काठमाडौँ — सनमकुमार बैरागको निर्देशनमा तयार भएको फिल्म ‘कैदीको पत्र’ ले गीत सार्वजनिक गरेको छ । फिल्मको ‘कति साह्रो सुहाको’ बोलको गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा अञ्जु पन्त र सागर आलेको स्वर छ । निर्देशक स्वयं बैरागको शब्द तथा सुरेश सेन्चुरीको संगीत रहेको गीतमा अभिनेत्री सलिना थापा मगरले नृत्य गरेकी छन् ।
जीवनमा पाएको खुसी सम्हाल्न नसक्दा आउने उतारचढाव फिल्मको विषयवस्तु रहेको छ । सम्पूर्ण छायांकन स्कटल्यान्डमा गरिएको फिल्ममा कुनाल विश्व, बेलायती अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनीष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेन वेस्टबरी, तपस्या शिवाकोटीलगायत कलाकारले अभिनय छ ।
दिल घले, नानी बैराग, कैलाश विश्वकर्मा र हिराल जोशी निर्माता रहेको फिल्म रामेश्वर कार्कीले छायांकन गरेका हुन् । अर्जुन जीसीको सम्पादनमा तयार फिल्मका गीतमा सुरेश सेन्चुरीसँगै विनम्र कर्माचार्यले संगीत भरेका छन् । त्यस्तै, अन्य गीतमा प्रताप दास, प्रविशा अधिकारी, सुबानी मोक्तान र अभिषेक कार्कीले स्वर दिएका छन् । फिल्म वैशाख १५ गतेदेखि प्रदर्शनमा आउनेछ ।
