेख्न थालें ।’ उनले गीत पनि हास्यरसमै लेखे । ‘त्यो बेला कमेडी गीतप्रति श्रोता, दर्शकको झुकाव अत्यधिक थियो,’ उनी थप्छन्, ‘अहिले जस्तो हाँस्ने हँसाउने माध्यमहरू धेरै नभएर होला मेरा गीत सुनेर धेरै मान्छे हाँस्न थाले ।’
गीत/संगीतलाई आधार बनाएर बालबालिका तथा महिलालाई हिंसा गरेको आरोप लागेपछि प्रकाश लामो समय फरार रहे । त्यसपछि प्रकाश–डम्बरको जोडी
छुट्यो । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा प्रकाश हाल जेलमा छन् । प्रकाशसँगको गीत–संगीत दोस्ती छुटेपछि डम्बरले पुरानो शैलीको गीत लेखन छाडे । उनी अहिले आधुनिक र युवा लक्षित गीत लेख्छन् । हुन त कमेडी गीत लेख्दालेख्दै उनले अन्य शैलीको गीत पनि नलेखेका हैनन् । त्यही बेला चर्चित गायक फत्तेमानको स्वरमा ‘उहिले उहिले धेरै पहिले के के गरें मैले’ र ज्ञानु राणाको स्वरमा ‘यो मनभित्र तिम्रै चित्र’ बोलको गीत रेकर्ड गराएका थिए । ‘दाइको ससुराली’ फिल्ममा ‘कुखुरी काँ बोल’ को शीर्ष गीत पनि उनकै सिर्जना हो ।
रामकृष्ण ढकाल, अञ्जु पन्त, मेलिना राईजस्ता चर्चित हस्तीको स्वरमा उनले धेरै गीत रेकर्ड गराइसकेका छन् । उनले पछिल्लो समय भने राजु सिंहको संगीतमा आधुनिक शैलीको गीत रेकर्ड गराएका छन् । ३ सयभन्दा बढी गीतका सर्जक डम्बरको पछिल्लो गीत ‘पानी पर्यो पानी पर्यो छाता छैन है’ हो । मेलिना राई र रिवाज शिवाकोटीले गाएको यो गीत युवामाझ चर्चित छ ।
डम्बर २०५८ मा पहिलो पटक काठमाडौं आएका थिए । संगीतकार आलोक श्रीलाई भेट्ने उत्कट चाहना पूरा गरेर उनी मोरङ फर्किए । २०६७ सालमा परिवारसहित काठमाडौं आए, गीत सिर्जना र अध्ययनलाई सँगै लैजाने योजनाका साथ । काठमाडौंमा दुईटा शिक्षण संस्थामा अध्यापनरत उनी विद्यावारिधि पनि गर्दै छन् । काठमाडौंको बसाइले चिनिएका गायक–संगीतकार र गीत सर्जकहरूसँग उनको सम्बन्ध थप बढाएको छ । जसले गीत लेखनमा थप सहजता थपेको उनको भनाइ छ ।
डम्बर मूलतः आत्मसन्तुष्टिका लागि गीत लेख्ने बताउँछन् । उनलाई एउटा गीत सिर्जना गरेपछि संसारको सबैभन्दा ठूलो खुसी प्राप्त भएझैं हुन्छ । थप्छन्, ‘गीत मेरा लागि संसारकै ठूलो खुसीको स्रोत हो । यसले जति खुसी मलाई अरू केही कुराले पनि दिन सक्दैन ।’
नेपालमा गीत लेखेरै गुजारा गर्न कठिन छ । अपवादबाहेक धेरैजसो गीतकार अन्य पेसाबाट जीविका चलाइरहेका छन् । ‘साहित्य सिर्जनालाई आम्दानीको स्रोत बनाइनु हुन्न,’ उनको दाबी छ, ‘यो त समाज रूपान्तरणका लागि सानो प्रयत्न गर्ने माध्यम हो । सर्जकको सिर्जनालाई मूल्यसँग दाँज्नै मिल्दैन ।’
पाठ्यक्रम विकास केन्द्रले डम्बरको सिर्जनालाई कक्षा १ को कक्षागत गीतका रूपमा समाविष्ट गरेको छ । कक्षा ३, ४, ५ र ६ को नेपाली किताबमा उनको कविता पढ्न सकिन्छ । कक्षा ३, ४ र ५ को अंग्रेजी किताबमा पनि उनका अंग्रेजी कविता समावेश छन् ।
प्रकाशित : असार २५, २०८१ ०६:५१