काठमाडौँ — नेपाल भाषा फिल्म निर्माणको चार दशकपछि नेपाल भाषाको प्रतियोगितात्मक कार्यक्रम ‘नेवाः सुपरस्टार सिरपा’ हुने भएको छ । ग्लोबल नेवाः नेटवर्कले आयोजना गर्न लागेको कार्यक्रमको फाइनल आगामी जेठ २ गते हुनेछ । काठमाडौंको सोल्टी व्याङक्वेटमा एक कार्यक्रमबीच विजेता घोषणा गरिने जनाइएको छ ।
प्रतियोगिताका लागि ५ महिला र ५ पुरुष गरी १० कलाकार छनोट गरिसकिएको छ । छनोट भएका प्रतियोगीमा महिलातर्फ हिसिला महर्जन, भिन्तुना जोशी, रोजिना सुवाल, अन्नपूर्णेश्वरी श्रेष्ठ र रजनी खड्गी छन् । त्यस्तै पुरुषतर्फ सुरज व्यञ्जनकार, राजु महर्जन, भोगेन्द्र मानन्धर, आर्यभ नकर्मी र रूपेन्द्र श्रेष्ठ छन् । विजेता महिला र पुरुषलाई जनही एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने कार्यक्रम संयोजक सुरेन्द्र तुलाधरले जनाएका छन् । कार्यक्रमका संस्थापक अध्यक्ष सुनीलकुमार शाक्य हुन् ।
