फिल्ममा जमेकी मिरुना

हङकङमा जन्मेर नेपालमा हुर्केकी मिरुना मगरले उच्च शिक्षा बेलायतबाट गरेकी हुन्, २०७२ सालको भूकम्पपछि सहयोगका लागि स्वदेश फर्केकी उनी पछिल्लो समय भने नेपाली फिल्म क्षेत्रकी निकै व्यस्त अभिनेत्री बनेकी छन्

चैत्र २५, २०८०

महेश केसी

Jameki Miruna in the film

रुकुम पूर्व — पछिल्लो समय नेपाली फिल्म उद्योगमा व्यस्त अनि चल्तीको नाम हो, मिरुना मगर । हङकङमा जन्मिएर दुई वर्षकी हुँदा परिवारका साथ नेपाल आएकी उनले त्यसपछिका १० वर्ष आफ्नै पुर्ख्यौली थलो धरानमा बिताइन् । प्राथमिक तहको पढाइ स्वदेशमै सकेपछि मिरुना बेलायत गइन् । त्यतिबेला उनी साढे १२ वर्षकी मात्र थिइन् ।

बुबा बेलायती सेनाका जागिरे भएकाले उनलाई सानै उमेरमा बेलायत जाने मेसो मिलेको थियो । ‘त्यसपछिको बाँकी पढाइ मैले बेलायतमै बसेर गरें,’ उनले भनिन् । सानैदेखि पढाइमा अब्बल मिरुनाले बेलायतबाट समाजशास्त्रमा स्नातक तथा अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरिन् । खासमा स्नातक सकेपछि नेपाल फर्केर बालबालिका र युवामा केन्द्रित भएर काम गर्ने रहर थियो मिरुनालाई ।

तर उनलाई नेपाल भने आठ वर्षअघिको भूकम्पले फर्कायो । भूकम्प पीडितहरूलाई सहयोग गर्नका लागि नेपाल आएकी थिइन् मिरुना । तर सोचेभन्दा केही समय नेपाल बसाइ लम्बिएपछि उनले एक्टर्स स्टुडियोमा अभिनय सिकिन् । सानैदेखि अभिनयमा रुचि भएकाले खासमा रहर पूरा गर्न अभिनय सिकेको उनी बताउँछिन् ।

त्यसलगत्तै ‘कथा देश तीन’ नाटक खेल्ने मौका पाएपछि भने उनले अभिनय यात्रामा पछाडि फर्कनुपरेको छैन । नाटकको अभिनयकै कारण उनले ‘लालपुर्जा’ फिल्ममा मौका पाइन् । ‘नाटकमा मेरो अभिनय हेरेर फिल्मका लागि अनुरोध गर्नुभयो,’ मिरुनाले सुरुका दिन सम्झँदै भनिन्, ‘त्यसपछि म लालपुर्जाका लागि अनुबन्धित भएँ । यो नै मेरो पहिलो फिल्म हो ।’

‘लालपुर्जा’ मा अभिनयको तारिफपछि भने उनले फिल्मी दुनियाँमा नै सक्रिय हुने निधो गरिन् । दोस्रो फिल्म ‘रोज’ पछि भने उनलाई भ्याइनभ्याई छ । त्यसयता उनले आठ फिल्ममा काम गरिसकेकी छन् । उनी अभिनीत ‘रंगेली’ प्रदर्शनमा आएको पछिल्लो फिल्म हो । उनको अर्को फिल्म ‘मनसरा’ आउँदो वैशाख २१ देखि प्रदर्शनमा आउँदै छ ।

मिरुना गत साता मात्र ‘घरज्वाइँ’ फिल्मको रुकुम पूर्वमा छायांकन सकेर काठमाडौं फर्केकी छन् । यो फिल्म असार २८ गते प्रदर्शनमा आउने जनाइएको छ । अरू दुई फिल्म ‘ऊनको स्विटर’ र ‘गाउँ नै रमाइलो’ ले पनि उनलाई पर्खिरहेका छन् । तर अफर आएका जति सबै फिल्ममा भने खेल्न सम्भव नहुने उनको भनाइ छ । ‘फिल्मका लागि एकपछि अर्को अफर आउँदा खुसी त लाग्छ नै । तर सबै फिल्ममा काम गर्न भने सकिँदैन,’ उनले भनिन्, ‘यसमा म काम गर्दिनँ भन्नुपर्दा दुःख लाग्छ । तर कहिलेकाहीं त्यस्तो भन्नैपर्ने अवस्था पनि आउने रहेछ ।’

नेपाली फिल्ममा सक्रिय भएको ६/७ वर्षमा नै दरिलो पाइला टेकेकी मिरुनाले फिल्म छायांकनका क्रममा नयाँनयाँ ठाउँ र परिवेशमा पुगेर त्यहाँका वास्तविक चरित्रहरूको भूमिका निर्वाह गर्न पाउँदा आफूलाई भाग्यमानी ठान्छिन् । फिल्म निर्माणका क्रममा देशका विभिन्न स्थानमा पुगेकी भए पनि मिरुना पश्चिम नेपाल र कर्णालीमा त्यति घुम्न पाएकी छैनन् । ‘म घुम्ने नै भनेर त अहिलेसम्म कतै गएकी छैन । फिल्ममा काम गर्ने क्रममै नयाँ ठाउँहरू पुगिरहेकी हुन्छु,’ उनले भनिन् । त्यसो त मिरुनालाई ‘सोलो ट्राभलर’ का रूपमा आफ्नै सुरमा घुम्ने रहर छ । तर त्यसका लागि समय र आँट भने अझै जुटाउन सकेकी छैनन् । ‘जनकपुर र डोल्पा पुग्न मन छ । तर फुर्सद र मेसो भने मिलिरहेको छैन,’ उनले भनिन् ।

पछिल्लो समय नेपालको वास्तविक अनुहार चित्रित गर्ने फिल्म बन्न थालेका र यसलाई निरन्तरता दिनुपर्ने मिरुनाको धारणा छ । लगानी र नयाँ प्रविधिको प्रयोगले नेपाली फिल्म क्षेत्रलाई अझै उचाइमा लग्न सकिने उनको बुझाइ छ । ‘कथावस्तुका साथै प्रविधिले नेपाली फिल्मलाई एउटा उचाइमा पुर्‍याउँदै छ । यो निकै सुखद कुरा हो,’ उनले थपिन्, ‘तर यतिले मात्रै पुग्छ भन्ने होइन र समयानुकूल यसको विकास र विस्तारमा हामी चुक्न हुँदैन ।’

त्यसका साथै, नेपाली फिल्म क्षेत्रमा नयाँ पुस्ताको उपस्थिति पनि उत्साहजनक भएको मिरुनाले बताइन् । ‘फिल्म गर्नका लागि अभिनय त पहिलो सर्त भइहाल्यो,’ उनले भनिन्, ‘सँगसँगै अरू धेरै कुरामा पनि जानकार हुन आवश्यक छ । रहरले मात्रै त कुनै क्षेत्रमा पनि टिक्न सकिँदैन नि ।’ दुई सन्तानमध्ये कान्छी मिरुनाका बुबा, आमा र दिदी बेलायतमै बस्छन् । ‘परिवारका अरू सदस्य बेलायतमै हुनुहुन्छ, त्यसैले फुर्सद हुँदा म पनि बेलायत नै पुग्छु,’ उनले भनिन्, ‘तर म त स्वदेशमै रमाउने भइसकें । यसकारण उताभन्दा यतै रमाइलो लाग्छ ।’

विदेशमा हुर्के–बढेकी र त्यहींको शिक्षा हासिल गरेकी मिरुनाले बारम्बार एउटा प्रश्न झेल्छिन् । त्यो हो, ‘विदेशको सुखसुविधा त्यागेर नेपालमा किन ?’ तर त्यसको उनीसँग रेडिमेड जवाफ छ, ‘मेरो परिवार विदेशमा हुनुहुन्छ । त्यसको अर्थ यो होइन कि म पनि त्यहीं बस्नुपर्छ ।’ परिवार उता भए पनि आफूसँग नेपाली नागरिकता भएको र नेपालमै संघर्ष गर्ने बताउँछिन् मिरुना । ‘म त नेपालमै धेरै सम्भावना देख्छु,’ उनले भनिन्, ‘त्यसकारण सकेको इफोर्ट आफ्नै देशका लागि लगाउँछु ।’

युवा ग्यालरी

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully