बेलायती क्लबमा अस्मिता

बेलायती सेनाको जागिर छाडेर नेपाल फर्किएका तनहुँका अमृत आले वर्क परमिट भिसामा पुनः बेलायत पुगे । सन्तानकै लागि बेलायत फर्किएका अमृतकी छोरी अस्मिता यतिखेर ब्रिटिस क्लबबाट व्यावसायिक फुटबल खेल्छिन् । 
नवीन पोखरेल

लन्डन — बेलायती सेनामा काम गरिरहेकै बेला अमृत आलेलाई सन्तानको भविष्यले पिरोल्न थाल्यो । त्यतिबेला बेलायती सेनालाई अहिलेजस्तो आवासीय अधिकार दिइसकिएको थिएन । त्यसैले नेपाल फर्कनुपर्ने हुन्थ्यो । तर एउटा विकल्प भने थियो, कुनै तरिकाले बेलायतमै बस्ने वातावरण मिलाउने । अमृतले सोचे आफ्ना छोराछोरीका लागि भए पनि यतै ‘सेटल्ड’ नभई हुन्न । तर, कसरी ? उनका सामु एउटै उपाय थियो, वर्क परमिट । 

बेलायती क्लबमा अस्मिता

सन् २००३ को अन्त्यतिर ब्रिटिस आर्मीको १९ वर्ष लामो जागिर छाडेर नेपाल फर्किने निधो गरे । अनि, वर्क परमिट भिसामा पुनः बेलायत आए । ब्रोडकास्ट इन्जिनियर अमृतको त्यो निर्णयकै कारण उनकी छोरीले अहिले गरेको प्रगति भने गर्व गर्नलायक बनेको छ । अझ भनौं, छोराछोरीकै कारण उनले आफूलाई पनि चिनाउन पाएका छन् । तनहुँको दमौली स्थायी घर भएका अमृत र वसन्तीकी एक्ली छोरी अस्मिता आले यतिखेर ब्रिटिस फुटबल क्लबमा आबद्ध भएर खेलिरहेकी छन् भने एक्लो छोरा असिम आले ब्रिटिस आर्मीमा आईएस इन्जिनियर छन् र यू–२३ टिमबाट फुटबल खेल्छन् ।

गत अगस्ट २०२१ मा १९ वर्षकी छँदा अस्मिता टोटेनहम हटस्पर फुटबल क्लबमा अनुबन्धित भइन् । उनको क्लबसँग सन् २०२३ सम्म व्यावसायिक सम्झौता छ । क्लबले एफए वुमन्स् सुपर लिग खेलिरहेको छ । १३ नम्बरको जर्सीमा मैदान उत्रिने अस्मिता त्यहाँ डिफेन्डरको भूमिकामा छिन् । ‘एउटा प्रतिष्ठित क्लबमा आबद्ध हुन पाउनु मेरा लागि ठूलो उपलब्धि हो,’ २१ वर्षीया अस्मिता भन्छिन्, ‘मेरो फुटबल करिअरमा क्लबले मलाई धेरै सिकाएको छ । नाम र जीवनशैली परिवर्तन गरिदिएको छ ।’

इंग्ल्यान्ड युथ टिममा छँदा राम्रो प्रदर्शन गरेकी अस्मिता इंग्ल्यान्ड यू–१९ स्क्वाडको अभिन्न अंग बनिन् । टिमले २०१९ मा स्कटल्यान्डमा भएको युरोपियन च्याम्पियनसिपको फाइनलमा खेलेको थियो । २०१९ र २०२० मा बारक्लेज एफए वुमन्स् सुपर लिगले उनलाई धेरै चर्चा दिलाएको थियो । टोटेनहम हटस्पर क्लबले अहिलेसम्म १२ उपाधि जितेको छ । त्यसमध्ये २०१६ र २०१७ सिजनको एफए वुमन्स् प्रिमियर लिग थियो ।

त्यसो त अस्मिता ७ वर्षदेखि नै फुटबल खेलमा आबद्ध भएकी हुन् । स्थानीय ब्वाइज टिममा केही समय खेलेपछि एस्टन भिल्लाबाट उनको फुटबल यात्रा निरन्तर अगाडि बढ्यो । ८ वर्षदेखि उनी एस्टन भिल्लामा आबद्ध भएकी हुन् । १६ वर्षदेखि एस्टन भिल्लाबाट वुमन्स् सुपर लिगमा छिरेकी अस्मिताले यू–१५, १६, १७, १८, १९ र २१ हुँदै अहिले इंग्ल्यान्ड टिमबाट यू–२३ खेलिरहेकी छन् । एस्टन भिल्लाले १८ वर्ष पुगेपछि उनलाई व्यावसायिक सम्झौता दिएको हो ।

सातामा पाँच दिन प्रशिक्षण र सप्ताहान्त (शनिबार वा आइतबार) एक दिन म्याच हुने भएकाले उनलाई एक दिनबाहेक फुर्सद छैन । व्यस्त खेल जीवनले पढाइ भने सोचेको गतिमा लैजान नसकेको बताउँछिन् उनी । हाल बर्मिङहमको आस्टन युनिभर्सिटीमा अकाउन्टिङ एन्ड फाइनान्समा ब्याचलर अध्ययनरत उनले समय अभावका कारण ‘डिस्टयान्स् लर्निङ’ को सुविधा लिएकी छन् । तर पनि नभ्याएपछि तेस्रो वर्ष ग्याप खाप्नुपरेको उनको भनाइ छ ।

अगाडिको सोच के छ त ? अस्मिता भन्छिन्, ‘इंग्ल्यान्डको मेन टिममा आबद्ध भएर अन्तर्राष्ट्रिय म्याच खेल्ने धोको छ ।’ नेपाल गएर मैत्रीपूर्ण खेल खेल्ने रहर पनि छ, तर समय मिलाउन हम्मेहम्मे परिरहेको छ । एस्टन भिल्लामा रहँदासम्म उनको उमेर सानै थियो । परिवारका साथ दुई तीन वर्ष अवधिमा नेपाल जान्थिन् । उनी तर अहिले नेपाल नगएको भने ७ वर्ष पुग्नै लाग्यो ।

अस्मिताका बाबु आमा मिडल्यान्डस्थित ननिटन बस्छन् । अस्मिता भने लन्डनमा । खेल र तालिमको व्यस्तताले छोरीसँग राम्ररी समय बिताउन नपाए पनि उनको सफलतामा खुसी नै छन्, अमृत । छोरीको खेल भएका बेला मिलेसम्म बाबुआमा नै स्टेडियमसम्म पुग्छन् । एक साताअघि उनीहरू ब्राइटन एन्ड होब अल्बियनबीचको लिग हेर्न गएका थिए टोटेनहम हटस्पर स्टेडियम । २–२ गोलको बराबरीमा टुंगिएको खेलपछि दुवै जना मैदानमै गएर छोरीलाई हाई हेल्लो गरे । ‘तर, लामो बोल्न र फोटो लिन भने मेसो मिलेन,’ अमृतले छोरीसँगको पछिल्लो भेट सम्झिन्छन् ।

गत वर्ष क्रिसमसका बेला चार दिनको छुट्टीमा ननिटनस्थित घरमा आएकी थिइन् अस्मिता । त्यसयता परिवारले छोरीसँग पर्याप्त समय बिताउन भने पाएको छैन । ‘छोरीलाई त निकै मिस गरिन्छ नि, तर के गर्ने उसको समय नै मिल्दैन,’ आमा वसन्ती भन्छिन्, ‘धेरैजसो खेलमै बिजी हुन्छे । टेक्स्टमार्फत खबर आदानप्रदान भने भइरहन्छ ।’

इन्टरनेसनल ब्रेकका बेला पनि यू–२३ बाट खेल्ने भएकाले उनी अन्यत्र गइरहने अमृत बताउँछन् । ‘१८ वर्ष नपुग्दासम्म घरबाटै जानेआउने गर्थिन् । आफैं कार चलाउन योग्य भएपछि परिवारसँगको भेटघाट पातलिएको छ,’ उनले भने ।

यद्यपि, छोरीको प्रगतिबाट दंग छन् बाबुआमा । बाटोमा हिँड्दा अस्मिताको अभिभावक भनेर अटोग्राफ लिने पनि प्रशस्त भेटिन्छन् । ‘हामीलाई आफ्नै छोरी भएकाले नजिकको तीर्थ हेला जस्तो लाग्छ तर ब्रिटिसहरूले ज्यादै महत्त्व दिने गर्छन्,’ अमृतले गर्व गरे । छोरीको कमाइ कति छ भनेर चाहिँ नसोधेको उनीहरू बताउँछन् ।

‘अहिलेसम्म उनको कमाइ मागिएको पनि छैन,’ लाइभ टीभी आउटसाइड ब्रोडकास्ट गर्ने इन्जिनियर अमृतले भने ।

सानैदेखि खेलप्रेमी हुन् अस्मिता । सानो छँदा क्रिकेट, ब्याटमिन्टन, नेटबलसमेत खेल्थिन् उनी । अस्मिताले यू–११ काउन्टी क्रिकेटसमेत खेलिन् । त्यसो त खेलप्रति पारिवारिक पृष्ठभूमि पनि थियो । बाबु अमृत नेपाल ब्रिटिस क्याम्पमा पोस्टिङ हुँदा साफ गेममा नेसनल टिमबाट छनोट भएर स्क्वास खेल्न पाकिस्तान गएका थिए । तर त्यही बेला अमेरिकाको ट्वीन टावर आक्रमणले खेल भने हुन सकेन । बेलायतको प्रिमियर लिग क्लबमा स्थान बनाएकी नेपाली मूलकी पहिलो फुटबलर आलेले गत वर्ष प्रतिष्ठित ब्रान्ड नाइकसँग सम्झौतासमेत गरेकी थिइन् । विश्वका चर्चित खेलाडीहरूसँग प्रायोजन सम्झौता गर्ने नाइकबाट प्रायोजन अवसर पाउने अस्मिता सम्भवतः पहिलो नेपाली हुन् ।

प्रकाशित : वैशाख २७, २०८० ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?