काठमाडौँ — विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा प्रदर्शन भइसकेको फिल्म ‘डाकिनी’ जेठ ५ गतेदेखि नेपाली हलहरूमा प्रदर्शन हुने भएको छ । षट्कोण आर्ट्स ब्यानरले निर्माण गरेको फिल्मको अंग्रेजी नाम भने ‘लुकिङ फर अ लेडी विथ फ्याङ्स एन्ड अ मुस्टास’ दिइएको छ ।
फिल्ममा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलको मुख्य अभिनय छ । भारतमा जन्मिएका यी दुवै जना तिब्बती मूलका हुन् । फिल्ममा कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायत कलाकारले पनि अभिनय गरेका छन् ।
फिल्मका निर्देशक बौद्ध धर्मगुरु खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) हुन् भने रवीन्द्रसिंह बानियाँ र म्याक्स दीपेश खत्री निर्माता हुन् । नोर्बु फिल्म रिलिजकै लागि अमेरिकाबाट नेपाल आउन लागेका छन् । त्यसक्रममा उनले पर्यटन बोर्डमा ‘ब्युटी इज अ ट्र्याप’ (सुन्दरता एउटा जाल हो) विषयमा क्लाससमेत दिने जनाइएको छ ।
बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी) का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यस्तै देवीको खोजीको कथामा आधारित भएर फिल्म निर्माण गरिएको हो । फिल्म नेपालका सीमित मल्टिप्लेक्समा मात्र रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
