काठमाडौँ — विश्वमा पहिलो पटक विद्युतीय सञ्चारका लागि सहयोगी स्याटेलाइट टेलस्टार १ सन् १९६२ मा आजकै दिन (जुलाई १०) मा अन्तरिक्षमा पठाइएको थियो । टेलस्टार १ स्याटेलाइटलाई थोर डेल्टा नामको रकेटबाट अन्तरिक्षमा पठाइएको थियो । यसको प्रक्षेपणपछि विद्युतीय सञ्चार नयाँ युगमा प्रवेश गरेको मानिन्छ ।
यो स्याटेलाइट विश्वभर एकै समयमा लाइभ टेलिभिजन कार्यक्रम प्रसारणका लागि सहयोगी साबित भएको थियो । साथै, टेलिभिजन तस्बिर, टेलिफोन, टेलिग्राफ तस्बिर आदानप्रदान पनि यही स्याटेलाइटका कारण सम्भव भएको थियो । टेलिस्टार २ स्याटेलाइट भने ७ मे १९६३ मा प्रक्षेपण गरिएको थियो ।
अमेरिकी वैज्ञानिक जोन रबिन्सनले यो स्याटेलाइट बनाएका हुन् । उनले सुरुवातमा टेलिफोनको संकेत यो स्याटेलाइटले प्राप्त गर्ने र पृथ्वीमा परावर्तित गर्ने जनाएका थिए । पछि यो स्याटेलाइटको मद्दतले एन्टेनामार्फत टेलिभिजन कार्यक्रम, तस्बिर विश्वको एक भागबाट अर्को भागमा प्रसारण सम्भव भएको थियो । अहिले यो स्याटेलाइटमा निष्क्रिय भइसकेको छ ।
